भर्खरै :

जनताको मनमा नेमकिपा

गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण काम एमसीसी पास गर्नुरहेछ ¤ त्यो ‘ऐतिहासिक काम’ गत फागुन १५ मा तमाम भयो । मुख्य कामै त्यही लिएर गठन भएपछि सरकार त्यसैमा दाह्रा किटेर लाग्नु कुनै नौलो कुरो भएन । तर, राष्ट्रियताको सन्दर्भमा आठौँ आश्चर्यको कुरो के देखियो भने– भारतीय नाकाबन्दीको बेला तेलका खानी यतै निकाल्ने, ग्याँसको पाइप घर–घरमा पु¥याइने, तरकारी यतै फलाउने, आत्मनिर्भर बनाउने भन्दै छटपटाइरहेका नेपालीलाई आश्वासन दिने र पछिल्लो समय दुईतिहाइ नजिकको सरकार चलाइकन ‘परमादेश’ बाट बाहिरिएका ‘राष्ट्रवादी’ नेता केपी शर्मा ओली नै प्रतिपक्षमा हुँदा पनि त्यसको विपक्षमा एक शब्द बोलेनन् । उल्टो, ‘व्याख्यात्मक टिप्पणी’ को आवश्यकता नै पर्ने थिएन भन्दै उनी त झन् एमसीसी पक्षधरभन्दा बढी ‘अन्ध पक्षधर’ नै देखिए । यस्तो घोर अनर्थ किन भयो ? जब कि चुच्चे नक्सा जारी गर्ने र माडीलाई राम जन्मभूमि प्रमाणित गराउने काममा समेत उनै लागिपरेका थिए ¤
यसको कारण सम्झँदै जाँदा के थाहा हुन्छ भने– मातृकाप्रसाद कोइरालाका पालामा कोसी, बीपी कोइरालाका पालामा गण्डकी र पछि शेरबहादुर देउवाको पालामा महाकाली सन्धि पारित गराउने काङ्ग्रेस र पछिल्लो समयमा एमसीसी पास गराउन नेतृत्व गर्ने काङ्ग्रेस–कम्युनिस्टलगायतका दलहरू सबै एउटै खालका हुन्, एउटै चालका हुन्, सबै राष्ट्रघाती नै हुन् । बेलाबेलामा भारतसँग भएका प्रत्येक सन्धि सम्झौताबाट पदीय र आर्थिक फाइदाजति हाम्रा नेतालाई भएको र हाम्रो प्राकृतिक स्रोतजति उसको अधीनमा पर्दै गएको देख्दा यस तथ्यको अझै पुष्टि हुन्छ । कथित जनयुद्धताक भारतमै बसेर भारतविरुद्ध ‘सुरुङ युद्ध’ चलाउन नेपाली जनतालाई उकास्ने र जातैपिच्छेको राज्य चाहिन्छ भन्ने प्रचण्ड कहिले एमाले र कहिले काङ्ग्रेसको बुइँ चढ्दै दुईदुईपटक प्रधानमन्त्री भइकन पनि नेपाली राजनीतिक केन्द्रमा अझै उनै देखिएका छन् । महाकाली सन्धि पारित गराउन केपी ओलीलाई प्रयोग गरिएको र त्यो सफल हुनासाथ उनको आर्थिक अवस्थामा एक्कासि सुधार भएको कुरा पनि बताउँछन् जानकारहरू । यिनका पालामा भएको भ्रष्टाचारले ‘राष्ट्रिय कीर्तिमान’ कायम गरेको कुरा पनि चर्चामा नआएको होइन ।
क्रान्तिको सिलसिलामा मर्नेहरू मरेर गए । बाँच्नेले कुनै समयमा दुःखसास्ती पनि व्यहोरेकै हुन् । दुःख पाएको बेलामा देश र जनताको पक्षमा केही गर्ने सोचाइ पनि आउँथ्यो होला तर सुख र सुविधाको मौका मिलेपछि सबै कुरा हरायो । असलहरूलाई कहिल्यै मौका दिइएन । खराबहरूले सधैँ मौका मिलाएर फाइदा लिइरहे । यसरी हेर्दा, यो देशमा स्थापनाकालदेखि नै नेमकिपाबाहेक अन्य सबै राजनीतिक पार्टीका नाम अलग अलग भए पनि ती सबैको काम मिलेर खानु, जनतालाई भ्रममा पार्नु, झुक्याउनु र देशलाई परनिर्भर बनाउँदै लानु नै देखियो । महाकाली सन्धिको सशक्त विरोधदेखि लिएर, एमसीसी गर्भमा आउँदादेखि नै त्यसको चर्को विरोध गर्दै आएको राजनीतिक पार्टी नेमकिपा हो भन्ने कुरा सबैसामु घामझैँ छर्लङ्ग छ । आकार र प्रभावमा सानोजस्तो देखिए पनि विचार र व्यवहारमा ठूलो र फराकिलो नेमकिपा सदैव भिडभाडमुक्त सत्मार्गतिर यात्रारत छ । पछिल्लो समयमा यसले अङ्गीकार गरेको सत्य र देशभक्तिपूर्ण विचार एवं कार्यशैलीका कारण सम्मानसाथ दिन नजिकिनेहरू बढ्दै जानु थप खुसीको कुरा भएको छ ।
झूटो बोल्ने र जालझेल गर्ने बानी परेकाको मुखबाट कहिलेकाहीँ थाहै नपाई सरल र सत्य कुरो निस्कँदो रहेछ ¤ यस सिलसिलामा एमसीसी पास हुनुअघि प्रचण्डले, “एमसीसीको विरोध गर्ने भनेर एमालेमा जानुभन्दा त बरु नेमकिपामा जानू नि !” भनेका थिए । एमसीसी पास गराउने दिन सदनमा बोल्दै गर्दा गगन थापाले पनि, “एमसीसीमा नमुछिएको एकमात्र राजनीतिक पार्टी भनेको नेमकिपामात्रै हो । ऊबाहेक अरू कसैलाई पनि यसको विरोध गर्ने अधिकारै छैन” भन्ने आशयको विचार व्यक्त गरेका थिए । नेमकिपाले भक्तपुरमा गरेको चौतर्फी असल कामको खुलेर प्रशंसा गर्नेहरू र सिक्न आउनेहरू पनि धेरै छन् । काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने चर्चा हुँदै गर्दा नै बालेन्द्र शाह (बालेन) ले ‘म मेयर भएमा काठमाडौँलाई भक्तपुरजस्तो बनाउँछु’ भन्ने अभिव्यक्ति दिएका थिए, जो निकै चर्चित भयो । पछिल्लो समयमा उनले नेमकिपासँग सहकार्य गर्ने कुरा पनि बताएका छन् । गठबन्धनको घृणित रूप देखेर होला, स्थानीय निकायको चुनाव सकिएपछि प्रतिक्रिया दिने क्रममा बाबुराम भट्टराईले, “भक्तपुरे जनताबाहेक कसैले पनि आफूले चाहेको उम्मेदवारलाई मत दिन पाएनन्” भनेछन् ।
यी सबै कुराबाट, अकबरी सुनलाई कसी लाउनु पर्दैन भन्ने उखान चरितार्थ भएको छ । अरू पार्टीहरूले सरकार बनाएका छन्, चुनाव जितेका छन् । नेमकिपाले नेपाली माटोमा नेपाली विचारको घर बनाएको छ, प्रत्येक नेपालीको मन जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *