भर्खरै :

गठबन्धनसँगै पार्टी एकताको पनि चर्चा !

  • जेष्ठ २६, २०७९
  • – दीनबन्धु अर्याल
  • समाचार

सन्दर्भ अहिले सत्तासीन र ठूला दलहरूबीच गठबन्धनको चर्चामात्र होइन बेलाबखत पार्टी एकताको प्रसङ्ग पनि जोडिरहेको छ । ठूलो दल बन्न र सरकारको नेतृत्व गर्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको चर्चासँगै पार्टी एकताको खबर पनि सञ्चारमाध्यममा आइरहेको छ । दलहरूबीच धेरै पटक पार्टी एकता भयो, धेरै पटक फुट्यो पनि । सिद्धान्त र विचारको आधारमा पार्टी एकता नभएको कारण फुटजुट भइरहेको हो । मन्त्री बन्न नपाउँदा र अनुशासनको कारबाही गर्दा पार्टीभित्र किन फुट र जुटको द्वन्द्व उचाइमा पुग्छ ? पार्टी फुटाउने र जुटाउने आधार के मन्त्री हुन पाउनु र नपाउनु हो ? के आफूले भनेजस्तै स्वतन्त्रता नदिनु या जथाभावी बोल्न नपाउनु हो ? सानातिना असन्तोष या चित्त नबुझेको कारण देखाएर नेताहरूले पार्टी छोड्ने, आफूसँगै अन्य नेताहरू अर्काे पार्टीमा जाने धम्की या चेतावनी किन दिन्छन् ? यो कस्तो राजनीति ¤ के यो लोकतान्त्रिक राजनीति हो या वाम राजनीति !
माक्र्सले सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो त्यसै भनेका होइनन् । ठूलो दल बनाउने र सरकारको नेतृत्व गर्ने उद्देश्यले माओवादी र एमाओवादीबीच एकता भएकै हो । एकता भएर निर्वाचनमा ठूलो दल पनि बन्यो । त्यो दलले सरकारको नेतृत्व पनि ग¥यो । तर, तीन वर्ष पुग्दा नपुग्दै दलभित्र आन्तरिक विवाद सुरु भयो, विवाद उचाइमा पुग्यो र एमालेबाट माओवादी अलग भयो । एमालेबाटै एकीकृत समाजवादी पार्टी पनि जन्म्यो । पार्टी फुटेकोमा फेरि ती दलका नेताहरू प्रायश्चित गर्दै छन् र पार्टी एकताको कुरा उठाउन कानेखुसी गर्दै छन् । पार्टी फुटाउने, जुटाउने र एकताको कुरालाई यहाँ एकले अर्काेलाई तर्साउने ध्येयले भइरहेको देखिन्छ । पुँजीवादी व्यवस्थामा यस्ता षड्यन्त्रका खेलहरू दोहोरिरहन्छन् । यी सबै काम, कुरा र निर्णय दलका नेताहरूमा सिद्धान्त र विचारमा अडान नहुँदा भएको हो । सिद्धान्त र विचारमा अडान नभएका नेताहरूले सरकार र पार्टीमा कसरी दिशा निर्देश गर्छन् ? देश र जनताको भविष्यलाई दाउमा राख्ने नेताहरूलाई जनताले कसरी विश्वास गर्ने ?
सिद्धान्त र विचारको ख्याल नगरी हतारमा पार्टी एकता हुँदा पाएको पीडा निको नहुँदै फेरि किन पार्टी एकताको चर्चा चल्यो ? केको लागि पार्टी एकता ? कसलाई हराउन पार्टी एकता ! के एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी या अन्य कम्युनिस्ट भनिने दलसँग पार्टी एकता गरेर देशमा कम्युनिस्ट आन्दोलन अघि बढ्ने हो ? कम्युनिस्ट आन्दोलन अघि बढाएर समाजवादी गणतन्त्र स्थापनाका लागि पूर्वाधार तयार हुने हो ? साँच्चै देशमा समाजवादउन्मुख राज्यको अवधारणाअनुसार काम अघि बढाउन पार्टी एकताको प्रश्न उठेको हो ? कि विस्तारवादी देश भारत र साम्राज्यवादी देश अमेरिकालाई खुसी पार्न पार्टी एकताको प्रसङ्ग उठेको हो या देशमा ‘वाम’ सरकार गठन गर्न ¤ के वाम सरकार गठन हुँदैमा देशमा आमू परिवर्तनको अनुभूति हुने हो ? कम्युनिस्टको सिद्धान्त र विचारअनुसार कुनै काम हुँदैन भने वाम शक्तिबीच एकता गरेरै के गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *