अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सङ्घीय गणतन्त्रात्मक व्यवस्था पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्था नेपाली काङ्ग्रेसको लक्ष्य हो । देशमा पुँजीवादी व्यवस्था भइसकेको हुँदा अब नेकाले व्यवस्था फेर्नको लागि कुनै आन्दोलन गर्नुपर्दैन । यसै व्यवस्थामा रहेर नेकाले शासन चलाउन खोज्छ । तर, कम्युनिस्टहरू यो व्यवस्थालाई सधैँ निरन्तरता दिँदैनन् । उनीहरू पुँजीवादी व्यवस्था फालेर समाजवादी गणतन्त्र ल्याउन चाहन्छन् । उनीहरूको आन्दोलन समाजवादी गणतन्त्रको निम्ति हुनेछ । कम्युनिस्टहरू शोषणरहित समाज स्थापना गर्न चाहन्छन्, भ्रष्टाचारमुक्त समाज चाहन्छन् । समाजवादी गणतन्त्र सङ्घर्षविना सम्भव छैन । तर, नेपालका ठुला र सत्तामा रहेका कम्युनिस्टहरू अब देशमा कुनै आन्दोलन गर्न नपर्ने बताउँछन् । यही पुँजीवादी व्यवस्थामा रहेर जनताका इच्छा पूरा गर्ने अर्ती दिन्छन् ।
निरङ्कुश राणा शासनको अन्त्य सङ्घर्षबाटै भएको थियो । पञ्चायती व्यवस्थाको अन्त्य पनि आन्दोलनबाटै भएको थियो । अहिलेको पुँजीवादी व्यवस्था सङ्घर्षविना बदल्न सकिँदैन । गणतन्त्र स्थापना भएकै दशकभन्दा बढी समय बित्यो । यसबिच कम्युनिस्ट शासकहरूले पटक–पटक देशको नेतृत्व गरे । तर, यहाँ शासकहरूले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार एउटा सिन्को भाँच्न सकेनन् । सत्तासीन कम्युनिस्टहरू परिवर्तनका निम्ति कुनै पनि आन्दोलन नगर्ने बताउँछन् । एमालेकै एक नेता एवम् लेखकले त वर्गसङ्घर्ष गर्ने दल कुनै हालतमा कम्युनिस्ट नहुने बकम्फुसे तर्क अघि सार्छन् ।
माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा मान्ने कम्युनिस्ट पार्टीहरू वर्गसङ्घर्षमा विश्वास राख्छन् । वर्गसङ्घर्षविना देशमा आमूल परिवर्तन सम्भव छैन भन्ने कम्युनिस्टहरूको मान्यता हो र यथार्थ पनि हो । विनासङ्घर्ष पुँजीवादी व्यवस्था कसरी ढल्छ ? समाजवादी व्यवस्था कसरी प्राप्त हुन्छ ? विभेद हट्दैन । समानता पाइँदैन । सामूहिक सेवा र सामूहिक भावनाको विकास हुँदैन । योभन्दा अघिको एमालेको नेतृत्वमा बनेको सरकारले देशमा कम्युनिस्ट पार्टीको सरकार रहेको कुरा फुक्यो । तर, कम्युनिस्ट सिद्धान्त, दर्शन, विचार र आचरणअनुसार कुनै पनि क्रियाकलाप भएन । कम्युनिस्ट भनिने दलले अब आन्दोलन आवश्यक छैन भन्नुको अर्थ यो पुँजीवादी व्यवस्थाको समर्थन गर्नु हो, यसैलाई निरन्तरता दिइरहनुपर्छ भन्नु हो । कम्युनिस्टहरू पुँजीवादविरोधी हुन्छन् र समाजवादी गणतन्त्र ल्याउन सङ्घर्ष गर्छन् या सङ्घर्ष गर्न आवश्यक तयारी गर्छन् । कुनै राजनीतिक दलले सिद्धान्त र विचार छाडेपछि लक्ष्य प्राप्त गर्नसक्दैन । पुँजीवादी शासकहरू विदेशीको स्वार्थमा काम गर्छन्, पुँजीवादी शासकहरू विदेशीको स्वार्थमा काम गर्छन्, दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न अघि सर्छन् । उनीहरू इमानदार हुँदैनन् । पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउन पछि पर्दैनन् । यसकारण, शोषित पीडित जनताको सेवा गर्न, समानता ल्याउन समाजवादी गणतन्त्र अपरिहार्य छ, त्यो गणतन्त्र पुँजीवादी निर्वाचनबाट आउन सम्भव छैन ।
Leave a Reply