‘मकै व्यापारी’ ले उठाएका प्रश्न
- Jul 3, 2022
सत्तासीन र ठूला दलका नेता र मन्त्रीहरूको ठूलो जिम्मेवारी हुन्छ । देशलाई कुन उचाइमा पु¥याएर जनताको जीवन कसरी सुनिश्चित गर्ने भन्ने कुरा उनीहरूकै हातमा हुन्छ । देश र जनतालाई मार्ग निर्देश गर्ने ति नै नेताहरूले गलत काम, गलत निर्णय गरेमा देश आर्थिक सङ्कटमा पर्छ र बर्बाद हुन्छ । सरकारको नेतृत्व गरेका, देशको जिम्मेवारी बोकेका नेताहरू देश र जनताबारे गम्भीर भएनन्, दूरदर्शी भएनन्, आर्थिक सहयोग र विकासको लोभमा फसेर देशलाई दूरगामी असर पार्ने असमान सन्धि, सम्झौता र समझदारीमा सही गरे भने देश कहिल्यै माथि उठ्नेछैन । अहिले देशमा भइरहेको यही हो । नेताहरू बिग्रिए देशै बिग्रिन्छ ।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षामा लाग्नुपर्ने सत्तासीन नेता र मन्त्रीहरू देशको परराष्ट्रनीतिबारे ख्यालै गर्दैनन् । सन्धि, सम्झौताका सर्तहरू पढ्दै नपढी हाम्रा प्रधानमन्त्री र मन्त्रीहरू हस्ताक्षर गर्छन्, नेताहरू अन्ध समर्थन गर्छन्, नेपाल र नेपालीको हित या स्वार्थको मतलबै नराखी विदेशीको दबाबमा विदेशीको हितमा लाग्छन् र विदेशी शक्ति राष्ट्रहरूको पक्षपोषण गर्छन् । असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त र राष्ट्रको सर्वाेपरि हितलाई तिलाञ्जली दिएर रुस – युक्रेनको युद्धमा नेपालले युक्रेनको पक्षमा मतदान गर्न ठूलो भूल हो । देशको परराष्ट्र नीति नमान्ने, नीतिविपरीत मतदान गर्ने प्रम र मन्त्रीहरूले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने हो, तिनीहरू सत्तामा एकछिन पनि बस्न मिल्दैन । ती नेताहरूले बुझ्नुपर्ने हो, देशको परराष्ट्र नीति कसैको बलमा बदलिने होइन, पार्टीको नीति देशको विदेश नीति हुँदैन ।
सत्तासीन दलका नेता र मन्त्रीहरू आफूलाई जनताले विश्वास गरेको गणतान्त्रिक सरकार ठान्छन् । विगतमा भएका असमान सन्धि सम्झौता खारेज गर्न र गराउन अघि सर्नुपर्ने ती नेता र मन्त्रीहरू फेरि देशघाती, जनघाती सम्झौता र समझदारीमा हस्ताक्षर गर्न सहमति जनाउँछन् र देशको भौगोलिक अखण्डता र स्वाधीनतामा आँच पु¥याउने काम गर्छन् । देश बनाउने, विकास गर्ने, जनताको जीवनस्तर उठाउनेतर्फ चिन्तन, सोच विचार नभएका नेताहरूको हातमा सरकार परेपछि देश कसरी समृद्ध हुन्छ, जनता कसरी सुखी हुन्छन् ?
विगतमा अरु सार्वभौम र स्वतन्त्र देशहरूमा भइरहेको विध्वंश, उत्पात् र नरसंहार देखेको, सुनेको, पढेको नेपाल र नेपालीले अब कुन दिन त्यस्तो विध्वंस नेपालले व्यहोर्नुपर्ने हो ? आम जनतामा चिन्ताको विषय बनेको छ । साम्राज्यवादी संयुक्त राज्य अमेरिका त्यही ध्येयले नेपालमा प्रवेश गर्दै छ, गृहकार्य गर्दै छ । तर, ठूला र सत्तासीन दलका गर्जेर भाषण गर्ने युवा नेताहरू पछिको कुरा सोच्दैनन्, अहिले त्यस्तो कुनै घटना हुनेछैन, पाँच वर्षभित्र भएमा चारपाटा मोडे पनि फरक पर्दैन भनी नेपाललाई मिच्ने, नेपाललाई हस्तक्षेप गर्ने तिनै ठूला शक्ति राष्ट्रको पक्षपोषण गर्छन् । के पाँच वर्षमा कुनै सैन्य हस्तक्षेप हुँदैन भनेर नेपालमा खेलबाड गर्न दिने ? के राजनीति भनेको ५ वर्षको निम्ति हुन्छ ? सरकारले त नेपालमा कसैले पनि कहिल्यै आँच नपुग्ने गरी राजनीति गर्नुपर्ने हो, सन्धि सम्झौता गर्नुपर्ने हो । हुँदाहुँदा नेकामात्र होइन सरकारमा सामेल अरु दल पनि गले, नामर्द देखिए । हामीले पछिको सोचेर काम गर्नुपर्छ, नीति नियम बनाउनुपर्छ । ताकि नेपाल सधैँ स्वाधीन, सार्वभौम र सुरक्षित भइरहोस् । देशको अस्तित्वमा आँच पु¥याउने कुनै विदेशी देशसँग मित्रता र सम्बन्ध कसरी सुदृद्ध हुन्छ ?
Leave a Reply