भर्खरै :

ख्वप अस्पताललाई १०० शय्याको अनुमति प्राप्त

भक्तपुर, २४ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरलाई १०० शय्यासहित अस्पताल सञ्चालन गर्न अनुमति प्राप्त भएको छ ।
बाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ को दफा १ उपदफा ३ र प्रदेश स्वास्थ्य सेवा नियमावली २०७६ को नियम १२ बमोजिम १०० शय्याको अस्पताल सञ्चालनका लागि अनुमति प्रदान गरेको हो । २०७८÷१२÷०१ गतेदेखि लागू हुने गरी र ६ महिना परीक्षणकालमा रहने गरी १ वर्षका लागि अनुमति प्रदान गरिएको स्वास्थ्य निर्देशनालयले २०७९÷ ०२÷ २३ गते जारी अनुमति प्रमाणपत्रमा उल्लेख छ ।
यस सम्बन्धमा प्रतिक्रिया व्यक्त गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालको पूर्वाधार तयार भइसकेको र अस्पताल पूर्णस्तरमा सञ्चालन हुने स्पष्ट पार्नुभयो ।
उहाँले ख्वप अस्पताल सञ्चालन नगरवासी, जिल्लावासी र नेपाली जनताको सुलभरूपमा स्वास्थ्य सेवा गर्ने ध्येयले भएको बताउनुभयो ।
सोही क्रममा प्रमुख प्रजापतिले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र पीसीएल नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको हुँदा भक्तपुर नपाले २५ शय्याको ख्वप अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्न लामो समयदेखि प्रयासरत रहेको र हालै ख्वप अस्पताललाई १०० शय्याको अस्पताल सञ्चालन गर्न अनुमति प्राप्त भएको बताउनुभयो ।
१०० शय्याको क्षमतामा ख्वप अस्पताल सञ्चालन भएसँगै अस्पतालको सेवा तथा सुविधाहरूलाई स्तरीय बनाइँदै लगिने बताउँदै उहाँले नर्सिङ शिक्षा सञ्चालन हुने भएसँगै विद्यार्थीहरूमा उत्साह थपिएको बताउनुभयो ।
ख्वप अस्पतालले हाल दैनिक ६०० भन्दा बढी बिरामीहरूलाई सेवा प्रदान गर्दै आएकोमा जनताले थप सेवाको आशा गरेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ख्वप अस्पताललाई १०० शैयामा स्तरोन्नति गरी सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ । प्रदेश सरकारको तर्फबाट अनुमति प्राप्त हुनुलाई नेमकिपाको निर्वाचन घोषणापत्र कार्यान्वयनको रूपमा लिइएको छ ।
यसअघि मिति २०७९ वैशाख ८ गते ख्वप अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षणसम्बन्धी सार्वजनिक सुनुवाइ भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published.