भर्खरै :

सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो   

  • जेष्ठ १६, २०७९
  •    –सन्तोष गौतम   
  • समाचार

म्याग्दी, १६ जेठ (रासस)  ।   पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको छ ।
थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका यार्सागुम्बा खोज्न गएका सुमित गौचनले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएको राससलाई जानकारी दिनुभयो । सरकारले यसका बारेमा औपचारिक पुष्टि भने गरेको छैन ।
तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् ।
कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेना सहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । “पैदलमार्गबाट गएका करिब १०० को सङ्ख्यामा रहेका सुरक्षाकर्मीको टोली पनि घटनास्थल नजिकै पुगेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेका छन् ।”
यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेना सहित , फिस्टेल र कैलाश एयरको एक÷एक हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताउनुभयो ।
मौसम खुलेको अवस्थामा एक हेलिकप्टरले उडान गरेर उद्धारकर्तालाई घटनास्थलमा छोडेर नाउरीकोट आएको छ । कुहिरो हट्नै बित्तिकै हेलिकप्टरबाट थप उद्धारकर्ता पठाउने तयारी गरिएको छ ।
थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको छ । कुहिरो लागेको र प्रतिकुल मौसमका कारण आइतबार दिनभर जहाज खोज्ने प्रयास सफल भएको थिएन् ।
यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए । काठमाडाँैबाट सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट आइतबार नै मुस्ताङ पुगेका थिए ।
पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । स्थानीयका अनुसार कोवाङमाथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको जनाइएको छ ।
जहाजमा चालक दलका तीन र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ नेपाली, चार भारतीय र दुई जर्मनी नागरिक थिए । उनीहरुको अवस्था अहिलेसम्म नखुलेको प्रशासकीय अधिकृत पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतबार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *