भर्खरै :

शोभा प्रधानको सिद्धान्तनिष्ठ आचरण कार्यकर्ताहरूलाई प्रेरणा

बुटवल । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)का जीवनसाथी एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानप्रति शनिबार बुटवलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो ।
नेमकिपा रूपन्देहीले आयोजना गरेको उक्त कार्यक्रममा नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर बासीले देश, कामदार जनता र पार्टी नेतृत्वप्रति समर्पित शोभा प्रधानका विविध आयाम खुल्दै जाने चर्चा गर्दै प्रधानको सिद्धान्तनिष्ठ आचरणबाट कार्यकर्ताहरूलाई प्रेरित गरिरहनेछ भन्नुभयो । प्रधानलाई २०५६ सालमा स्तन क्यान्सर भएपछि पार्टी र महिला सङ्घले विभिन्न जिल्लामा स्वास्थ्य शिविर चलाएको उल्लेख गर्दै अध्यक्ष बासीले ती स्वास्थ्य शिविरबाट नौ हजार महिलाहरूले स्वास्थ्यलाभ गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका जगिलाल थापाले शोभासँगको हरेक भेटमा आफूलाई उत्साहित बनाएको स्मरण गर्दै प्रधानको निधनमा भक्तपुरमात्र होइन, सारा नेपाली कामदार जनता रोएका छन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका सङ्गीता श्रेष्ठले पार्टी कार्यकर्ताहरूको लागि शोभा प्रधानले अभिभावकीय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै शोकलाई शक्तिमा बदलेर कार्यकर्ताहरू अझ जुझारू भएर अघि बढ्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा रूपन्देहीका सचिव हिमलाल पाण्डेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *