भर्खरै :

हनुमानघाट र पाँचाख्यमा वृक्षरोपण

भक्तपुर, ७ साउन । भक्तपुर नगरपालिका वडा नं ७ को आयोजना र वडाभित्र रहेका सहकारी संस्थाहरूको समन्वयमा शनिबार हनुमानघाट र पाँचाख्य परिसरमा वृक्षरोपण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशीले वातावरण स्वच्छ बनाउन वृक्षरोपण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विदेशी चिहानहरूमा वातावरण रमणीय र प्राकृतिकरूपमा मनमोहक बनाउन बोट, बिरुवा र फूल रोपी हरियाली बनाउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नपाले वातावरण सुधार गर्न वृक्षरोपण र कौसी खेतीमा ध्यान दिएको हो ।”
भनपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले समय अनुकूल र ठाउँअनुसार वृक्षरोपण तथा बोटबिरुवा लगाउनुपर्ने आवश्यकता औँल्याउँदै हरियालीले अक्सिजन दिने, सांस्कृतिक र धार्मिक स्थललाई रमणीय बनाउने हुँदा वृक्षरोपण अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।
सहकारी संस्थाहरूले पनि फोहरमैला व्यवस्थापन, वातावरण सुधार गर्न कौसी खेतीका तालिमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सभापति एवम् वडा नं ७ का वडाध्यक्ष उकेश कवांले हरियाली नष्ट हुँदै गएको कारण खाद्यान्न अभाव भइरहेको चर्चा गर्दै सरकारको बेवास्ताको कारण वनजङ्गल घट्दै गइरहेको बताउनुभयो ।
देशमा पानीको स्रोत घट्दै र सुक्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले हरियाली आवश्यक छ भन्नुभयो ।
“रुख कटानी र जथाभावी वन फडानीका कारण पहिरो गइरहेको छ, कृषियोग्य भूमि मरुभूमिमा परिणत भइरहेको छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा सहकारीहरूको तर्फबाट बलराम गोसाई र वडा सदस्य हरिरत्न गोर्खालीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *