भर्खरै :

जनसेवा आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन

भक्तपुर, २४ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ४ स्थित जनसेवा माध्यमिक विद्यालयको नवनिर्मित भवनको एक समारोहबीच मङ्गलबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले योग्य शिक्षकले असल विद्यार्थी जन्माउने उल्लेख गर्दै भक्तपुर नपाभित्र सञ्चालित सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर उकास्न र विद्यालयको भौतिक सुधार गर्दै लाने बताउनुभयो ।
उहाँले ती विद्यालयहरूलाई आवश्यक सहयोग गर्न नगरपालिका सधँै तत्पर रहेको स्पष्ट पार्दै सामुदायिक विद्यालयको शिक्षा निजी विद्यालत्र्न्दा कुनै पनि हिसाबले कम हुन नहुने बताउनुभयो ।
उहाँले शिक्षाको जग राम्रो भए देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्नेमा जोड दिनुभयो ।
विद्यालयले युग सुहाउँदो प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरी आफ्नै देशको सेवा गर्ने भावनाले अध्ययन गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर राम्रो भए गरिबका छोराछोरी लाभान्वित हुने बताउँदै विद्यालयको भवन निर्माणमा सहयोगी भूमिका खेल्ने सबैमा धन्यवादज्ञापन गर्नुभयो ।
विद्यालयका प्रअ कृष्णश्वरी दुवालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको भावी योजनाहरूबारे अवगत गराउनुभयो ।
जनसेवा मावि व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्ववडाध्यक्ष कुमार चवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका संस्थापक सदस्य राजाराम सुवाल, शिक्षिका कमलशोभा कायस्थ र पूर्ववडा सदस्य राजेन्द्र माकले पनि बोल्नुभएको थियो ।
समारोहमा नगर प्रमुख प्रजापतिले संस्थापक सदस्य राजाराम सुवालमार्फत भवन पुनःनिर्माणको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
सोही क्रममा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई विद्यालयको तर्फबाट बधाईज्ञापन कार्यक्रम आयोजना गरिएको थियो भने भवन निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्ने सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *