भर्खरै :

चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधि भक्तपुर भ्रमणमा

भक्तपुर, ८ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग चन्द्रागिरी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सन्जय सिग्देल सम्मिलित जनप्रतिनिधिको टोलीले आइतबार भेट ग¥यो । भेटमा उहाँहरूबिच शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण र फोहोर व्यवस्थापनबारे अनुभव आदानप्रदान भयो ।
भेटमा नगर प्रमुख प्रजापतिले सहरी क्षेत्रको फोहर व्यवस्थापन झनै चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा भक्तपुर नपाले मौलिक, आधुनिक र मिश्रित प्रविधिको माध्यमबाट फोहोरको उचित व्यवस्थापनमा जोड दिँदै आएको बताउनुभयो ।
स्केन्डेनेभियन देशहरू जस्तै स्विडेन, नर्वे, फिनल्यान्ड, आइसल्यान्ड र डेनमार्कलगायतले फोहरलाई राम्रो आयको स्रोतको रूपमा फोहरलाई आम्दानीको राम्रो स्रोत बनाइरहेको सन्दर्भ जोड्दै उहाँले फोहरलाई स्रोतबाटै कम गर्ने र छुट्याई सङ्कलन गर्ने नीतिअनुसार भक्तपुर नगरपालिकाले प्रत्येक घरमा २÷२ वटा बाल्टिन र कम्पोस्ट बिन वितरण गर्नुका साथै कम्पोस्ट मल बनाउन सघनरूपमा नगरवासीहरूलाई कौसी खेती र फोहोरमैला व्यवस्थापनको तालिमलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रकै माध्यमबाट भक्तपुर नपा देशभरि चिनिएको बताउनुभयो । उहाँले भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार तयारीमा जुटिरहेको उल्लेख गर्नुभयो ।
चन्द्रागिरी नपाका वडाध्यक्ष सिग्देलले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रमा गरिरहेको काम चन्द्रागिरी नपाले पनि अवलम्बन गर्न चाहेको बताउनुभयो ।
उहाँले फोहोरमैला व्यवस्थापन विश्वमै चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा भक्तपुर नपाले सरसफाइमा बजेट व्यवस्थापन, कुहिने फोहोरको व्यवस्थापन र अस्पतालबाट निस्किने फोहोरको व्यवस्थापनबारे जिज्ञासा राख्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिले उक्त टोलीलाई नपाका प्रकाशनहरू प्रदान गर्नुभएको थियो भने भक्तपुर नपा वातावरण तथा पर्यटन समितिका सदस्य एवम् ५ वडाका वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले खादा ओढाइ स्वागत गर्नुभएको थियो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भक्तपुर नपा वातावरण तथा पर्यटन समितिका सदस्यहरू र चन्द्रागिरी नपा वडा नं. ९ का वडाध्यक्ष अच्युत अधिकारी, वडा नं. २ का वडाध्यक्ष भाइकृष्ण तामाङ, कार्यपालिका सदस्य संगिता महर्जन र वातावरण तथा विपद् सदस्य सचिव भद्रा अर्यालको उपस्थिति रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *