भर्खरै :

“क्यान्सर रोग उपचारका लागि गुणस्तरीय औषधि व्यवस्था गर्नुपर्छ”

भक्तपुर २५, असार । नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको निधनप्रति शोक प्रकट गर्न नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नपा वडा नं १, दुवाकोट समितिले शनिबार बेँसीटोलमा श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले विदेशमा उत्पादन भएका क्यान्सर रोगका गुणस्तरीय औषधि आयातको निम्ति नेपालको औषधि व्यवस्था विभागले अनुमति नदिएको कारण क्यान्सर रोगका बिरामीहरूले समयमा उपचार नपाएकोले दुःखद भइरहेको उल्लेख गर्दै यसमा सरकार नै दोषी भएको बताउनुभयो । उहाँले औषधि उत्पादन, आपूर्ति र वितरणको व्यवस्था नेपालको सरकारले नै गर्नु जरुरी रहेकोमा जोड दिनुभयो ।
पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सर्वसाधारण जनताको जस्तै आफ्नो जीवन सङ्गिनीको उपचार पनि नेपालमै गराउनुभएको उल्लेख गर्दै शासक दलका नेता कार्यकताहरूको उपचार राज्यकोष दुरुपयोग गरी विदेशमा भइरहेको र नेपालका अस्पतालहरूलाई पूर्वाधार सम्पन्न नबनाएकोमा सरकारहरूको आलोचना गर्नुभयो ।
नेपाली नागरिकता बस र सिनेमाको टिकटजस्तै वितरण गर्न नहुने उल्लेख गर्दै आमा र बुबा दुवै वंशज नागरिक भएकाका सन्तानलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने र वंशजको नागरिकले मात्र निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग–व्यापार गर्न पाउने कानुनी प्रावधान जरुरी भएको सांसद सुवालले चर्चा गर्नुभयो । उहाँले जोड दिनुभयो, “नेपाल–भारत खुला सीमा बन्द नभएसम्म नेपालको नागरिकता समस्या समाधान हुनेछैन । नेपाली सेनाले पनि खुला सीमा बन्द भए सम्बन्ध बलियो हुने बताएको छ ।”
आव ०७९÷८० को बजेट बनाउँदा अर्थमन्त्रीले बिचौलिया प्रवेश गराएर नेपाली काङ्ग्रेसकै सांसद, उद्योगी–व्यापारीलाई फाइदा हुने गरी करको दर हेरफेर गराएको उल्लेख गर्दै २००७ सालपछि भारतीय राजदूत मन्त्रिमण्डलमा उपस्थित भएर निर्देशन दिएको घटना यसपालि बजेट निर्माणमा दोहोरिएको उल्लेख गर्दै सांसद सुवालले यसमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि संलग्न भएको समाचारले देशको सार्वभौमिकता नै डुब्ने संशय पैदा भएको तर्फ सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शासक दलहरूले नै राजनीतिलाई लुटपाटमा परिणत गरिरहेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले शासक दलका कार्यकर्ताहरूले देश र जनताको सेवा गर्नु नै राजनीति भएको बुझ्न नसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भजिसका उपाध्यक्ष न्हुछेभक्त फोजूले सङ्कटको बेलामा महिलाहरूलाई राजनैतिकरूपले सचेत र सङ्गठित पार्न शोभा प्रधानले खेल्नुभएको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।
“शिक्षण पेशामा लाग्नुभएकी शोभा प्रधान शिक्षकहरूको हकहितको निम्ति पनि अहोरात्र खटिनुहुन्थ्यो” उपाध्यक्ष फोजूले चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ चानपा १, दुवाकोटका सानु बास्तोलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटा, नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष नारायणभक्त न्हेमाफुकी र विद्यार्थी अकिशा आचार्यले पनि श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *