भर्खरै :

खेतीयोग्य जमिन जोगाइराख्नुपर्नेमा प्रमुख प्रजापतिको जोड

भक्तपुर, १९ जेठ । भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा भक्तपुर नपामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडा नं. २ का वडाध्यक्ष र वडा सदस्यहरूको सम्मानमा जेठ १८ मा बधाईज्ञापन कार्यक्रम भयो ।
कार्यक्रममा नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा अहिले घर जग्गा कारोबार र अनियमित आवास निर्माणका कारण कृषि उत्पादनमा ¥हास हुँदै गएको बताउनुभयो । खेतीयोग्य जमिनलाई जोगाइराख्नुपर्ने धारणा राख्दै उहाँले भक्तपुर नपाले कृषिसम्बन्धी विविध तालिम सञ्चालन गर्नुका साथै किसानहरूलाई आवश्यक मल र बीउबिजन उपलब्ध गराउँदै आएको बताउनुभयो ।
राजनीतिक कार्यकर्ताहरू देश र विदेशबारे पोख्त हुनुपर्ने बताउँदै प्रमुख प्रजापतिले कोभिड महामारीको समयमा भक्तपुर नपाले गरेको राहत वितरण कार्यले जनतालाई राहत मिलेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रका साथै विज्ञान र प्रविधिले युक्त नगरको रूपमा विकास गर्ने आगामी लक्ष्य रहेको बताउँदै निर्वाचन घोषणापत्रको लडाइँ हो र जनतालाई सचेत र सङ्गठित बनाउने समय पनि यही बेला हो भन्नुभयो ।
भक्तपुर नपा वडा नं. २ मा निर्वाचित वडाध्यक्ष हरिप्रसाद बासुकलाले आगामी पाँच वर्षको प्रतिबद्धताबारे अवगत गराउँदै देको मिवा इतापाके आवास योजनाले अब छिट्टै पूर्णता पाउने बताउनुभयो ।
कार्यक्रममा भिन्तुना साकोसका संस्थापक अध्यक्ष आशकुमार कोजु, अध्यक्ष शिवकृष्ण कोजू, लेखा सुपरीवेक्षण समितिका संयोजक गणेशप्रसाद सुवाल, कोषाध्यक्ष कृष्णप्रसाद सुवाल र सचिव चञ्चल सुवालले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *