भर्खरै :

बाइडेनको मध्यपूर्व भ्रमणमा ट्रम्पकै नीतिहरूको छाया

(आफ्नो कार्यकालको १८ औँ महिनामा राष्ट्रपति जो बाइडेनले मध्यपूर्वको भ्रमण गर्ने निधो गरे । तेलले उनलाई त्यता तानेको देखिन्छ । एक महिनादेखि उनले साउदी अरबलाई रिझाइरहेका थिए । किनभने, निर्वाचनको प्रचारका क्रममा आफूले साउदीहरूलाई ‘मूल्य चुकाउन लगाएर तिनको नीच हैसियत देखाइदिने’ बताएका थिए । त्यतिबेला उनले ‘साउदी अरबको वर्तमान सरकारसँग थोरै मात्र सामाजिक शाख छ’ भनेका थिए ।
प्रस्तुत छ बाइडेनको पछिल्लो मध्यपूर्व भ्रमणको सेरोफेरोमा रहेर मध्यपूर्वको राजनीतिका जानकार एवम् प्यालेस्टाइनी आन्दोलनका समर्थक विद्वान नोम चोम्स्कीसँगको कुराकानी । अन्तर्वार्ताकार सीजे पोलिक्रोनिउ राजनीतिक अर्थशास्त्री, अध्येता, लेखक र पत्रकार हुनुहुन्छ । – सम्पादक)
पोलिक्रोनिउ : संरा अमेरिकाको विदेशनीतिको सवालमा जो बाइडेन ट्रम्पभन्दा फरक देखिएनन् । बाइडेन सत्तामा आएको केही महिनापछि नै तपाइँले यो कुरा औँल्याउनुभएको थियो । पत्रकार जमाल खशोगीको हत्याबारे बोल्दै राष्ट्रपतिको उम्मेदवारीकै क्रममा बाइडेनले साउदी अरबलाई ‘नीच’ राज्य भनेका थिए । तर राष्ट्रपतिको रूपमा अहिले उनले त्यहाँका शासक र हत्यारा नेता मोहम्मद बिन सलमानलाई रिझाउन खोज्दै छन् । साउदी अरबको बाइडेनको भ्रमणको उद्देश्य के हो ?
चोम्स्की : ‘वासिङटनपोस्ट’ का पत्रकारको विभत्स हत्या गलत नै थियो  । टाइम्स पत्रिकामा वर्ष पुरुष भनेर छनोटमा पर्दा सन् २०१८ मा ‘सत्यको अभिभावक’ भनेर जयजयकार गरिएका व्यक्तिको हत्या साँच्चिकै गलत थियो । त्यो हत्या असावधानीपूर्वक गरिएको थियो र राम्ररी लुकाइएको पनि थिएन ।
मानव अधिकार उल्लङ्घनमा जतिसुकै पर गए पनि र गइरहे पनि ‘साउदी अरब’ नामक जहानियाँ राजतन्त्रसँगको संरा अमेरिकाको सम्बन्ध सदा सुमधुर रहेको छ । दोस्रो विश्व युद्धताका ससानो युद्ध लडेर संरा अमेरिकाले बेलायतको हातबाट खोसेको यो उपहारको हकमा सुमधुर सम्बन्ध नौलो होइन । सन् १९४० को दशकमा यो उपहारबारे अमेरिकी विदेश मन्त्रालयले भनेको थियो, “यो सामरिक शक्तिको एउटा विस्मयकारी स्रोत हो । विश्व इतिहासमा महान् भौतिक उपहारमध्ये एक हो ।… विदेशी लगानीको क्षेत्रमा सम्भवतः विश्वकै सबैभन्दा धनी आर्थिक उपहार हो ।” अमेरिकी उच्च तहमा मध्यपूर्वलाई राष्ट्रपति आइजनहावरको भाषामा ‘सामरिकरूपमा विश्वकै सबैभन्दा महत्वपूर्ण क्षेत्र’ मानिएको थियो । गएका ८० वर्षमा यो मूल्याङ्कनमा अलिकति तलमाथि भए पनि सार उही रह्यो ।
यस्तो प्रभावशाली तहसम्म नउक्लेका देशहरूको हकमा पनि यो कुरा सत्य साबित भएको छ । आफूलाई सजिलो हुँदा संरा अमेरिकाले नियमितजसो आततायी शासकहरूलाई तिनको शासनको अन्तिम घडीसम्म बलियो साथ दिँदै आएको छ । जस्तो मार्कोस, दुभालियर, चाउचेस्को, सुहार्तो आदि । आदेश उल्लङ्घन गरेर (वा आदेश नबुझेर) कुवेतमाथि हमला नगर्दासम्म सद्दाम हुसेनजस्ता अन्य धेरै खलपात्रहरूलाई पनि संरा अमेरिकाले बलियो साथ दिएको थियो । निश्चय नै संरा अमेरिकाले आफ्ना साम्राज्यवादी पूर्खाहरूको बाटो पछ्याइरहेको छ । यसमा नौलो कुरा केही छैन । उसको परोपकारी अभीष्टको गफ पनि नयाँ होइन ।
अभीष्ट वास्तवमै परोपकारी भए पनि किसिन्जरको जस्तो मानवद्वेष (वा कथित ‘व्यवहारवाद’) राखेका अनेक खुला उदाहरणहरू छन् । रोबर्ट पास्टरले एउटा शिक्षाप्रद उदाहरण दिएका छन् । निकारागुवाको सोमोजा सरकारलाई अचाहेरै पनि कार्टरको मानवअधिकारवादी सरकारले किन समर्थन गर्नुपरेको थियो र त्यो असम्भव जस्तो देखिएपछि अमेरिकी तालिमप्राप्त नेसनल गार्ड मात्र भए पनि राख्नुपरेको थियो भनेर उनले व्याख्या गरेका छन् । जब कि त्यसले ‘शत्रु देशप्रति देखाइने क्रुरता’ देखाउँदै जनताको संहार गरेको थियो । त्यतिबेला झन्डै ४० हजार निकारागुवाली जनता मारिएका थिए ।
पास्टर जिम्मी कार्टरको सरकारले ल्याटिन अमेरिकामा गरेका गतिविधिका जानकार थिए र एक सक्कली उदारवादी विद्वान थिए । उनले अत्यन्त इमानदारीका साथ पश्चातापपूर्ण भनाई राखेका थिए । उनले हरेक घटनापछाडिका जायज कारणहरू पनि बताएका थिए । जस्तो उनले भनेका थिए, “संरा अमेरिकाले निकारागुवा र यस क्षेत्रका अन्य देशहरूमाथि नियन्त्रण गर्न चाहन्थेन । तर, यहाँको घटनाक्रम आफ्नो नियन्त्रणबाहिर गएको पनि देख्न चाहन्थेन । निकारागुवालीहरूले स्वतन्त्रतापूर्वक काम गरेको हेर्न चाहन्थ्यो । तर, त्यसो गर्दा अमेरिकी स्वार्थमा हानी नहोस् भन्ने उसको इच्छा थियो ।”
जसको अर्थ हुन्छ– मनैदेखि तिमी स्वतन्त्र भएको हेर्न चाहन्छौँ, तर स्वतन्त्र भएर तिमीले हामीले चाहेझैँ गर्नुपर्छ ।
साउदी अरबको कुरा पनि त्यही हो । तिनीहरू अलि नम्र भए हुन्थ्यो भन्ने हामीलाई लाग्छ, तर मुख्य कुरा सुरुमै हुन्छ ।
बाइडेनको भ्रमणमा पनि सुरुमा मोहम्मद बिन सलमानलाई उत्पादन बढाउनका लागि फेरि पनि दबाब दिइनेछ । अमेरिकामा ग्यासको अचाक्ली मूल्य कम गर्न सुरुमा यही नै कुरा उठाइने अनुमान गर्न सकिन्छ । अर्को तरिका पनि हुनसक्छ । जस्तो, नाफाको आहालमा डुबिरहेका जीवाष्म इन्धन उद्योगका मालिकहरूमाथि भसक्कै कर लगाउन सकिन्छ । त्यसबाट उठेको करलाई विगत ४० वर्षदेखि नवउदारवादी वर्गयुद्धले थिलथिलो परेका मानिसहरूलाई राहत दिन सकिन्छ । यी ४० वर्षमा झन्डै ५०० खर्ब डलर शीर्ष १ ! धनाढ्यहरूको खल्तीमा पुगेको छ । ‘राजनीतिकरूपमा यो असम्भव’ विकल्प हो ।
धनाढ्यहरूलाई राजनीतिकरूपमा असम्भव लाग्ने अर्को विकल्प पनि हुनसक्छ । जीवाष्म इन्धनजस्तो विषको आपूर्तिमा भारी कटौती गरेर सम्भावित महाविनाश टार्ने प्रयास गर्न सकिन्छ । आफ्ना सन्तान दरसन्तानको लागि एउटा गतिलो संसार छोडेर जान सकियोस् भनी इच्छा राख्नेहरूले मात्र यस्तो सोच्छन् भन्ने पनि छैन । खासमा समय छोटो छ ।
बाइडेनको मध्यपूर्व भ्रमणका अन्य आयाम पनि छन् । एउटा उद्देश्य ट्रम्पको भव्य भूराजनीतिक उपलब्धिलाई सुदृढ पार्नु हो । अब्राहम समझदारीलाई पक्को बनाउनु हो । यस समझदारीले मध्यपूर्वी उत्तर अफ्रिका (मिना) क्षेत्रका अति क्रुर र आपराधिक राज्यहरूसँग औपचारिक गठबन्धन बनाएर सम्बन्ध विस्तार गरेको थियो । शान्ति र समृद्धिमा ठूलो योगदान गरेको भनेर यस समझदारीको जयजयकार भएको थियो । जब कि यो समझदारीबाट सबैजना खुसी थिएनन् । उदाहरणको लागि अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै सहारा मरुभूमिका साह्रवी जातिका जनतालाई मोरक्कोका अधिनायकहरूको हातमा सुम्पेर मोरक्कोसँग समझदारी गरिएको थियो । यो अमेरिका र उसका साथीहरूले धेरै अघिदेखि रुचाउँदै आएको शैली पनि हो । ‘अन्तर्राष्ट्रिय विधि अनुसारको शासन व्यवस्था’ को नाममा यस्तो काम हुँदै आएको छ ।
साह्रवी प्यालेस्टाइनी र सिरियाका द्रज जातिको स्थितिमा पुगेका छन् । सुरक्षा परिषद्को बहुमतको धज्जी उडाउँदै इजरायलले ती जातिहरूको भूमि हत्याएको छ । अहिले यसलाई अमेरिकाले अनुमोदन गरिसक्यो । साह्रवीहरूले अरू ‘अनागरिकहरू’ सँग पनि काँधमा काँध मिलाउन सक्छन् । औपचारिकरूपमा नक्सामा नगाभिएका क्षेत्रमा समेत इजरायलले बर्बर र अवैधरूपमा प्यालेस्टाइनी ‘अनागरिकहरू’ लाई सास्ती दिएको छ ।
यही भाषामा नभने तापनि बाइडेनको भ्रमणका उपलब्धिहरूमध्ये यी कूटनीतिक विजयहरूको हर्षबढाइँ हुनेछ ।

पत्रकार खशोगीको हत्या आरोप लागेका साउदी राजकुमार मोहम्मद बिन सलमानसँग हात मिलाउँदै अमेरिकी राष्ट्रपति जो बाइडेन


पोलिक्रोनिउ : इजरायल मात्र त्यस्तो देश हो, जहाँ ट्रम्प बाइडेनभन्दा लोकप्रिय छन् । इजरायली पूर्व प्रम बीबी (बेन्जामिन) नेतान्याहुले पटकपटक बाइडेनलाई अपमानित गरेको कुरा बिर्सन सकिन्न । फेरि पनि अमेरिकी समर्थन दिने र दुई देशबीच यस क्षेत्रमा सहकार्य बढाउने विषयबाहेक बाइडेनको इजरायल भ्रमणको अर्को उद्देश्य हुन सक्ला र ? फेरि मध्यपूर्वको भ्रमण गर्नुअघि नै बाइडेन सरकारले प्यालेस्टिनी मूलकी अमेरिकी पत्रकार शिरीन अबु अक्लेहको हत्यामा इजरायलको संलग्नता लुकाउन खोजेको थियो ।
चोम्स्की : खशोगीको मुद्दामा जस्तै अबु अक्लेहको हत्यामा लापरबाही भएको देखिन्छ । हत्या मात्र नभई त्यो नियोजित हत्या हो । टिभी क्यामेराहरूकै अगाडि इजरायली सेनालाई अन्त्यष्टि कर्म बिथोल्न र मलामीहरूमाथि हातपात गर्न दिनु र लास नै भुइँमा राख्न बाध्य पार्नु बुद्धिमत्ता होइन । हाकाहाकी यसो गर्नुले इजरायल दक्षिणपन्थतिर ढल्केको र मालिकले आफूले जे गरे पनि स्वीकार्नेछ भन्नेमा ढुक्क रहेको देखाउँछ । यो विश्वास गलत रहेनछ भन्ने कुरा ट्रम्पको शासनकालमा पुष्टि भयो किनभने ट्रम्पले चार वर्षसम्म इजरायललाई उपहार दिनुका साथै प्यालेस्टाइनीहरूलाई सकेसम्म ठटाए ।
मैले मत सर्वेक्षण त हेरेको छुइन, तर ट्रम्प हङ्गेरियाली ‘अनुदार प्रजातन्त्र’ मा लोकप्रिय भए आश्चर्य नमाने हुन्छ । ट्रम्पले त्यो ‘प्रजातन्त्र’ को प्रशंसा गरेका थिए र अति दक्षिणपन्थी सोचका मिडिया सेलिब्रिटी टुकर कार्लसनको पूजा नै गरेका थिए । प्रम ओर्बानको कार्यकालमा हङ्गेरी इजरायलको अझ घनिष्ट मित्र बनेको छ । जातिवादी सोच र अभ्यासका साथै पश्चिमी देशहरूका नरम उदारवादीहरूको समर्थन नपाउँदाको दुःख यी दुवै देशबीचको घनिष्टताको आधार हो ।
इजरायलप्रतिको अप्रतीम मायाका कारण बाइडेनले स्वदेशमा कत्तिको जनसमर्थन पाउलान् भन्ने कुरा शङ्काको विषय हो । इजरायलको आपराधिक व्यवहार ढाकछोप गर्न नमिल्ने भएपछि बाइडेनको कदम पहिलेजस्तो उनका समर्थकहरूबीच त्यति लोकप्रिय छैन । इजरायलप्रतिको पूर्ण समर्थन एभेन्जेलिक र अन्य दक्षिणपन्थीहरूप्रतिको समर्थन हो । र, यिनीहरूले बाइडेनलाई निर्वाचित राष्ट्रपति मान्दैनन् । यीमध्ये केहीले बाइडेन र अन्य शीर्ष डेमोक्रेट नेताहरूले बालबालिकालाई यौन हिंसाको निम्ति तयार गर्छन् भन्ठान्छन् । तैपनि, इजरायलको समर्थन गर्दैगर्दा बाइडेनले देशमा केही सफलता हात पार्न सक्छन् । विदेश नीति हाँक्ने गिद्धे तत्वहरूले इजरायल–साउदी गठबन्धनमार्फत बाइडेनले इरानलाई तह लगाउन कटिबद्ध छन् भनी बुझ्न सक्छन् । चल्तीको नीति यही हो ।
बाइडेनले यो गठबन्धनलाई बलियो बनाउन सक्छन् । तर, यसको लागि ती देशलाई उनकै सहयोग चाहिन्छ भन्ने छैन । बाहिर जे भने पनि यो गठबन्धन सन् १९६७ यता बलियो नै छ ।
सारमा भन्छु, त्यो बेला अरब विश्वमा तीव्र द्वन्द्व थियो । वास्तवमा साउदीलाई केन्द्र बनाई क्रियाशील इस्लाम र इजिप्टलाई केन्द्र बनाई क्रियाशील धर्मनिरपेक्ष पक्षबीच यमनमा युद्ध चल्दै थियो । बेलायतले जस्तै संरा अमेरिकाले इस्लामी लडाकुहरूलाई सघायो । यस्तो समूह साम्राज्यवादी दबदबाको लागि कम खतरा हुने ठानेर यस्तो सहयोग गरिएको थियो । त्यो युद्धमा साउदी अरबलाई जिताएर इजरायलले द्वन्द्व सामसुम पा¥यो । त्यसै बेलादेखि इजरायललाई संरा अमेरिकाले दिने सहयोग चरमचुलीमा पुगेको हो । मध्यपूर्व रणनीतिको अङ्गको रूपमा त्यो सहयोग अझै पनि कायम छ । यो रणनीतिका तीन आधार स्तम्भ थिए – इजरायल, साउदी अरब र (तत्कालीन शाहकालीन) इरान । झट्ट हेर्दा यी तीनैवटा देश युद्धमा थिए । यथार्थमा यिनीहरूको भित्री साँठगाँठ थियो । इजरायल र इरान अझ घनिष्ट थिए ।
अब्राहम समझदारीले गठबन्धनलाई औपचारिक तहमा उकास्छ । अहिले पात्रहरू अलि फेरिएका छन् । साझा स्वार्थहरूको जगमा यो गठबन्धनले मजाले काम गरेको दखिन्छ । उनीहरूको मेलजोलमा कुनै शङ्का छैन । बरु, अमेरिकी समर्थन जनाउने बाहेक बाइडेनले बढी गर्न सक्लान् भन्नेमा शङ्का छ ।

पोलिक्रोनिउ : प्यालेस्टाइनी नेताहरूले बाइडेनलाई भेट्नुपर्ने केही कारणहरू छन् कि ? के देख्नुहुन्छ ? अमेरिकी राष्ट्रपतिसँग फोटो खिचाउनुबाहेक तिनले अन्य उपलब्धि हासिल गर्न सक्लान् र ?
चोम्स्की : नसके आक्रामक प्रचारबाजीले ठाउँ पाउनेछ । सकसमा परेका प्यालेस्टाइनीहरूका लागि अहिलेलाई यो विकल्प अनावश्यक हो । भेट मात्र गर्नाले केही हात लाग्नेछैन, तर यो कम हानिकारक विकल्प हुने देखिन्छ ।
यो एउटा सानो प्रश्न हो । प्यालेस्टाइनको आशा अर्कै पाटोमा छ ।
अनौठो लाग्छ, सन् १९६७ मा इजरायलले गरेको सैन्य प्रदर्शनयता उसलाई संरा अमेरिकाले ठूलो आकारमा अभूतपूर्व सहयोग गर्दै आएको छ । तैपनि प्यालेस्टाइनको आशा संरा अमेरिकामै निर्भर छ । इजरायली गतिविधिमा पहिलेपहिले हुने ठोस समर्थनमा कताकति धाँजा फाटेको छ । उदारवादी जनमत प्यालेस्टाइनी अधिकारको पक्षमा ढल्किँदै छ । यस्तो सोच राख्ने यहुदीहरूको सङ्ख्या पनि बढ्दै छ । नोर्मन फिङ्केल्सटिनले एक दशकअघि नै यो कुरा दस्तावेजीकरण गरेका छन् । खुला आकाशमुनि गाजा क्षेत्रका २० लाख बासिन्दामाथि हुने बर्बर अत्याचारले यातनागृहको झल्को दिन्छ र यसले नाटकीय प्रभाव पारेको छ ।
यो हेरफेरले अझै पनि (अमेरिकी) नीति प्रभावित गर्न सकेको छैन । तर, इजरायलले झन् दक्षिणपन्थी पाइलाहरू चाल्दै गएमा र उसले गर्ने दैनिक अपराधहरू ढाकछोप गर्न वा बहानाबाजी गर्न नसकिने हदसम्म चुलिएमा यो असन्तोष मुखरित हुनसक्छ । प्यालेस्टाइनीहरूले आफ्ना भित्री मनमुटावहरू मेट्दै गए र अमेरिकाभित्र पनि प्रभावशाली ऐक्यबद्धता आन्दोलनहरू उठे भने परिवर्तन हुन सक्छ । जनस्तरमा र सरकारी नीतिको स्तरमा यस्तो परिवर्तन सम्भव छ ।
यसको पृष्ठभूमि पनि छ । सन् १९७० को दशकमा इजरायलले सुरक्षाको नाममा भूमि विस्तार गर्ने निर्णय ग¥यो । बढ्दो अन्तर्राष्ट्रिय समझदारी अनुसार शान्तिपूर्ण समाधानको बाटो छोड्यो । यसले गर्दा ऊ अमेरिकानिर्भर हुन थाल्यो र यसले गर्दा अमेरिकी मागहरूसामु लम्पसार पर्नुप¥यो । ओबामाभन्दा अगाडिका सबै अमेरिकी राष्ट्रपतिहरूले यस्ता मागहरू राखेका थिए । नचाहेरै पनि इजरायल आज्ञाकारी बन्नुप¥यो । संरा अमेरिकी सरकारले आफ्नो नीतिमा उल्लेख्य परिवर्तन गरेको खण्डमा इजरायली नीतिहरूमा पनि अनिवार्य परिवर्तन हुनेछ ।
त्यो नै एउटा कष्टकर उद्देश्य प्राप्तितिरको यात्रा बन्नसक्छ । पूर्व प्यालेस्टाइनी भूभागमा न्यायपूर्ण शान्ति ल्याउने उपाय हुनसक्छ । यसले त्यहाँ भेगीय समझदारी पनि ल्याउनसक्छ । त्यो समझदारीमा दमनकारी शक्ति संरचनाहरूको स्वार्थ प्रतिविम्बित हुनेछैन । बरु, त्यस भेगका जनताको हित झल्किनेछ, जसले सुन्दर भविष्यको निम्ति निरन्तर सङ्घर्ष गर्दै आएका छन् ।
(‘ट्रयुथ आउट’ बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *