भर्खरै :

जीवनमा आइपर्ने अप्ठेराहरूलाई सामना गर्नसक्ने साहस आवश्यक

भक्तपुर, १३ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँकी जीवन सङ्गिनी नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष एवं नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानको निधनमा सोमबार श्रद्धाञ्जली सभा भयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा भएको सो कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले शोभा प्रधानको योगदानको चर्चा गर्दै भन्नुभयो, “शोभा भाउजूमा राजनीतिक कार्यकर्तामा हुनुपर्ने गुण थियो । उहाँले राजनीति गुलाफको ओछ्यान होइन, कठिन बाटो हो भन्ने यथार्थलाई बुझ्नुभयो । उहाँ जीवनमा आइपर्ने अप्ठेराहरूलाई सामना गर्नसक्ने दृढ साहसी महिला हुनुहुन्थ्यो । भाउजू शिष्टाचार पालनमा पनि अब्बल हुनुहुन्थ्यो ।”
सचिव सुवालले भन्नुभयो, “उहाँले दुई दशकअघि स्तन क्यान्सरलाई जित्नुभयो । तर, सरकारले नेपालमा गुणस्तरीय औषधि उपलब्ध नगरेको हुँदा पाठेघर क्यान्सरबाट उहाँको निधन भयो । नेपालमा औषधि उपलब्ध नहुँदा सर्वसाधारण धेरै नेपाली असामयिक निधन भएका छन् ।”
उहाँले नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधान सबै कार्यकर्ताहरूबीच प्रेरणाको स्रोतको रूपमा रहनुभएको बताउनुभयो ।
क्यान्सरजस्तो खतरनाक रोगबाट बर्सेनि लाखौँ जनताले अकालमै ज्यान गुमाइरहेको हुँदा रोगको समयमै पहिचान र उपचारबारे सचेत हुनुपर्ने र समय–समयमा स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले शिष्टाचार एवम् संस्कारी व्यवहार गर्नु शोभा भाउजूप्रति श्रद्धाञ्जली हुने बताउनुभयो ।
सचिव सुवालले जीवनमा आफूले प्राप्त गरेको अनुभव लिपिबद्ध गर्नुपर्ने विषय शोभा भाउजूबाट सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले शोभा प्रधानले लेख्नुभएको ‘क्यान्सर रोग र मेरो उपचार’ लेखबारे चर्चा गर्नुभयो । उहाँको सङ्घर्षमय जीवन प्रेरणादायी भएको उहाँले उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य रोशनमैया सुवालले क्यान्सर रोगसँग लड्ने शोभा भाउजूको साहसबारे चर्चा गर्नुभयो ।
सानुमाया लागेजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुशीला थापाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *