भर्खरै :

एकताअघि ‘कम्युनिस्ट’ पार्टीहरू सच्चिनुपर्छ

सबभन्दा पहिले नेपालका ‘कम्युनिस्ट’ हरू सच्चिनुपर्छ । आफूलाई कम्युनिस्ट भनिने पार्टीहरू नसच्चिएसम्म कम्युनिस्ट दलबिच एकता भए पनि टिक्दैन । कम्युनिस्ट पार्टीहरू (एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीहरू) कम्युनिस्टको सिद्धान्त र विचारअनुसार चल्नुपर्छ । पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो भने त्यसलाई नेपालको परिवेशमा लागू गर्न अघि बढ्नुपर्छ । कम्युनिस्ट एकता भएर त्यस्तो कुनै गतिविधि हुँदैन या कम्युनिस्ट आचरणअनुसार काम हुँदैन भने कम्युनिस्ट पार्टी एकताको उद्देश्य पूरा हुँदैन । एमाले र माओवादी केन्द्रबिच एकता भएकै हो, ठूलो दल बनेकै हो तर टिकेन । नेता तथा कार्यकर्तामा एकताको अनुभव गर्न नपाउँदै फुट्यो । दुई दल मिलेर बनेको नेकपा तीन दलमा विभाजित भयो । अहिले फेरि कम्युनिस्ट एकताको चर्चा भइरहेको छ । पार्टीको छायामा परेका, लामो समयदेखि कुनै पार्टीमा सामेल नभएका या निष्क्रिय भएका वामदेव गौतम नेकपा ब्युँताउने भन्दै एकता अभियानमा लागेका छन् । पार्टी एकता अभियानका संयोजक गौतम के उद्देश्य प्राप्तिको लागि एकता अभियानको प्रसङ्ग जोडेर ‘राष्ट्रिय भेला’ गरिएको हो ?
कम्युनिस्ट पार्टीको उद्देश्य छोडेर, भुलेर पार्टी एकता गरेर के गर्ने ? के कम्युनिस्ट पार्टी एकताको उद्देश्य पार्टी ठूलो बनाउन र सरकारको नेतृत्व गर्नको लागि मात्र हो ? के अब हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभामा बढी सीट जित्न एकता हुन लागेको हो ? सरकारको नेतृत्व गरेपछि के कम्युनिस्ट पार्टीको उद्देश्य पूरा हुन्छ ? के कम्युनिस्ट पार्टीको उद्देश्य नै पुँजीवादी व्यवस्थाको सरकारमा जानु हो ? बरू देशका सबै कम्युनिस्ट पार्टीहरू आमूल परिवर्तनको निम्ति, समाजवादी व्यवस्था स्थापना गर्नको निम्ति पूर्वाधारहरू तयार गर्न जुट्नुपर्छ । जनताको घर–आँगनमा पुगेर जनतालाई सुसूचित र सङ्गठित गर्नुपर्छ । कम्युनिस्ट र पुँजीपति वर्गको सरकारबिचको भेदबारे जनतालाई बताउनुपर्छ । कम्युनिस्टको आचरण, मूल्य र मान्यताको कुनै पर्वाह नगरी, माक्र्सवाद–लेनिनवादलाई नेपालको माटो सुहाउँदो कसरी उपयोग गर्नेतर्फ कुनै चिन्तन नगरी एकता एकता भनेर चिच्याइरहनुको के अर्थ रहन्छ ? कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारबारे गहिरिएर कुनै बहस, अन्तरक्रिया नगरी एकता भएकै कारण एकले अर्कोलाई ए कता हो भन्दै पार्टी टुक्रिएको वर्ष दिन बितेको छैन । फेरि एकताका कुरा गरेर नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीलाई गलत दिशातर्फ लाने प्रयास नेताहरू किन गर्दै छन् ?
कम्युनिस्ट एकता गर्न चाहने, गर्न चाहेका कम्युनिस्ट दलहरूबिच पुँजीवादी व्यवस्थामा गएर समाजवादी व्यवस्था सम्भव छैन भन्ने विषयमा मतैक्य बनाउनुपर्छ । दश जोड दुईसम्म निःशुल्क शिक्षा हुँदैमा देशमा समाजवाद स्थापना भएको मानिँदैन । ‘कम्युनिस्ट’ पार्टीले पटक–पटक सरकारको नेतृत्व गरेकै हो । तर, यहाँ पुँजीवादी व्यवस्थाभित्र भइरहेको कुनै पनि काममा सरकारले सुधार गर्न सकेको छैन । हत्या–हिंसा, बलात्कार र अपहरण भइरहेकै छ । भ्रष्टाचार, अनियमितता र कमिसनको खेलमा कुनै सुधार भएको देखिँदैन । संविधानमा उल्लेख भएबमोजिम मावि तहसम्म निःशुल्क शिक्षा भएको छैन, न त समाजवादउन्मुख मार्ग नै कोर्न सकिएको छ । जहाँतहीँ पक्षपात छ । विभेद छ । घुसविना काम हुँदैन । न्याय र समानता कागजमा मात्र सीमित छ । के यस्तै कार्यलाई निरन्तरता दिन कम्युनिस्ट पार्टीको एकता ¤ कि चर्चामा आउन कम्युनिस्ट एकताको नारा अघि बढाइएको हो ? सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो भन्ने कुरा पनि भुल्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *