भर्खरै :

विभीषणहरूबाट देश इतिहासमै ठूलो खतरामा !

(नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले असार २ गते भएको आव २०७९–८० को बजेटमाथिको सामान्य छलफलमा व्यक्त विचारको सम्पादित अंश–सम्पादक)
बाग्मती प्रदेश सरकारको पाँचौँ बजेट पनि सुनियो, हेरियो । बजेट वाचन गर्नेको अनुहार फेरियो, अङ्कहरू केही तल–माथि भए । तर, प्रदेशवासीको अनुहारमा उज्यालो ल्याउने खालको बजेट आएन ! अथर्मन्त्रीको बजेटको बाकस खुल्दा प्रदेशमा नयाँ उत्साह, उमङ्ग, उज्यालो, हर्ष, उपलब्धि, नयाँ आशा, सुरुआत तथा प्रगति अनुभूत हुनुपथ्र्यो । तर, यो त लामखुट्टेको औषधि बेच्न आएको चटकेले दिएको कागजको पोका घर पुगी खोल्दा ‘झुल हाली सुत्नु’ लेखेभैmँ बाहेक केही पनि भएन !
बाग्मती प्रदेशका मजदुर, किसान तथा तल्लो वर्गको निम्ति यो बजेट ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ बन्यो ।
बजेटमा ‘प्रदेशवासीको हित अभिवृद्धि’, ‘सामाजिक न्यायसहित’, ‘समाजवादउन्मुख’, ‘आत्मनिर्भर अर्थतन्त्र’ आदि उल्लेख गरिएको छ । प्रश्न उठ्छ, नेपाली काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीको राजनीतिक दर्शन, सिद्धान्त, सोच तथा अर्थनीति एउटै भइसकेको हो ? हो भने पार्टी, झन्डा किन अलग ? होइन भने जनतालाई किन यति ठूलो धोका ?
नीति तथा कार्यक्रममाथि छलफलको क्रममा नक्कली समाजवादीको बिगबिगीको प्रसङ्ग ल्याउँदा हाम्रा केही मन्त्री र मुख्यमन्त्रीले हत्त न पत्त खुट्टा उचाल्नुभएको देख्यौँ । हँसिया–हथौडा अङ्कित झन्डा बोकेर चालिस वर्ष समाजवाद, माक्र्सवाद र माओको नाउँमा राजनीति गरेकाहरूले निधारमा ‘चार तारा’ पोतेर अनि रुख चढी फल टिपेर खान पल्केकाहरूबारे जनताले जरुर मूल्याङ्कन गर्नेछन् । रुखमा बसी–बसी फल खानुसम्म सह्य होला तर जब तल खेतमा पसिना बगाइरहेका किसान–मजदुरलाई आधा टोकेको फलले टाउकैमा पर्ने गरी हानेर जिस्किन थाल्छ तब किसानको सहनशिलता, धैर्यको बाँध भत्किन्छ । त्यतिखेर रुखमात्र बग्ने होइन, रुख चढेर फल खाइरहेकाहरू कोही पनि जोगिने छैनन् ।
यहाँ प्रदेशको बजेटमाथि छलफल भइरहँदा मलाई मेरो देश रहन्छ कि रहँदैन भन्ने चिन्ताले साह्रै पिरोलिरहेको छ । यतिखेर बजेटको गुणगान गरिरहनु भनेको माथि चिल उडिरहेको छ तल चल्लाहरू चारा खानमा मग्न भइरहेभैmँ हो ।
यो देशको आकाशमा बाज उडिरहेको छ । बाज संरा अमेरिकाको राष्ट्रिय पन्छी हो । एमसीसी पारित भइसकेपछि यो देशमा अमेरिकी साम्राज्यवादको प्रभाव, दबाब, हैकम झनै बढ्न थालेको छ । अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादबाट ठूलो खतराको अनुभव गर्दै छौँ । विभीषणहरूबाट देश इतिहासमै ठूलो खतरा झेल्दै छ । साम्राज्यवादी तथा विस्तारवादीहरूको विषयमा सबैको गम्भीरता आजको तड्कारो आवश्यकता हो । नेपाली काङ्ग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीभित्रका सबै देशभक्तहरूले विदेशी हस्तक्षेपबाट देश जोगाउने विषयमा होश पु¥याउने बेला भइसकेको छ । घरभित्रको झगडा त आज नभए भोलि जरुर मिल्नेछ । तर, विदेशी भित्रसम्मै आइपुगे, विदेशीसँग झगडा गर्नु परे झन् गा¥हो हुनेछ ।
एमसीसीमा भएको देशघातको घाउ आलै छ । सैन्य गठबन्धनमा जाने, हिन्द प्रशान्त रणनीतिको अङ्ग बन्ने, असंलग्नता तथा पञ्चशील त्याग्ने र अमेरिकी साम्राज्यवादको एसपीपी अर्थात् स्टेट पाटर्नरसीप प्रोग्रामको जञ्जालमा फसाउने खेल चल्दै छ । त्यसको समर्थनमा नजान केन्द्र सरकारसम्म यो प्रदेशको आवाज पु¥याउनैपर्छ । सङ्घीय सरकारले गलत बाटो लिए सच्याउने तागत प्रदेशसँग पनि हुनुपर्छ । देश जोगाउन प्रदेशको पनि भूमिका आवश्यक छ । ‘दुई टाउके भन्डारा पन्छी’ को एउटा टाउकोले विष खाँदा ज्यानै जानेबारे प्रदेश सरकार संवेदनशील बन्नैपर्छ । देश जोगिए प्रदेशका मुख्यमन्त्री, मन्त्री नेपालीकै छोराछोरी बन्न पाउनेछन् ।
त्यतिखेर सच्चा देशभक्तले बनाएको बजेटमात्र होइन प्रदेशमा वास्तविक परिवर्तन अनुभव गर्न पाउनेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *