सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
रोपाइँ नजिकिए पनि अहिले कहिलेसम्ममा कहाँबाट रासायनिक मल आयात हुन्छ भन्ने कुरा कुनै यकिन छैन । देशभरि मलको अभाव छ । प्राप्त थोरै मल पनि प्रतिव्यक्ति थोरैले ५÷१० केजी पाइरहेका छन् । कृषिप्रधान देशमा नभई नहुने रासायनिक मल ल्याउन हरेक सरकार किन असफल हुन्छ या किन ढिलाइ गर्छ ? मल ल्याउन नसक्नु या नचाहनुको कारण के हो ? कतै कमिसन नमिलेर रासायनिक मल ल्याउन नसकेको हो ? खेतीपातीको लागि चाहिने मल नल्याएर ढिलाइ गर्नु के किसानविरोधी कदम होइन ? सरकारले समयमै मल खरिद गर्न नसक्नु या त्यसको प्रक्रिया अघि नबढाउनु या ढिलो गर्नु भनेको सरकारको बेवास्ता नै हो ।
यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई आत्मनिर्भर बनाउने योजना रहेको उल्लेख छ । बजेटमा आउँदो वर्ष धान, मकै, गहुँ, तरकारी र फलफुलको स्वदेशमै उत्पादन बढाएर यी वस्तुको आयातमा न्यूनतम ३० प्रतिशत कम गर्ने सरकारको लक्ष्य छ । यो लक्ष्य पूरा गर्नको निम्ति खेतीपातीको लागि आवश्यक रासायनिक मल, सिँचाइको व्यवस्था, नयाँ नयाँ बिउबिजन, कृषिऔजार आदिको व्यवस्था गरेर गाउँ–गाउँमा सहज ढङ्गले सस्तोमा पु¥याउनुपर्ने हुन्छ । तर, त्यस्तो कुनै योजना देखिँदैन । यी बन्दोबस्त हुँदैन भने उत्पादन कसरी बढ्छ ? उत्पादन बढेन भने कसरी आयात कम हुन्छ ?
एकातिर कृषि उत्पादन बढाउने भन्ने अर्काेतिर कृषिमा बजेट घटाएर सरकारको लक्ष्य कसरी पूरा हुन्छ ? रासायनिक मल ढिलो या चाँडो हुनुको कारण मलको मूल्य होइन या मलको मूल्यको उतारचढाव होइन । कृषिमा बजेट नै कम भएपछि आवश्यक मल कसरी आयात गर्न सकिन्छ भन्ने प्रश्न पनि उठेको छ । रोपाइँको समयमा नै पर्याप्त मल वितरण गर्न नसक्नु के सरकारको लाचारी होइन ? मल खरिदको लागि सरकारले टेन्डरको प्रक्रिया नै अघि बढाएन भने मल कसरी समयमा आइपुग्छ ?
मल ल्याउनको निम्ति कहिले भारत, कहिले बङ्गलादेश त कहिले चीनसँग पनि कुरा भइरहेको सरकारको बखान हुन्छ । तर, टुङ्गो हुँदैन । यो चालु वर्षमा सरकारले मल ल्याउन २९ अर्ब रूपैयाँ छुट्याएको थियो । तर, कार्यान्वयन भएन । आउँदो आर्थिक वर्षको लागि १५ अर्ब रूपैयाँमात्र छुट्याइएको छ । यति रकमले देशका लागि आवश्यक मल आपूर्ति हुन्छ कि हुँदैन ? खेतीपातीको लागि चाहिने मल आपूर्ति हुँदैन या समयमा आइपुग्दैन भने उत्पादन बढ्ने छैन । समयमै मल आपूर्ति भएन भने उत्पादन आधाभन्दा बढी घट्छ । अनि खेतीपातीको भरमा जीवन जोहो गरिरहेका किसानहरूको जीवन कसरी सहज हुन्छ ? अनि उनीहरूको जीवन कष्टकर हुँदैन ? खानपिनमा समस्या हुँदैन ?
मल नआउनुको कारण के पैसा हो ? के अन्तर्राष्ट्रिय कारणले मल ल्याउन नसकेको हो ? के मलको मूल्य उतारचढावले गर्दा मल ल्याउन ढिलो भएको हो ? कि जानाजानै बेवास्ता भएको हो ? एमालेको नेतृत्वमा सरकार हुँदा पनि मलको अभाव भयो । अहिले नेकाको नेतृत्वमा बनेको माओवादी केन्द्र, एकीकृत समाजवादीसमेत सम्मिलित सरकारको पालामा त्यही गति ¤ सारमा, सरकारको बेवास्ताले समयमै मल पाउन नसकेको हो । सरकारको यो कमजोरीले उत्पादन घटेर देशको अर्थतन्त्रमै सङ्कट आउँदैन भन्न सकिँदैन । देशमा सङ्कट हुुनुका धेरै कारणमध्ये उत्पादन घट्नु पनि एक हो । किसानहरूको समस्या देशकै समस्या हो । यो देशको समस्या समाधान गर्न नै नेमकिपा र नेक्राकिसङ्घले स्वदेशमै मल कारखाना खोल्न सडक र सदनमा सङ्घर्ष गरिरहेका हुन् । मल कारखाना नखोलुञ्जेल समयमै गुणस्तरीय मल सर्वसुलभ गर्न र गराउन सरकारको ध्यानाकर्षण गरिरहेका हुन् । यसै सन्दर्भमा नेक्राकिसङ्घले शुक्रबार दिनको ३ बजे रत्नपार्कबाट जुलुस गर्ने कार्यक्रम राखेको छ । समयमै मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्न आयोजित सो जुलुसमा भाग लिन सङ्घले किसान, मजदुर, युवा, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सर्वसाधारणमा आग्रह गरेको छ ।
Leave a Reply