भर्खरै :

नेक्राशिसङ्घद्वारा शोभा प्रधानको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

भक्तपुर, १७ असार । नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको निधनमा शुक्रबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरियो ।
नेक्राशिसङ्घ केन्द्रीय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग रहँदा बस्दा घरमा आउने दिनहुँका पाहुनाहरूको सम्मानमा उहाँले गर्नुभएको शिष्ट व्यवहारहरू अहिले सबैको मनमा ताजा रहेको चर्चा गर्दै घरमा आएका कुनै पनि पाहुनबाट उहाँ कहिल्यै झर्किनुभएन भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँको व्यक्तित्वको उचाइमा उहाँले खेल्नुभएको मिलनसार व्यवहारले पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रदेशसभा सदस्य गोसाईंले शोभा प्रधानले जीवनमा एक नेताभन्दा पनि नेताकी एक सफल श्रीमती बनेर देखाएको चर्चा गर्नुभयो ।
नेताकी श्रीमतीको नाताले सत्ताको लोभ, गरगहना, सम्पत्ति, गाडी आदिको रत्तिभर लालसा नदेखिनु नेता बिजुक्छेँको आदर्शलाई पछ्याउनु हो भन्दै उहाँले प्रधानको सादा जीवनमा रमाउने उच्च विचारको व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो ।
शोभा प्रधानले अँगाल्नुभएको विचारलाई बाँकी हामीले व्यवहारमा उतार्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विचारका साथ केन्द्रीय सदस्य गोसाईले दाइ र भाउजूको जीवनको अन्तिम क्षणमा भएको वार्तालाप अत्यन्त मार्मिक भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले शोकलाई शक्तिमा बदल्ने हो भने अब महिलाहरूमाझ स्तन क्यान्सर र पाठेघर क्यान्सरका बारेमा व्यापक प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।
देशको औषधि व्यवस्थापन विभागका जिम्मेवार व्यक्तिहरू बिरामीहरूप्रति उत्तरदायी भएका भए यो देशका धेरै बिरामीहरू अकालमा मर्ने थिएनन् भन्दै उहाँले विभागका गैरजिम्मेवार हाकिमहरू हत्याराजस्ता भएका छन् भन्नुभयो ।
कार्यक्रममा नेक्रामहिला सङ्घका केन्द्रीय सदस्य अम्बिका न्याइच्याइले २०४५ सालमा पञ्चायती राज्यस्तरबाट नेमकिपालाई समूल नष्ट गर्न रचिएको षड्यन्त्र विफल पार्न शोभा प्रधानले त्यसबेला गर्नुभएको महिला नेतृत्व बिर्सन सक्दैन भन्नुभयो ।
एक मिनेट मौनधारण पनि गरिएको कार्यक्रममा सङ्घका सहसचिव जगन्नाथ सुजखू र शिक्षक विश्वराम प्रजापतिले पनि प्रधानको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *