भर्खरै :

विशाल युरोपेली थलसेना बनाउने नेटोको घोषणा

नेटो महासचिव येन्स स्तोल्टनबर्गले “हाम्रो सामूहिक रोकथाम र प्रतिरक्षा प्रणालीको शीतयुद्धपछिकै सबैभन्दा ठूलो सुधार” भनेर जेलाई भने त्यो संरा अमेरिकी नेतृत्वको नेटो गठबन्धनले युरोपमा भीमकाय थलसेना निर्माण गर्ने योजना हो । यसमा लाखौँलाख सैनिकहरू अटाउनेछन् ।
स्तोल्टनबर्गलले नेटोको ‘सबैभन्दा तम्तयार सेना’ ७ गुना ठूलो हुने र त्यसमा ४० हजारदेखि ३ लाखसम्म सैनिकहरू रहने बताए । साथै रूसको सिमानामा दशौँ हजार थप जगेडा दस्ताहरू तैनाथ गर्ने, असङ्ख्य ट्याङ्क र विमानहरू राख्ने पनि उनले खुलाए ।
रूससँग चलिरहेको र चीनसँग योजनामा रहेको नेटोको युद्धका कारण ठूलो मात्रामा सामाजिक स्रोतसाधनको परिचालन हुनेछ । यसमा युरोप र उत्तर अमेरिकाको ढुकुटी खर्च हुनेछ । यसको लागि सामाजिक सेवामा खर्च कटौती गर्नुपर्नेछ, ज्याला घट्नेछ र कामदारहरूको पेन्सनमा कटौती हुनेछ ।
स्तोल्टनबर्गले रूस र चीनसँगको ‘रणनीतिक प्रतिस्पर्धाको नयाँ युग’ को प्रतिक्रियामा यो विशाल लडाकू दल बनाएको बताए ।
यस योजनालाई उनले “नेटोको रोकथाम र प्रतिरक्षा प्रणालीमा मूलभूत परिवर्तन” भने । यसले रूससँगको युद्ध मात्र नभई “हाम्रो सुरक्षा, स्वार्थ र मूल्यमान्यतासामु बेइजिङले खडा गरेका चुनौतीहरू” पनि समेट्ने उनले बताए ।
लडाकू दललाई व्यापकरूपमा विस्तार गर्न नेटोले लाटभिया, लिथुआनिया र इस्टोनियास्थित सेनाको सङ्ख्या बढाउनेछ । सेनामा ‘ब्रिगेड तह’ मा पु¥याउने बताइएको छ । त्यो भनेको ३ देखि ५ हजारसम्म सैनिक राख्ने हो ।
‘फाइनान्सियल टाइम्स’ ले स्तोल्टनबर्गसँगको अन्तर्वार्ताको आधारमा रिपोर्ट छापेको थियो । त्यस अनुसार सो योजनामा “संरा अमेरिका, बेलायत र फ्रान्सजस्ता पश्चिमी नेटो देशहरूमा नयाँ संरचनाहरू बनाइनेछ । ती देशका पानी जहाज, युद्धविमान र जम्माजम्मी ३ लाख सैनिकहरूलाई गठबन्धनको पूर्वी पहुँचको कुनै विशेष भूभागमा तैनाथ हुनेगरी तयार रहन भनिने छ । कुनै हमला सुरू भयो कि तुरून्त प्रतिक्रिया दिने प्रबन्ध मिलाइने छ ।”
बाल्टिकमा ‘जनाउ सेना’ को रूपमा सैनिकहरू तैनाथ गर्नुको सट्टा नयाँ योजनामा नेटोले ती देशहरूको सिमानाबाट वा नेटोको पूर्वी युद्धमोर्चाबाट रूससँग प्रत्यक्ष युद्ध लड्ने सोच राख्नेछ ।
स्तोल्टनबर्गले “सन् २०२२ युरोपेली मित्रहरू र क्यानडामा थप वृद्धिको आठौँ वर्ष हुनेछ” भनेर फुर्ति झारे र आर्थिक उत्पादनको २ प्रतिशत सैन्य खर्चमा लगाउने नेटोको लक्ष्यलाई “जग ठानिने छ, छत होइन” (वा न्यूनतम् ठानिने छ, अधिकतम् होइन) भने ।
सोही दिन अमेरिकी अधिकारीहरूले युक्रेन पठाउनका लागि प्रचुर हातहतियारसहितको जलबेडाको जाँच गरे । त्यसमा नासम्स नामक मध्यमदेखि लामो दूरीको, जमिनदेखि हवाई मिसाइलको प्रतिरक्षा प्रणाली जडान गरिएको छ । यसको निर्माण रेथियोन कम्पनीले गरेको थियो ।
“युक्रेनलाई उन्नत मध्यम तथा लामो दूरीको हवाई रक्षा प्रणाली” दिनुका साथै संरा अमेरिकाले “तोप र गोलाबारी प्रतिरोधी राडार प्रणालीको लागि हतियार” पनि उपलब्ध गराउने राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले बताए ।
यसबीच नेटो गठबन्धनका सदस्यहरूले हाकाहाकी युद्धको भाषा बोल्दै छन् । आफ्नो प्रथम सार्वजनिक मन्तव्यमा सेनाप्रमुख जनरल सर प्याट्रिक सान्डर्सले बेलायती सेना रूसविरूद्ध “लड्न र विजयी हुन” तयार हुनुपर्छ भनी घोषणा गर्ने तय भएको ‘टेलिग्राफ’ पत्रिकाले जनाएको छ ।
सँगसँगै संरा अमेरिका र उसका सहयोगीहरूले रूसविरूद्ध आर्थिक नाकाबन्दी चर्काउँदै छन् । गत हप्ता जी ७ शिखर सम्मेलनका सहभागी देशहरूले रूसबाट सुनको आयातमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरे । उनीहरूले रूसले बेच्ने तेल र ग्यासको मूल्यमा सकेसम्म सीमा लगाउने योजना बनाउँदै छन् ।
सोमबार रूसले आधिकारिकरूपमा विदेशी ऋण भुक्तानी बन्द गरेको छ । रूसबाट हुने भुक्तानी प्रक्रियासँग युरोपेली भुक्तानी प्रणालीले काम गर्न नमानेपछि यस्तो गरिएको हो । रूसी अधिकारीहरूले आफूसँग भुक्तानीका लागि रकम भएको तर युरोपेली वित्तीय प्रणालीबाट अलगथलग हुन पुगेकाले कृत्रिम उपायमा निर्भर हुन बाध्य भएको दाबी गरेका छन् ।
सन् १९१८ यता पहिलोचोटि रूसले आफ्नो ऋण भुक्तानी रोकेको हो । सन् १९१७ को क्रान्तिलगत्तै बोल्शेभिक सरकारले जार सरकारको विदेशी ऋण तिर्न अस्वीकार गरेको थियो ।
औपचारिकरूपमा संरा अमेरिका र नेटोले आफूहरू रूससँग युद्धको स्थितिमा नरहेको बताउँछन् । तर, नेटोको विशाल सैन्य परिचालनले यो भनाइलाई झन्झन् अपुष्ट बनाउँदै छ ।
यो साता ‘न्युयोर्क टाइम्स’ ले अमेरिकी सेनाले युक्रेनको भुइँ तहमा गोप्यरूपमा काम गर्दै छ भनी रिपोर्ट छाप्यो । ऊसँगै कतिपय अन्य नेटो देशहरू पनि यसरी नै सक्रिय छन् भन्ने रिपोर्टमा जनाइएको छ । यद्यपि, बाइडेन र अन्य नेटो नेताहरूले यस्ता खबरलाई अस्वीकार गर्दै आएका छन् ।
‘टाइम्स’ ले लेख्यो, “बाइडेन सरकारले युक्रेनमा अमेरिकी सैन्य दस्ता तैनाथ नगर्ने घोषणा गरे तापनि केही सीआईए अधिकारीहरू युक्रेनमा क्रियाशील छन् । उनीहरूले संरा अमेरिकाले जम्मा गरेको प्रचुर खुफिया जानकारी युक्रेनी सेनासँग साटासाट गर्दै छन् ।”
सो अखबारले बेलायत, क्यानडा, फ्रान्स र लिथुआनियाका दर्जनौँ विशेष सैन्यदलहरू युक्रेनमा सक्रिय रहेको बतायो । “युक्रेनलाई सघाउने गोप्य प्रयास भइरहेको तथा वासिङटन र उसका मित्रहरूले यसको लागि जोखिम मोलेको देखाउने प्रमाण प्राप्त भएको छ ।”
‘टाइम्स’ को रिपोर्ट युद्धमा अमेरिकी संलग्नता जनाउने दस्तावेजी प्रमाणको पछिल्लो उदाहरण मात्र हो । यसै वर्षको आरम्भमा ‘एनबीसी’ र अन्य प्रचारमाध्यमले युक्रेनमा रूसी जनरलहरूलाई तारो बनाउँदै मार्ने र कालो सागरमा रूसको जलबेडा मोस्कालाई डुबाउने कार्यमा संरा अमेरिका प्रत्यक्ष जोडिएको रिपोर्ट बाहिर ल्याएका थिए ।
यी रिपोर्टअनुसार युक्रेनी कमान्डरहरूलाई भूउपग्रहबाट लिइएका गुप्तचरी सूचनाहरू दिइन्छ । “गठबन्धनका देशहरूले उपलब्ध गराएका ट्याबलेट कम्प्युटरहरूबाट उनीहरूले ती जानकारी लिन सक्छन् । यी ट्याबलेटमा रणभूमिको नक्साङ्कन गर्ने एप्स हुन्छ । रूसी सैनिकहरूलाई तारो बनाउँदै मार्न युक्रेनीहरूले यही एप्सको प्रयोग गर्छन् ।”
युद्धमा संरा अमेरिका संलग्नता अत्यन्त ठूलो भए पनि युक्रेनी क्षति बढ्दै छ । भियतनाम युद्धमा अमेरिकी लडाकूहरूको मृत्युदरको हाराहारीमा मृत्युदर छ । कोही बेला युक्रेनी सेनातर्फ दैनिक ५ सय देखि १ हजारसम्म हताहत हुने गरेको छ ।
रूसले हाल पूर्वी युक्रेनको डोनबास क्षेत्रको ९० प्रतिशतभन्दा बढी भूभागमा नियन्त्रण गरेको छ । यो युक्रेनी भूभागको पाँच भागको एक भाग हो । तर, रणमैदानमा घातक पराजय बेहोरिरहे पनि संरा अमेरिका र नेटो गठबन्धनले यस युद्धमा आफ्नो संलग्नता अचाक्ली बढाइरहेका छन् । जति नै युक्रेनीहरू मरे पनि वा महत्वपूर्ण सामाजिक कार्यक्रमहरूमा खर्च कटौती गरेर खरबौँ डलर खर्च गर्नु परे पनि उनीहरूलाई सुर्ता छैन ।
रूसी अधिकारीहरूले नेटो र रूसबीच खुला युद्ध टार्न नसकिने देख्दै छन् । गत हप्ता रूसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले भने :
“सोभियत सङ्घविरूद्धको युद्धको नाममा हिटलरले युरोपका धेरै देशहरू कुल्चिए ।… नेटोसँग मिलेर युरोपेली युनियनले अहिले आमनेसामने हुन र अन्ततः रूसी महासङ्घसँग युद्ध गर्न अर्को आधुनिक गठबन्धन बनाउँदै छ ।”
आकार बढाइरहेको वर्तमान द्वन्द्वको सार घातक छ । यसबाट युक्रेनमा चलिरहेको छद्म युद्धको छाल छिट्टै युरोपभरि फैलिने र त्यसले दोस्रो विश्वयुद्धयताकै सबैभन्दा घातक विश्वव्यापी सैन्य द्वन्द्वको ढोका खोल्ने सम्भावना छ । यस यथार्थबाट कामदार वर्गले छिटोभन्दा छिटो वर्तमान सङ्कटमा पाइला चालिहाल्नुपर्ने खण्ड आइपरेको स्पष्ट हुन्छ । युद्धविरूद्ध सङ्घर्ष गर्नुका साथै बढ्दो महँगी र प्रजातान्त्रिक हकअधिकारहरूमाथिको प्रहारविरूद्ध सङ्घर्ष गर्न एकजुट हुनुपर्ने टड्कारो आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *