भर्खरै :

‘बाघ’ र ‘झिँगा’ विरुद्ध चीनको लडाइँ

दुई वटा शताब्दी लक्ष्य र चिनियाँ राष्ट्रिय पुनःजागरणको उद्देश्य बोकेर चिनियाँ विशेषताको समाजवाद निर्माणमा उक्लिरहेको चीन, चिनियाँ नेतृत्व र जनताको निम्ति आफ्ना ती लक्ष्यमा पुग्न कसैले रोक्न सक्छ भने त्यो हो–भ्रष्टाचार । भ्रष्टाचारकै कारण तत्कालीन सोभियत कम्युनिस्ट पार्टीले बिसर्जनको बाटो समात्नु परेको थियो । इतिहासको यो पाठबाट सिक्दै भ्रष्टाचारप्रति आजको चिनियाँ नेतृत्व निकै असहिष्णु छ । चिनियाँ कम्युनिस्ट पार्टीलाई सोभियत कम्युनिस्ट पार्टीको दोस्रो संस्करण नबनाउन माओ त्सेतुङदेखि सी चिनफिङसम्मको नेतृत्वले लगातार मिहिनेत गर्दै आउनुभएको छ । तसर्थ, विगत सात दशकदेखि चीनको नेतृत्व गर्दै आएको चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ नेतृत्वले भ्रष्टाचार नियन्त्रणलाई गम्भीर र ज्यादै संवेदनशील विषयको रूपमा व्यवहार गर्दै आएका छन् ।
चीनले कुन दिशा लिन्छ भन्ने प्रश्नको जवाफ त्यहाँको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीले कुन बाटो लिन्छ भन्ने कुराले निधो गर्छ । कम्युनिस्ट पार्टी चिनियाँ जनताको सेवा र प्रगतिलाई पहिलो प्राथमिकतामा राख्दै चिनियाँ जनताको प्रिय पार्टी रहँदासम्म चीनको प्रगतिलाई कसैले पनि रोक्न सक्नेछैन । त्यसकारण, चिनियाँ कम्युनिस्ट पार्टीलाई अनुशासित, सिद्धान्तनिष्ठ र जनताको सेवामा दत्तचित्त भएर लाग्ने पार्टीको रूपमा अक्षुण्ण राख्न नेतृत्वले जोड दिँदै आएको छ । चिकपालाई जनताको प्यारो अनुशासित पार्टीबाट भ्रष्ट र स्खलित पार्टी बन्न नदिन लगातार मिहिनेत हुँदै आएको छ । यसै सन्दर्भमा चिकपाका महासचिव सी चिनफिङले ‘चीनको शासन व्यवस्था’ खण्ड १ मा लेख्नुभएको छ, “…हामी गलत काम र भ्रष्टाचारको जोखिम भएका केही क्षेत्रप्रति पूर्ण सजग हुनुपर्छ । पार्टी अनुशासन र राज्यका कानुन उल्लङ्घनका ठुला घटनाले समाजमा गम्भीर नकारात्मक प्रभाव पार्छ । भ्रष्टाचारविरुद्धको लडाइँ गम्भीर चुनौती बन्न पुग्छ र धेरै ठाउँमा जनता हामीप्रति असन्तुष्ट हुन्छन् । पार्टी सञ्चालनमा सुधार गर्ने दीर्घकालीन, जटिल र कष्टसाध्य काम अघि बढाउँदै, नैतिक मूल्यमान्यता अक्षुण्ण राख्दै र भ्रष्टाचारको प्रतिरोध गर्दै हामीले हाम्रो भ्रष्टाचारविरोधी प्रयासलाई निरन्तरता दिनुपर्छ । भ्रष्टाचार र स्खलनविरुद्ध सधैँ चनाखो रहनुपर्छ । प्रमुख कुरा भ्रष्टाचारविरुद्धको लडाइँमा बारम्बार जोड दिनु र दीर्घकालीन प्रतिबद्धता जारी राख्नु हो ।”
चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनबाट चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव पद र लगत्तै चीनका राष्ट्रपतिको पदभार ग्रहण गरेपछि सी चिनफिङले पार्टी र सरकारमा भ्रष्टाचार नियन्त्रणको निम्ति पटक–पटक जोड दिँदै आउनुभएको छ ।
सिङ्गो चीनलाई भ्रष्टाचारबाट मुक्त गर्न सबभन्दा पहिला चिनियाँ कम्युनिस्ट पार्टीलाई नै कुनै पनि खालका भ्रष्टाचारबाट मुक्त गर्न नेतृत्वले पार्टी अनुशासनको पालनामा जोड दिएको छ । महासचिव सीले भन्नुभएको छ, “कडा अनुशासनसहित पार्टी सञ्चालनमा हामी रौँ जति पनि उदार हुनसक्दैनौँ ।”

चीनको सरकार र पार्टीमा मौलाएको कर्मचारी प्रवृत्तिले पार्टीसँग जनताको सम्पर्क खुकुलो बन्दै गएको थियो । जनताको सेवा गर्ने पार्टीको लक्ष्यलाई नारा वा औपचारिकताको अर्थमा मात्र बुझ्ने र भित्री मनदेखि व्यवहारमा नलाने समस्याले जनता पार्टीप्रति असन्तुष्ट भए । जनताका समस्या समाधान गर्नुमा भन्दा पार्टी कार्यकर्ता र सरकारी अधिकारीहरू राज्य कोषको प्रयोग गर्दै ठुल्ठुला भोज गर्ने, महँगा खानपिन गर्ने, आफ्नो पछाडि धेरै मान्छे हिँडाउने नेता ठुलो नेता बन्ने, जनतासँग टाढा बस्ने, जनताको घरदैलोमा नजाने, विदेश भ्रमणमा बढी समय खर्च गर्ने, महँगा सामानको प्रयोग गर्ने, महँगो जीवनयापन गर्ने, महँगा गाडी चढ्ने, यातायातमा अनावश्यक खर्च गर्ने, पार्टीको नीति र सिद्धान्तबारे अध्ययन, छलफल र प्रशिक्षणमा रुचि नराख्नेजस्ता प्रवृत्तिले पार्टी र जनताबीच अदृश्य संशयको पर्खाल बन्दै थियो ।

भ्रष्टाचारको कुनै निश्चित रूप र रङ्ग हुने गर्दैन । अधिकार र सत्तालाई सही मनसाय र अनुशासनका साथ प्रयोग गर्न नजान्दा जो कोही पनि भ्रष्ट हुनसक्छ । ठुलो पदमा बसेका मानिस भ्रष्ट नहुने वा थोरैमात्र अधिकार भएको तल्लो तहका अधिकारी भ्रष्ट हुँदैन भन्ने दुवै मान्यता गलत छन् । त्यसकारण, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिअन्तर्गत चीनले ‘बाघ’ र ‘झिँगा’ दुवैलाई नछोड्ने नीति लिएको छ । ‘बाघ’ को अर्थ ठुलो पदमा बसेका अधिकारी हुन् भने ‘झिँगा’ साना वा तल्लो तह र पदका अधिकारी हुन् । भ्रष्टाचार नियन्त्रणको नाममा ‘झिँगा’ मात्र मार्दा पनि भ्रष्टाचार नियन्त्रण हुनसक्दैन भने ‘बाघ’ को सिकार गरेर मात्र समाजको जरा तहसम्म फैलिएको भ्रष्टाचार नियन्त्रण हुनसक्दैन । त्यसकारण, चीनमा माथिल्लो तहदेखि तल्लो तहका सबै सार्वजनिक जिम्मेवारी र पदाधिकारीमाथि भ्रष्टाचारको छानबिन र प्रमाणित भए कडा कारबाही हुँदै आएको छ । सन् २०२२ को जनवरी महिनाको तथ्याङ्कअनुसार सन् २०२१ को तेस्रो त्रैमासिकमा ४ लाख ७० हजार भ्रष्टाचारका उजुरी परे, ४ लाख १४ हजारभन्दा बढी अधिकारीलाई पदबाट बर्खास्त गरियो । त्यसरी पद गुमाउनेमध्ये २२ जना मन्त्री र प्रान्तीय नेताहरू थिए । सिन्ह्वा समाचार संस्थाका अनुसार बितेको एक दसकमा चीनमा ९ लाखभन्दा बढी पार्टी तथा सरकारी अधिकारीले भ्रष्टाचारको सजाय भोगिसकेका छन् । यसबाट चीन भ्रष्टाचारको सन्दर्भमा निकै कडा र शून्य सहनशील पुष्टि हुन्छ । सरकारी अधिकारी र पार्टी कार्यकर्ताको भ्रष्ट आचरणले जनतामा पार्टी र सरकारप्रति असन्तोष बढ्छ र त्यसले पार्टी जनताको प्रिय पार्टी रहँदैन, जनतामा असन्तोष बढ्दै जान्छ ।
आफ्नो नजिकको मान्छे वा आफ्नो ठाउँको मान्छेले गरेका गलत काम वा भ्रष्टाचारप्रति मौन बस्नु र त्यस्ता व्यक्तिलाई नियम–कानुनअनुसार कारबाही नगर्नु पनि भ्रष्टाचारको अर्को रूप हो । माओ त्सेतुङले यस्तो कमजोरीलाई उदारतावाद भन्नुभएको थियो । त्यस्ता गलत व्यवहारले समाजमा भ्रष्टाचारको जरा अझ फैलाउँछ । त्यसकारण, महासचिव सीले सन् २०१३ को जनवरी २२ मा चिकपाको केन्द्रीय अनुशासन आयोगको दोस्रो विस्तारित बैठकमा दिनुभएको मन्तव्यमा विभागीय र स्थानीयताको सङ्कीर्णता त्याग्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले पार्टी वा सरकारको स्थानीय निर्णय पार्टीको केन्द्रीय नीतिभन्दा माथि कहिल्यै हुन नहुने, केन्द्रका निर्देशन वा नगर्न भनिएका आदेशलाई छेउ लगाउने काम गर्न नहुने तथा पार्टीको केन्द्रीय नेतृत्वको नीतिगत निर्णय र योजनालाई झाराटार्ने किसिमले पूरा गर्ने, आफ्नो अनुकूलताको निर्देशनको मात्र पालना गर्ने र सीमित निर्देशनमात्र पालना गर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको थियो । पार्टी कार्यकर्तामा देखिने यस्तो अनुशासनहीनताले पार्टीमा भ्रष्टाचार बढाउने र कमजोर बनाउनेछ । यस्ता व्यवहारले पार्टी र राज्यमा भ्रष्टाचारविरोधी प्रयासलाई बाधा अवरोध हुने र परिणामतः जनता र पार्टीबीच ‘अदृश्य ठुलो पर्खाल’ ठडिने र अन्ततः पार्टीले आफ्नो आधार, प्राणवायु र शक्ति गुमाउने गर्छ ।
चीनमा सार्वजनिक पैसा र सम्पत्तिको हिनामिना वा त्यस्तो सम्पत्ति आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न किमार्थ प्रयोग नगर्न पार्टी तथा सरकारका अधिकारलाई सजग बनाइएको छ । सार्वजनिक सम्पत्तिको प्रयोग सार्वजनिक हितको निम्ति हुनुपर्छ र कसैले पनि आफ्नो पद वा अधिकार प्रयोग गरी सार्वजनिक पैसा वा सम्पत्ति आफ्नो हितमा लगाउनु भ्रष्टाचार हो । चीनमा कम्युनिस्ट पार्टीको सदस्य बन्नु ठुलो सम्मानित कुरा हो । तर, कम्युनिस्ट पार्टीको सदस्य बन्न त्यत्ति सजिलो भने हुने गर्दैन । पार्टी सदस्य बन्नुअघि र बनिसकेपछि सबैले पार्टी अनुशासनको कडा पालना, जनता र देशको मिहिनेतपूर्वक सेवा गर्नुका साथै पार्टी नीति र सिद्धान्तको नियमित अध्ययन गर्नुपर्ने हुन्छ । तथापि, सत्तारुढ दलको सदस्य हुनुको नाताले कसैले चिकपा सदस्यताको दुरूपयोग गर्न सक्नेप्रति पार्टी नेतृत्व सजग छ । त्यसकारण, पार्टी सदस्यलाई समाजकै सर्वसाधारण जनतामध्ये एक भनिएको हो । पार्टी सदस्यले विशेष सहुलियत, सुविधा र अधिकार प्रयोग गर्न रोक लगाइएको छ ।
राज्यस्रोतको दुरूपयोग नै भ्रष्टाचारको मूल स्रोत भएकोले राज्य स्रोतको परिचालन कोही व्यक्ति वा सरकारी अधिकारीको निजी स्वार्थको लागि नभई व्यापक जनताको हितमा हुनुपर्नेमा चिकपाले जोड दिएको छ । राज्यस्रोत कसैको निजी हितको औजार बन्नु हुन्न । सरकारी कर्मचारी र पार्टी कार्यकर्ताले सार्वजनिक र निजी हितबीच अन्तर गर्न जान्नुपर्छ र उनीहरूले आफूलाई सार्वजनिक हितमा समर्पित गर्नुपर्छ र आत्मअनुशासनको अभ्यास गर्नुपर्छ ।
राज्यकोषको दुरूपयोग गर्ने वा आफ्नो निजी हितमा लगाउने कर्मचारी र कार्यकर्ता कारबाहीबाट भाग्न नसक्नेतर्फ सङ्केत गर्दै महासचिव सीले चिकपाका दिवङ्गत नेता चेन यीको भनाइ सापटी लिएर लेख्नुभएको छ, “सार्वजनिक कोषमा हात नडुबाउनु किनभने चोरको हात एक न एक दिन पक्कै पक्राउ पर्नेछ ।”
अठारौँ महाधिवेशनबाट महासचिव पदमा निर्वाचित भए पछि आयोजित पत्रकार सम्मेलनमा सी चिनफिङले चिकपाले मुलतः तीन वटा चुनौति सामना गरिरहेको चर्चा गर्नु भएको थियो । उहाँले त्यत्तिबेला भ्रष्टाचार, जनतासँगको सम्पर्क खुकुलो हुनु र बढ्दो कर्मचारी प्रवृत्ति नै पार्टीले सामना गर्नु परेका तीन चुनौती बताउनुभएको थियो । यी समस्याको समाधान नभए जनताबीच पार्टी बदनाम हुने र अन्ततः पार्टी सकिने अवस्था आउने भन्दै उहाँले सच्याउनुपर्नेमा जोड दिनुभएको थियो ।
पार्टी कार्यकर्ता र सरकारी कर्मचारीबीच यी समस्या समाधानको निम्ति चीनभर प्रशिक्षण अभियान सञ्चालन गरिएको थियो । त्यसक्रममा महासचिव सीले भन्नुभएको एउटा वाक्य निकै लोकप्रिय बनेको थियो । पार्टी कार्यकर्ताको आत्मसुधारतर्फ लक्षित गर्दै सीले भन्नुभएको थियो, “ऐना हेर, लुगा मिलाऊ, नुहाऊ अनि मात्र तिमी निरोगी बन्न सक्छौ ।” अर्को शब्दमा सीले पार्टी कार्यकर्तालाई आत्मसमीक्षा गर्न (ऐना हेर्नु), कमी कमजोरको आत्मलोचना गर्न (लुगा मिलाउनु), कमी कमजोरी सच्याउनु (नुहाउनु) र त्यति गरेपछि मात्र जनता र पार्टीको सेवा गर्न सक्छौ (तिमी निरोगी बन्न सक्छौ) भनी प्रतीकात्मक प्रशिक्षण दिनुभएको थियो ।
चिकपाको अठारौँ महाधिवेशनको प्रतिवेदनमा पनि भ्रष्टाचारको जरा उखेल्न ‘सफा शासन’ र ‘भ्रष्टाचारविरुद्ध लडाइँ’ को विषय उठान भएको थियो । प्रतिवेदनमा भनिएको छ,“सफा शासन र भ्रष्टाचारविरुद्ध लडाइँ लड्नु हाम्रो पार्टीको मुल कार्य हो । हामीले भ्रष्टाचारका हरेक घटनामाथि धावा बोल्नुपर्छ, हरेक भ्रष्ट अधिकारीलाई कारबाही गर्नुपर्छ र भ्रष्टाचार हुर्किन सक्ने माटो नै उन्मूलन गर्नुपर्छ । त्यसपछि मात्र हामीले खास परिणामसहित जनताको विश्वास जित्न सक्छौँ ।”
चीनको सरकार र पार्टीमा मौलाएको कर्मचारी प्रवृत्तिले पार्टीसँग जनताको सम्पर्क खुकुलो बन्दै गएको थियो । जनताको सेवा गर्ने पार्टीको लक्ष्यलाई नारा वा औपचारिकताको अर्थमा मात्र बुझ्ने र भित्री मनदेखि व्यवहारमा नलाने समस्याले जनता पार्टीप्रति असन्तुष्ट भए । जनताका समस्या समाधान गर्नुमा भन्दा पार्टी कार्यकर्ता र सरकारी अधिकारीहरू राज्य कोषको प्रयोग गर्दै ठुल्ठुला भोज गर्ने, महँगा खानपिन गर्ने, आफ्नो पछाडि धेरै मान्छे हिँडाउने नेता ठुलो नेता बन्ने, जनतासँग टाढा बस्ने, जनताको घरदैलोमा नजाने, विदेश भ्रमणमा बढी समय खर्च गर्ने, महँगा सामानको प्रयोग गर्ने, महँगो जीवनयापन गर्ने, महँगा गाडी चढ्ने, यातायातमा अनावश्यक खर्च गर्ने, पार्टीको नीति र सिद्धान्तबारे अध्ययन, छलफल र प्रशिक्षणमा रुचि नराख्नेजस्ता प्रवृत्तिले पार्टी र जनताबीच अदृश्य संशयको पर्खाल बन्दै थियो । यिनै समस्याको गम्भीरता बुझेर चिकपाको अठारौँ महाधिवेशनपछि पार्टी कार्यकर्ता र सरकारी अधिकारीको नाममा निर्देशिका जारी ग¥यो जसले पार्टीका पदाधिकारीहरूले पदको दुरूपयोग गर्दै गरेका गलत व्यवहारमा नियन्त्रण हुँदै गयो । भ्रष्टाचारीलाई कारबाही गर्न पार्टी र सरकारले कुनै कसर बाँकी राखेनन् । बो सिलाईजस्ता पार्टीका उच्च तहका नेतादेखि धेरै मन्त्री र पार्टी सचिवहरूमाथि निर्ममतापूर्वक कारबाही भयो ।
भ्रष्टाचारविरुद्धको लडाइँमा चिकपाले दुई वटा रणनीति अख्तियार ग¥यो ः पहिलो रोकथाममूलक र दोस्रो कारबाही । अठारौँ महाधिवेशनले भ्रष्टाचारविरुद्ध लडाइँ सघन बनाउने निर्णय गरे पछि पार्टीले सबै पार्टी एकाइमा पार्टीको उद्देश्य, जनताको सेवा गर्ने भावना, पार्टी सिद्धान्त र भ्रष्टाचारविरोधी अभियानबारे प्रशिक्षण चलायो । सरकारी, पार्टी र न्यायिक निकायका आर्थिक हिसाब सबै पारदर्शी गर्नुपर्ने नियम बनाइयो । महत्वपूर्ण पदका अधिकारीको सम्पत्ति सार्वजनिक जानकारीमा ल्याउनुपर्ने प्रावधान बनाइयो । यस्ता कडा नीतिगत अग्रसरतापछि पनि भ्रष्टाचार गर्ने अधिकारीलाई भने कडा कारबाहीको दायरामा ल्याइयो । भ्रष्टाचारीको पद, अनुहार, सम्बन्ध, जातभात आदि केही पर्वाह नगरी गलत काम गरेबापत सजाय दिइयो । चीनले भ्रष्टाचार नियन्त्रणको लागि नेसनल व्युरो अफ करप्सन अर्थात भ्रष्टाचार नियन्त्रण आयोग गठन गरी भ्रष्टाचारको नियन्त्रण र कारबाहीलाई जोड दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका हरेक तहमा रहेका अनुशासन र अनुगमन विभागहरूलाई सक्रिय बनाई भ्रष्टाचारको छानबिन र कारबाहीलाई जोड दिइयो ।
ठुलो जहाजमा एउटा सानो पेचकिल्लामात्र खराब परे पनि दुर्घटना हुनसक्छ । चीन जनसङ्ख्या, अर्थतन्त्र, उत्पादन, सम्भावना आदि धेरै कोणबाट आज विशाल देश हो । त्यो विशाल देशमा केही लाख भ्रष्टलाई पालेर राख्नुको अर्थ बोराभित्रको कुहेको आलुलाई सम्हालेर राख्ने मूर्खताजस्तै हुन्छ । केही पश्चिमा सञ्चारमाध्यम एकातिर चीनमा व्यापक भ्रष्टाचार भएको भन्छन् भने अर्कोतिर भ्रष्टाचारलाई कारबाही गरे राजनीतिक रङ्ग दिने प्रयास गर्छन् । तर, भ्रष्टाचारको रसातलमा डुबेको पश्चिमा संसारले गरेको बद्ख्वाइँले भ्रष्टाचारविरुद्धको लडाइँ चीनले रोक्ने छैन । भ्रष्टाचारविरुद्धको चीनको लडाइँ चीनलाई सन् २०४९ सम्ममा विकसित चीन बनाउने अर्को शताब्दी लक्ष्य प्राप्तितर्फको अपरिहार्य पाइला हो । छिमेकका यी कुरा नेपालले कति सिक्ने नसिक्ने हाम्रो कुरा हो जसले हाम्रो र देशको भविष्य निर्भर रहनेछ ।
सन्दर्भ सामग्री
Xi Jingping-The Governance of China
Vol.1
The Roadmap of the 18th CPC National
Congress and the Chinese
Dream
Global Times

नीरज लवजू

Leave a Reply

Your email address will not be published. Required fields are marked *