लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
हिजोआज महिला अधिकार तथा सशक्तीकरणको कुरा धेरै उठ्ने गर्छ । खास गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू अनेक गोष्ठी, भेला, अन्तरक्रिया तथा प्रशिक्षण सञ्चालन गरेर महिला सशक्तिकरणका कुरा गर्दछन् । महिला हिंसाका बारे बढ्ता कुरा गर्ने पनि डलर वा भारू थापेर बस्ने संस्था नै अगाडि छन् । महिलालाई अनेक सीपमूलक तालिम दिने भन्दै हिँड्ने पनि एनजीओ नै बढी छन् । के नेपाली महिला सशक्त भए ? के राजनीतिक रूपमा महिला अग्रपङ्क्तिमा उभिन थाले ? जवाफ नकारात्मक नै हुन्छ ।
नेपालका बहुसङ्ख्यक महिला कामदार वर्गमा पर्दछन् । कामदार महिला अहिले पनि शिक्षामा पछाडि छन् । कामदार वर्गका महिला सचेत र सङ्गठित नभएसम्म संविधानले दिएका कुनै पनि अधिकारले धेरै ठूलो परिवर्तन ल्याउँदैन भन्ने कुरा छर्लङ्ग नै छ ।
नेपालको संविधानले महिलालाई केही अधिकार दिए तापनि कामदार वर्गका महिला अधिकारबाट वञ्चित छन् भन्ने कुरा नेपालको संविधान र नेपाली कामदार महिलाको स्थितिले प्रस्ट पार्दछ । नेपालको संविधानमा प्रतिनिधिमूलक संस्थाहरूमा महिलालाई आरक्षणको बन्दोबस्त गरिएको छ । तर, महिला सक्षम नहुँदा महिला ‘सेरेमोनियल’ वा मानार्थमामात्र सीमित भएका छन् ।
नेपालको संविधान मूलतः पुँजीवादी हो । पुँजीवादी व्यवस्थामा कामदार वर्गमाथि शोषण हुन्छ नै । कामदार महिलालाई उपभोग्य वा भोग्य वस्तुजस्तै प्रयोग गरेको पाउँछौँ । सामान बिक्री बढाउने माध्यमको रूपमा महिला नै प्रयोग भएका छन् । नाफा बढाउन महिलालाई प्रयोग गर्ने पुँजीवादी ‘मार्केटिङ’ शैली नै हो ।
नेपालमा राष्ट्रपति महिला नै छन् । एक समयमा प्रधानन्यायाधीश पनि महिला भएकै थिइन् । तर, महिलाको स्थितिमा तात्विक फरक भएको छैन । पुँजीवादी व्यवस्थामा महिलालाई जुनसुकै पदमा पु¥याए पनि कामदार वर्गका महिलालाई धेरै फरक पर्दैन । साधन र अभ्यास उही भएपछि परिणाम पनि उस्तै निस्किन्छ । सिस्नु रोपेर तुलसी उम्रिन्न भनेझैँ पुँजीवादी बन्दोबस्तभित्र कामदार वर्गका महिलाको समानता तथा स्वतन्त्रता सम्भव छैन ।
कामदार वर्गका महिला शिक्षित तथा सचेत भएर राजनीतिक आन्दोलन तथा सङ्घर्षमा नलागेसम्म नेपाली कामदार वर्गका महिलाको स्थिति कष्टकर भइरहने स्वाभाविक हो । विदेशी स्वार्थको निम्ति विदेशीको रकमको भरमा काम गर्ने महिला सङ्घसंस्थालाई चिन्नु जरूरी छ ।
नेपाली कामदार महिलाको समस्या के हो ? पाठेघर खस्ने, कुपोषण, पाठेघरको मुखको क्यान्सरजस्तो रोगबाट कामदार महिला बढी पीडित छन् । कम उमेरमा सुत्केरी हुने, कम समयअन्तरमा बच्चा जन्माउने, गर्भपतन गर्ने, ग¥हौँ सामान बोक्ने, घरमै सुत्केरी गराउने र पोषिलो खाना नपाउनेजस्ता समस्या आम श्रमिक महिलामा छ । यस्ता समस्यामा महिलालाई सचेत बनाउने काम कामदार महिला सङ्गठनले गर्नुपर्दछ । कामदार महिला सङ्गठनको सक्रियता नभई साँचो महिला आन्दोलन अगाडि बढ्दैन ।
Leave a Reply