भर्खरै :

समाज सेवामा लाग्नु नै प्रधानप्रतिको श्रद्धाञ्जली

भक्तपुर , १७ असार । नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको निधनमा शुक्रबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरियो ।
नेमकिपाका भनपा वडा नं. ७ एकाइ समितिको आयोजनामा भएको उक्त सभामा पार्टीका सचिव प्रेम सुवालले देश र जनताको सेवा नै राजनीति सम्झनु, व्यक्तिगत स्वार्थ त्याग्नु, समाजको सेवामा लाग्नु नै शोभा प्रधानप्रतिको श्रद्धाञ्जली हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँसँग विवाह गर्नुभएसँगै देश र जनताको सेवा गर्नु नै राजनीति भएको यथार्थलाई शोभा प्रधानले आत्मसात गर्नुभयो ।”
“शोभा प्रधानले क्यान्सरलाई जित्नुभयो । उन्नाइस वर्षपछि उहाँलाई पाठेघर क्यान्सर भयो । नेपालमा क्यान्सर उपचार सम्बन्धी विदेशमा बनेको गुणस्तरीय औषधि आयातको व्यवस्था सरकारले नगरेको हुँदा उहाँको क्यान्सर बल्झिँदै गएको हो”, सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अध्यक्ष बिजुक्छेँले शोभा प्रधानको उपचार स्वदेशमै गराउनुभयो । शासक दलका नेता र नेता पत्नीहरूको राज्य कोष दुरूपयोग गरी विदेशमा उपचार भइरहेको छ ।
केन्द्रीय सदस्य एवं भनपा ७ नं. वडा अध्यक्ष उकेश कवांले हँसिलो मुहारका धनी, भद्रव्यवहार गर्ने शोभा प्रधान एक साहसी, धैर्यवान, बुद्धिमानी तथा व्यवहारिक महिला हुन् भन्ने कुरा २०४५ सालको भक्तपुर काण्डको समयमा उहाँले खेल्नुभएको भूमिकाबाट प्रस्ट हुन्छ भन्नुभयो
उहाँले शोभा प्रधानले अध्यक्ष रोहितको जीवनलाई सहज बनाई पार्टीको काम, कर्तव्य पूरा गर्न महत्वपूर्ण योगदान गरेको कारण उहाँ एक गृहिणीमात्र नभई एक कर्तव्यनिष्ठ राजनैतिक कार्यकर्ता पनि हुनुहुन्थ्यो भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले २०४५ सालको भक्तपुर काण्डमा दुःख पाए पनि राजनैतिक व्यक्तित्वहरूको जीवनमा यस्तो हुनु स्वाभाविक ठानी विचलित नभएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य रोशनीमैयाँ सुवालले शोभा प्रधान मिजासिलो, प्रस्ट, सहनशील नेतृ भएकोले राज्यस्तरबाट षड्यन्त्र गरिएको भक्तपुर काण्डको बेला सत्य र न्यायको पक्षमा आवाज राख्ने पत्रकार, मानव अधिकारकर्मी, वकिल, न्यायाधीशहरूसँग भेटघाट गरी कानुनी सङ्घर्ष गर्न सबै महिलाहरूलाई उत्साहित गर्नुभएको स्मरण गर्नुभयो ।
बलराम गोसाईको सभापतित्वमा भएको उक्त सभामा हेरा ख्याजू, रत्नवीर किसीलगायतले शोभा प्रधानको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।
वडा नं. १ मा श्रद्धाञ्जली सभा
त्यस्तै नेमकिपा भनपा वडा नं. १ एकाइ समितिको आयोजनामा शुक्रबार शोभा प्रधानको श्रद्धाञ्जली सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले शोभा प्रधान शिक्षिकामात्र नभएर कामदार जनताको एक नेतृ पनि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शोभा प्रधान प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । उहाँ राजनीतिलाई गुलाफको ओछ्यान नभई सङ्घर्षशील जीवन ठान्नुहुन्छ ।”
नेमकिपा भक्तपुर नगर समितिका नारायणप्रसाद त्वानाबासुले शोभा प्रधानले आफ्नो स्वार्थलाई भन्दा देश र श्रमिक जनतालाई प्राथमिकता दिई कार्य गरेको बताउनुभयो ।
भनपा वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले शोभा प्रधानको शैक्षिक, सामाजिक र व्यवहारिक पक्षबारे जानकारी गराउँदै भनपाले स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष लक्ष्मीनारायण राजलवटको सभापतित्वमा भएको उक्त सभामा अम्बिका न्याइच्याई, राजन कोजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *