भर्खरै :

कमाउनकै लागि मन्त्री हेरफेर !

शासक दलका नेताहरू पालैपालो मन्त्री बनाएर र सांसदहरूको असन्तोषलाई शिथिल पार्न मन्त्री फेर्दै छन् । दलको शक्ति सन्तुलन मिलाउन मन्त्रीहरू हेरफेर गरिएका छन् । चार–पाँच महिनाको लागि बनेका मन्त्रीले के काम गर्लान् ? बजेट पास गर्दा एउटा मन्त्री र बजेट पास भएपछि अर्को मन्त्री बनेपछि काम गर्न गा¥हो हुन्छ । के नयाँ मन्त्रीहरू बजेट कार्यान्वयन गर्न होइन सेवा–सुविधा पाउन, मन्त्रीको सूचीमा दर्ता गर्न र पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याएर आफ्ना कार्यकर्ता तथा आसेपासे पोस्न बनेका हुन् ?
देशमा धेरै मन्त्री भए, मन्त्रीहरूले अकुत सम्पत्ति पनि कमाए । पटक–पटक उही मन्त्री भए । तर, कुनै पनि मन्त्रीले यो काम ठीक गरे भनी जनताले भन्ने मौका पाएका छैनन् । मन्त्रीहरू के के योजना बुन्छन् र कमिसनमा भुल्छन् । उनीहरू जनताका समस्या देख्दैनन् । सरकार बिचौलिया र माफियाहरूको घेरामा छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा बिचौलियाको घुसपैठ भएको खबर सार्वजनिक भयो र त्यही कारण उनले राजीनामा दिए । बजेट सार्वजनिक गर्न लागेको पूर्वसन्ध्यामा छिरेको बिचौलियाको घटना हेर्दा सामान्यजस्तो हुन्छ । तर, त्यसभित्रको नियत ठीक छैन । बिचौलियाहरूको कारण करमा हेरफेर भयो भने देशमा अरबौँ अरब बराबरको रकम घाटा हुन्छ । यसले विकासमा बाधा पु¥याउँछ र जनजीवनमा असर पार्छ । त्यसभित्र आर्थिक लाभको कुरा पनि हुन्छ । मन्त्रीहरू यसरी किन फस्छन् र अकुत सम्पत्ति कमाउँछन् ? नेपालको बजेट इतिहासमा यो एक कलङ्क रहनेछ । यसले मन्त्री र दलको मात्र होइन देशकै बदनाम हुन्छ । देश र जनताको सेवा गर्ने भनी राजनीति गरेका नेता र मन्त्रीहरू किन कमिसनमा भुल्छन् ? सत्तासीन दलका नेता र मन्त्रीहरू कहिले सच्चिने ? जनताको सेवालाई सर्वोपरि ठान्नुपर्ने नेताहरू रातारात सात पुस्ताको निम्ति पैसा कुम्ल्याउन लागेका छन् । यो देशकै दुर्भाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *