भर्खरै :

शासक दलहरू विदेशी पुँजीपति वर्गको सेवामा

भक्तपुर, २५ जेठ । गत वैशाख ३० गते स्थानीय निकायको निर्वाचनमा निर्वाचित नेमकिपाका उम्मेदवारहरूलाई बुधबार एक समारोहबीच बधाई तथा कार्यकाल सफलताको कामनासहित मतदाताहरूलाई धन्यवाद कार्यक्रम भयो ।
भनपा १० निर्वाचन परिचालन समितिद्वारा आयोजित उक्त कार्यक्रममा नेमकिपाका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले शासक दलहरू विदेशी पुँजीपति वर्गको सेवामा लागिरहेको बताउनुभयो ।
सामन्त र पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने शासक दलहरूले कहिले पनि शोषित पीडित जनताको सेवा नगर्ने विश्वास दिलाउँदै अध्यक्ष रोहितले नेपाल र नेपालीको भन्दा विदेशीको हित हेर्ने दल नेपाली जनताको मित्रशक्ति नहुने बताउनुभयो ।

नेमकिपा असैद्धान्तिक गठबन्धनको विरोधमा रहेको चर्चा गर्दै उहाँले देश र जनताविरोधी तथा देशघाती कुनै पनि सन्धि र सम्झौताको विरोधमा सङ्घर्ष गरिरहनुपर्नेमा जोड दिनुभयो ।
विदेशी वस्तु आयात बढी भइरहेकोले व्यापार घाटा बढेको उल्लेख गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “७० लाख नेपालीहरू विदेशी मुलुकमा पसिना बगाइरहेका छन्, सरकारले देशमै रोजगारीको बन्दोबस्त गर्नुपथ्र्यो ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपाका प्रमुख सुनिल प्रजापतिले रासायनिक मलको अभावले किसानहरू मर्कामा परेको उल्लेख गर्दै सरकारले जनताको समस्यालाई प्राथमिकतामा नराखेको बताउनुभयो ।
ख्वप अस्पतालले हालै १०० शय्याको स्वीकृति पाएको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले घरदैलो नर्सिङ सेवालाई अझ प्रभावकारी बनाउनेतर्फ नपा लागिरहेको बताउनुभयो ।
नपाले अझ धेरै काम गर्न बाँकी रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सचेत जनताले देश र जनताको निःस्वार्थ सेवा गर्ने इमानदार जनप्रतिनिधिलाई चयन गरेका छन्, नेमकिपा सिद्धान्त र विचारमा प्रतिबद्ध पार्टी हो । इमानदार नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूले देश र समाजको हितमा काम गर्छन् ।”
भनपाका उपप्रमुख रजनी जोशीले नेमकिपाको उद्देश्य देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु हो भन्नुभयो ।
उहाँले शिक्षा, स्वास्थ्य, कला, संस्कृति, सम्पदा संरक्षण, सरसफाइ र विकासमा भनपाले गरेको कामको मूल्याङ्कन देशभर भइरहेको बताउनुभयो ।
पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलकको सभापतित्वमा भएको सो कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले निर्वाचनमा सहयोग गर्ने सबैमा धन्यवाद दिँदै जनताको सेवा गर्नु नै जनप्रतिनिधिहरूको कर्तव्य हो भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *