भर्खरै :

राज्यको स्वामित्वमा उत्पादन र वितरणसँगै सामाजिक सुरक्षा हुने

काठमाडौँ, १७ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सामाजिक सुरक्षा विधेयक (पहिलो संशोधन) २०७९ माथिको छलफलमा राज्यको स्वामित्वमा उत्पादन र वितरणको व्यवस्थासँगै सामाजिक सुरक्षा प्रत्याभूत हुने विचार राख्नुभयो ।
सम्पत्तिको सीमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्थासँगै सामाजिक सुरक्षा प्रत्याभूत गर्न मद्दत पुग्ने चर्चा गर्दै सांसद सुवालले कामदार वर्गका एकल महिलासँगै एकल पुरूषको पनि सामाजिक सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले उमेर भएकालाई सीपमूलक तालिम दिएर रोजगार वा स्वरोजगार बनाउने कानुनी व्यवस्था हुनु जरूरी भएको चर्चा गर्नुभयो ।
एमालेका सांसद लालबाबु पण्डितले सम्पत्तिको हदबन्दी छल्न सम्बन्ध विच्छेद गर्ने भएको हुँदा एकल महिलाको परिभाषामा ध्यान दिनु जरूरी भएको उल्लेख गर्नुभयो ।
माओवादीका सांसद शक्ति बस्नेतले सामाजिक सुरक्षा भत्ताको लागि सम्बन्ध विच्छेदको शङ्का गर्न नहुने उल्लेख गर्नुभयो ।
एमालेका सांसद विमला विकले कुमारी आमालाई एकल महिलाको परिभाषामा समेटेर भत्ता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
एमालेका सांसद नवराज सिलवालले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै खोक्रो हुँदै आएको तर्फ सचेत गराउनुभयो ।
सांसदहरूले सामाजिक सुरक्षा भत्ता स्थानीय तहमार्फत टोलटोलमा वितरण गराउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *