भर्खरै :

स्थानीय निर्वाचन र यथार्थ

गत वैशाख ३० को निर्वाचनमा लामो बाँस लिएकी आइमाईले लखेट्दै गरेको दृश्य युट्युबमा धेरैले हेरे । दोलखास्थित बैतेश्वर गाउँपालिका ३ को त्यो घटना मेरै आँखा अगाडि भएको थियो ।
सदाझैँ यस पटकको चुनावमा स्थानीय चुनाव आउन ८–१० दिन बाँकी हुँदा गाउँबाट उम्मेदवारको फोन आयो– ‘समय मिलाएर जसरी पनि गाउँ फर्किनू आउनू’ ।
‘काठमाडौँ जडिबुटीबाट गाडी छ, पार्टीको रिजर्भ हो, सबै बन्दोबस्त पार्टीले नै गर्छ’ भन्ने कुरा आयो । जान त हामी आफै पनि आफ्नो अधिकार प्रयोग गर्न (भोट हाल्न) गाउँ त गइहाल्थ्यौँ तर पनि भाडा र खानाको पैसा नपर्ने भएपछि झन् सहज भयो । काठमाडौंमा आफ्नो सबै काम मिलाएर चुनाव हुने दिन वैशाख ३० गतेको लागि २७ गते बिहानै जडिबुटी पुगेँ । पार्टी कार्यकर्ताहरूले निर्देशनअनुसार नाम लिष्ट बनाएको रहेछ । मेरो पनि नाम टिपेको हुनाले म पनि जान पाउने भयो । गाडीमा चढेँ ।
गाडीमा ‘फलानो पार्टी यस्तो, फलानो मान्छे उस्तो, काङ्ग्रेस नै हो जित्ने’ इत्यादि अनेक कुराहरू चल्यो । ‘यो गाडीमा काङ्ग्रेसको मान्छेमात्र हुनुपर्छ, ऊ अगाडिको फलानो त अर्को पार्टीको मान्छे हो, किन यो गाडीमा हालेको’ जस्तो इत्यादि शङ्का उपशङ्का र तुच्छ कुराहरू पनि सुनिए । कहिले गीत सुन्दै त कहिले गफ गर्दै गाउँतिर लाग्यौँ । खाना खाने ठाउँ आयो, सबैजना झ¥यौँ । खसीको मासु, भात र चिसो पेय सबै जनाले खाए । खानाको पैसा पनि पार्टीले नै बेहो¥यो । फेरि, गाडी चढेर गाउँतर्फ लाग्यौँ । चेकपोस्टतिर पनि सम्पूर्ण गाडीको सामान चेक हुँदोरहेछ । यसरी बेलुका आफ्नै गाउँ वैतेश्वर–३, दोलखा पुग्यौँ ।
गाउँ पुग्नेबित्तिकै ‘टोल–टोलमा भोज छ, खाएरमात्रै घर जानू’ भन्ने कुरा आयो । हामी सबै जना भोज खान गयौँ । भोज भएको लगातार ११ दिन भइसकेको रहेछ । टोल–टोलमा दिनमै खसी काटिँदो रहेछ । आफ्नो आफ्नो बाहुल्यता रहेको टोलमा आफ्नो आफ्नो पार्टीको लगभग लगभग जहिले पनि भोज हुनेरहेछ । बाइक भएकाहरूलाई दिनमा ५ लिटरसम्म पेट्रोल दिएर खाना–खाजासहित प्रत्येक दिन ¥यालीमा लगिएको रहेछ । बोलेरोवालाहरूलाई दिनमा रु.७००० सम्म दिएर प्रचार प्रसारमा ठेक्का नै लिएको रहेछ ।
म पनि भोलिपल्टबाटै ¥यालीमा हिँडे । चुनावको दिनसम्म मैले एक छाक पनि घरमा खाइनँ । जहिले नै पार्टीको भोजमा । वैशाख २९ गते चुनावको अघिल्लो दिन बैठक भयो । जसमा भोलिपल्ट बुथ कसरी कब्जा गर्ने भन्ने प्लानिङ भएछ । ३० गते चुनावको दिन बिहान २ बजे तिरनै भोट हाल्ने स्थल (जुन एउटा उच्च माविको प्राङ्गण) थियो, त्यो ठाउँ भन्दा अलि माथितिर डाँडामा २ ओटा बोलेरोमा २५–३० जना जति गाउँकै ठिटाहरू खडा ग¥यो । माथि अर्को टोल जुन माओवादीको बाहुल्यता रहेको थियो, उनीहरू पनि ४ बोलेरोमा साढे ३ तिर झरेका रहेछन् । २०–२२ जना ठिटाहरूमाथि नै पारीपट्टि बसेछन् र बाँकी जति भोट हाल्न लाइनमा बसेछन् । हामी पनि छ बजेतिर पुग्यौँ र लाइनमा बस्यौँ । हाम्रो वडामा एमाले थोरै सङ्ख्यामा भएको कारणले एमालेले केही प्लानिङ गरेको थिएन । अघिल्लो चुनावमा एमालेले करिब २०० भोट जति काङ्ग्रेसलाई ३ लाखमा बेचेर काङ्ग्रेसलाई जिताएका थिए ।
बिहानै करिब १०० भोट जति खसेपछि, लफडा सुरु भयो । दुई पक्ष नै तयार रहेछन् । भोट हाल्ने ठाउँमा पनि माथि डाँडामा पनि लफडा सुरु भयो । लठी हानाहान, ढुङ्गा मुढा प्रहारदेखि टाउको फोडाफोडको अवस्था आएछ । सँगै उभिएको मेरै साथी पनि झगडा सुरु भएपछि एउटा बाँसको लट्ठी बोकेर कुँडेर झगडा भित्र गएको थियो । एकछिनपछि टाउको फुटेछ र अरू साथीहरूले थेगेर माथि ल्याए । त्यहाँ पट्टीमात्र लगाएर हेल्थपोष्टतिर लगे । अरू पनि ४ जनाको टाउको फुटेछ । सबैलाई हेल्थपोष्टमै लगे ।
सुरक्षाकर्मीहरूले पनि केही गर्न नसक्ने अवस्था आयो । हवाई फाइरिङ भयो, तर लफडा रोकिएन । आधा घन्टापछि आर्मीको गाडी आइपुग्यो, एउटा हेलिकप्टर पनि आयो, त्यसपछि अवस्था नियन्त्रणमा आयो । लाइनमा बसेका आधाभन्दा बढी मान्छे डरले भागाभाग भए अर्थात् घर फर्किएछन् । सर्वदलीय मिटिङ बस्यो र २ घण्टापछि चुनाव सुचारु गरे ।
विगत मत अनुपात र गाउँको चर्चाअनुसार यसपालि माओवादी जित्ने सम्भावना धेरै थियो । उनीहरूले बुथ कब्जा गरेर झडप सुरु गरेपछि हामीले पनि त्यसको विरुद्धमा प्रतिक्रिया दिँदा उनीहरू भागाभाग भए । तयार त हामी पनि थियौँ । हामी नभागेका मान्छे जति फेरि लाइनमा बस्यौँ र फेरि भोट हाल्यौँ । घर फर्केका जति मान्छेलाई फेरि फर्काउन आफ्नो आफ्नो पार्टीको गाडी आफ्नो टोलमा गयो र आफ्नो आफ्नो मान्छेलाई भोट हाल्न ल्यायो । फेरि अर्को रणनीति अपनाएछ, काङ्ग्रेसका केटाहरू जति माथि टोलबाट एउटा जङ्गल हुँदै तल भोट हाल्न आउने मान्छेलाई फर्काउन जङ्गलमा लट्ठीसहित राखिएछ । तिनीहरूले माथिल्लो गाउँको धेरै जस्तो माओवादीका मान्छेहरू बाटैबाट कुटेर भगाइएछन् । तल, लाइनमा काङ्ग्रेस पार्टीको मान्छेमात्रै र भित्र भोट हाल्ने स्थानमा सेवक सेवकीहरू पनि काङ्ग्रेस पार्टीको र भोट हाल्न नजान्नेलाई सहयाग गर्नेहरू पनि काङ्ग्रेसकै मान्छेहरूमात्र थिए ।
माओवादी र एमालेको मान्छेलाई भोट हाल्न त के आउनै दिएको थिएन । त्यसैले तल खसेको मत जति काङ्ग्रेसकै थियो । खसेको मत पनि रद्द हुन नदिने प्लान थियो । त्यसैले बुढाबुढी र नपढेको माछेहरूको भोट पनि फकाएर सहयोग गर्न बसेका मान्छेहरूले नै हालिदिए । भोलिपल्ट एकै जनाले १५ वटा सम्म भोट हालेको कुरा सुनिएको थियो । एकछिन पछि अर्को ३ बोलेरो केटाहरू १ नं. वडामा बुथ कब्जा गरेर चुनाव सकेर हाम्रो वडामा आए । अघिल्लो चुनावमा पनि काभ्रे टिमाल र काठमाडौबाट गुण्डा लगेर बुथ कब्जा गरेर एमालेजति भगाएर एकोहोरो भोट खसाएर १ नं. र २ नं. मा काङ्ग्रेसले जितेको थियो । यसपालि पनि ती आएका केटाहरू बाहिरकै थिए । त्यो देखेर अर्को पार्टीका उम्मेदवारहरू पनि लच्किए र उनीहरूको आमाबुबाहरू रुँदै ‘हाम्रा छोराहरू केही नगर्नुस्, सहजै घर जान दिनुस्, चुनाव तपाईँहरूले नै जित्नुभयो’ भनेपछि उम्मेदवार जतिलाई मुचुल्कामा साइन गराएर सुरक्षाकर्मीसहित घर पठाइयो । हामी पनि घर फर्कियौँ । त्यसपछि पनि अर्को १ घण्टा जति मत खसेछ त्यो पनि एकोहोरो । मतपेटिका मत गन्ने ठाउँसम्म पु¥याउन पनि २ बोलेरो केटाहरू पठाएछन् ।
भोलिपल्ट पनि भोज भएछ । हामीलाई पनि बोलाएको थियो र हामी पनि गयौँ । जित्ने १०० प्रतिशत भयो । हाम्रैमात्र मत खसेको छ भनेर खुसीयाली मनाइयो । मत गन्न सुरु नहुँदै हाम्रो वडामा खुसी महोत्सव मनाइयो । मत गन्ने ठाउँ बाहिर पनि दिनमा एउटा खसी काटिइएको थियो । चार दिनसम्म भोट गन्ने गाउँपालिकाको कार्यालय बाहिरको होटेलमा जे खाए पनि फ्रि भनेर पार्टीले रिजर्भ गरेको थियो । बेला–बेलामा झडप हुन खोजेपनि शान्तिपूर्वक नै मत गणना भएछ ।
नतिजा आयो, हाम्रो वडामा काङ्ग्रेसको एकोहोरो मतले विजयी, मेयरमा पनि विजयी । हुन पनि कसरी नहोस् त ३ वटा वडामा त बुथ नै कब्जा भएको रहेछ । उता १ नंघघ वडामा त काङ्ग्रेसले बुथ कब्जा गरेर खसेको १९७९ मतमा १९७१ मत नै काङ्ग्रेसको आएछ । एमालेलाई त भोट हाल्न जानै दिएन रे । फेरि त्यो वडामा काङ्ग्रेस शून्य प्रायः नै थियो । त्यसपछि विजय जुलुससहित वडा फर्किएछन् । त्यसको दुई दिनसम्म लगातार टोल–टोलमा एक एक वटा खसी दिएको रहेछ । म त चुनावको दुई दिन पछि नै घर फर्केँ ।
गाउँमा भएका कुराहरू सुन्नमा आयो कि– माओवादीको उम्मेदवारको करिब ५० लाख सकियो रे । एकजनालाई २००० बाँड्दै हिँडेको त मैले पनि देखेको थिएँ । काठमाडौंमा एउटा घर र राम्रै विजनेस भएकोले पार्टीले टिकेट दिएको रे । अब घर बेच्नुपर्ने अवस्था आउँछ भन्ने कुरा पनि भयो रे । काङ्ग्रेसको उम्मेदवारले चुनाव टिकट लिन नै १० लाख दिएर गुण्डाहरू सात दिनसम्म रिसोर्टमा पालेका थिए रे । चुनाव अघि पछि गरेर भोज भतेर, पेट्रोल र बोलेरो रिजर्भ भाडा गरेर ३० लाखमाथि खर्च भयो रे ।
अनि १० लाख दिएर टिकट पाएर अर्को ३० लाख खर्च गरेर गुण्डा लगाएर बुथ कब्जा गरेको वडाअध्यक्षबाट हामीले के अपेक्षा गर्ने ? वडा जित्न त ४० लाख लाग्छ भने मेयर जित्न कति करोड चाहिँदो हो र सांसद बन्न कति करोड चाहिँदो हो ? नेपालको राजनीतिमा गुण्डा र पैसाको अधिक प्रयोग हुन्छ । अब ४० लाख खर्च गरेको लगानी उठाउन त्यो वडाअध्यक्षले के–के गर्नुपर्छ, सबै गर्छ । ठेक्का पट्टामा घुसपैथ देखि बजेट दुरूपयोग देखि सबै खाल्को भ्रष्टाचार गर्नुपर्ने हुन्छ ।
यो पाँच वर्षभित्र आफूले खर्च गरेको पैसा उठाउन, काठमाडौँमा एउटा घर किन्न र अर्को चुनावमा खर्च बचाउन पैसा कमाउनुपर्छ भन्ने कुराहरू पनि उसकै परिवारबाट आएको छ रे । चुनावमा यस्तो व्यवस्थापन, सत्ताको चरम दुरूपयोग र खर्चिलो व्यवस्था भएसम्म चुनाव कहिल्यै पनि निष्पक्ष हुँदैन । यसमा दोषी को हो ? निर्वाचन आयोग, स्वतन्त्र पर्यवेक्षक, नागरिक समाज, पत्रकारहरूको भूमिका के ?
राजनीतिक पार्टीहरू र उम्मेदवारहरूको के कुरा गरौँ, म जनताको धेरै दोष देख्छु– यो देश कङ्गाल हुनु, व्यवस्था असफल हुनु र राष्ट्रियता चुक्नुमा । सबै जनता मजस्तै छन् । एमसीसीको विरोध गर्ने, सबै पार्टी खतम भन्ने, नेताहरू भ्रष्टाचारी हुन् भन्ने र चुनाव आएपछि मासु भातमा बिक्ने, ५ लि. पेट्रोलमा बिक्ने र राम्रोलाई भन्दा पनि हाम्रो मान्छेलाई भोट हाल्ने । वर्षभरि त्यही नेतालाई गाली गर्ने अनि चुनावमा त्यही नेताको मासुभात खाएर भोट हाल्ने । अहिले एमसीसीको विरोध गर्ने पछि यही एमसीसी पास गर्नेलाई भोट हाल्ने ।
पढेको छु । यी नेताहरूबाट केही हुँदैन भन्ने पनि थाहा छ । यी पार्टीहरू कुनै राम्रो लाग्दैन । धेरै थोरै भए पनि राजनीतिक चेतना छ । तैपनि, म चुनाव आएपछि यही पार्टीको खान्छु, यही पार्टीमा भोट हाल्छु । म हामी सबै नेपाली जनताजस्तै भेडा छु । त्यही भएर यो राजनीतिक विकृति विसङ्गतिमा मेरो पनि ठूलो हात छ ।
अहिलेसम्म म पनि हामी सबै नेपालीहरूजस्तै भेडो थिएँ, लालायित थिएँ र थाहा हुँदाहुँदै पनि यही राजनीतिक विकृतिको भागिदार भएँ । म अब चाहिँ सुध्रिनै पर्छ । म एउटा पढेको मान्छे त यस्तो छु भने आम हामी सबैजना कस्तो होला ? म अब चाहिँ सुध्रिन्छु । यो देशमा परिवर्तन ल्याउन पार्टी र नेता कार्यकर्तामात्रै सुध्रिएर हुँदैन । हामी आम जनता सुध्रिनुपर्छ । हामीमा चेतना भयो र चेतना भएअनुसार अधिकारको सदुपयोग गर्न सके भने पार्टी र नेताहरू सुध्रन्छन् । देश परिवर्तन गर्नु छ भने सुरु आफैबाट गर्नुपर्छ । यदि टिकट पाउन पैसा दिन नपर्ने भए, चुनावमा करोडौँ खर्च गर्नु नपर्ने भए हामीले चुनेका जनप्रतिनिधिहरूले भ्रष्टाचार गर्ने थिएनन् होला । त्यही भएर चुनाव निष्पक्ष हुनलाई हामी जनता नै चेतनशील र जिम्मेवार हुनुपर्छ, यस्ता राजनीतिक विकृतिको विरुद्धमा लड्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *