भर्खरै :

शोभा प्रधानको जीवन, व्यक्तित्व र योगदानको चर्चा

भक्तपुर, ३१ असार । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका कोषाध्यक्ष, प्रेरणादायी शिक्षिका, समर्पित कार्यकर्ता शोभा प्रधानको श्रद्धाञ्जली कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
नेक्रामसङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भएको उक्त कार्यक्रममा वक्ताहरूले शोभा प्रधानको जीवन, व्यक्तित्व र योगदानबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश र जनतामा समर्पित हुनेहरूलाई जनताले प्रेम गर्नुका साथै सदा सम्झिरहने बताउनुभयो ।
व्यक्तिगत जीवनलाई महत्व नदिई जनताको सेवामा लाग्नुभएका शोभा भाउजू जनताको हृदयमा अमर रहनेछ, उहाँले भन्नुभयो ।
एकपटक क्यान्सर रोगलाई पराजीत गर्नुभएका शोभा भाउजूले त्यस रोगविरूद्ध जनचेतना अभियानमा एक अभियन्ताको रूपमा सक्रिय हुनुभएको समयको केन्द्रीय सदस्य प्रजापतिले स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिक गतिविधिमा शोभा प्रधानको क्रियाशीलता र श्रमिक वर्गीय महिला आन्दोलनमा प्रधानको भूमिका र योगदानबाट हामीले शिक्षा लिनुपर्छ ।”
प्रमुख प्रजापतिले भन्नुभयो, “शोभा प्रधानले छोटो तर, सार्थक जीवन बाँच्नुभयो । भाउजूको जीवन, क्रान्तिकारी विचार र भद्र व्यवहारबाट हामीले सिक्न जरूरी छ । श्रमिक वर्गका महिलाहरूको सक्रियता र वैचारिक सुस्पष्टताले मात्र समाज साँचो अर्थमा अगाडि बढ्छ । नेपालको कामदार वर्गीय महिला आन्दोलनमा शोभा प्रधानले पु¥याउनुभएको योगदान सराहनीय छ ।”
केन्द्रीय सदस्य प्रजापतिले शोभा प्रधानको सहनशील, धैर्य, उच्च आत्मबलसहित जीवनका हरेक अप्थ्याराहरूसँग सामना गर्ने, क्यान्सरजस्तो डरलाग्दो रोगसँग हाँसीहाँसी सामना गर्ने व्यवहार प्रत्येक महिलाहरूको निम्ति प्रेरणाको स्रोत हुनेछ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शोभा प्रधानलाई प्रकाशमा नआई पर्दा पछाडिबाट पार्टीलाई योगदान गर्ने सच्चा पार्टी कार्यकर्ताको रूपमा सम्झनुभयो ।
उहाँले भन्नुभयो, “नामको पछाडि कहिल्यै नलाग्ने शोभा प्रधानले पार्टी कार्यकर्ताहरूको निम्ति असल अभिभावक, शिक्षकहरूका निम्ति आदर्श व्यक्तित्व र महिला कार्यकर्ताको निम्ति प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।”
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षा क्षेत्र र शैक्षिक आन्दोलनमा शोभा प्रधानको योगदानबारे चर्चा गर्नुभयो ।
“शोभा प्रधानले शिक्षण पेसाजस्तो चोखो पेसा अँगाली विद्यार्थीका निम्ति दोस्रो आमाको भूमिका निर्वाह गर्नुभयो । शैक्षिक क्षेत्रको विकृति हटाई भक्तपुरको शिक्षा गुणस्तरीय बनाउन अहोरात्र खट्ने शोभा प्रधानले कहिल्यै सुविधाको कुरा गर्नुभएन । बरू, विपत्तिमा परेका मानिसहरूलाई सघाउन चन्दा सङ्कलन गर्ने, रोगसँग लड्न आवश्यक कोष खडा गर्ने पुण्य कार्य गर्नुभयो”, उहाँले भन्नुभयो ।
नेक्रामसङ्घका केन्द्रीय सदस्य रोशनमैँया सुवालले अक्षरसमेत नचिनेका भक्तपुरका महिलाहरूलाई साक्षर बनाउन प्रौढ कक्षा सञ्चालनमा शोभा प्रधानको अगुवाइ र २०४५ सालको ‘भक्तपुर काण्ड’ मा पार्टीलाई जोगाउन प्रधानले पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभयो ।
क्यान्सर रोग विशेषज्ञ डा. आरती शाहले शोभा प्रधानले २०५६ सालमा सामना गर्नुपरेको स्तन क्यान्सर र क्यान्सरविरूद्ध उहाँको प्रतिरोध लडाइँबारे सङ्क्षिप्तमा चर्चा गर्दै उच्च मनोबल र आत्मबलका कारण प्रधान छिट्टै सक्रिय जीवनमा फर्कनुभएको बताउनुभयो ।
डा. शाहले स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुन नदिन विशेषगरी महिलाहरूले अपनाउनुपर्ने सजगताबारे चर्चा गर्नुभयो ।
आयोजक समितिका संयोजक सृजना सैँजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा योगेन्द्रमान बिजुक्छेँ, सुवेग बिजुक्छेँ, गङ्गा वैद्यलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा शोभा प्रधानको सङ्क्षिप्त परिचयसहितको वृत्तचित्र प्रदर्शनी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *