“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर । भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम ‘ख्वप सः’ को वार्षिकोत्सव सोमबार एक समारोहबिच सम्पन्न भयो ।
‘ख्वप सः’ सञ्चालनको चार वर्ष पूरा भई पाँचौँ वर्षमा प्रवेश भएको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) ले ख्वप टीभी सञ्चालनले भक्तपुरको गतिविधि विश्व समुदायमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्वका विविध घटनाबारे सुसूचित गर्ने माध्यमको रुपमा ‘ख्वप सः’ प्रयोग हुने विश्वास व्यक्त गर्दै उहाँले भक्तपुर र देशका अन्य नगरपालिकाबिच शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत विविध पक्षमा अनुभव आदानप्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अतिथि बिजुक्छेँले ख्वप सः कार्यक्रमका प्रस्तोता र प्राविधिक सहयोगीहरूलाई प्रशंसापत्र र मायाको चिनो वितरण गर्नुभयो ।
नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको अहिले उपलब्धि २०१९–२० सालदेखि पार्टीका नेता–कार्यकर्ताहरूको त्याग, तपस्या र बलिदानको सिलसिला भएको उल्लेख गर्दै आर्थिक अनुशासन, पारदर्शिता, जनश्रमदान, उपभोक्ता समितिको नेतृत्वमा विकास निर्माणलाई चालु राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जनप्रतिनिधिको अनुपस्थितिमा पनि कर्मचारीहरूले नगर र नगरवासीको इमानदारीपूर्वक सेवा गरेको प्रसङ्गसमेत उहाँले जोड्नुभयो ।
भनपाको मिडियाले नागरिक भावना उठाउने र सांस्कृतिकस्तर विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्दै सांसद सुवालले आस्थाको पत्रकारितालाई माथि उठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकको अनुभव लिपिबद्ध गरी भनपाको सञ्चारमाध्यमले प्रसारण गर्नुपर्छ । यसबारे संविधानमा उल्लेख गराउन नेमकिपाले संशोधनसमेत पेश गरेको थियो ।”
भनपाका प्रमुख एवम् कार्यक्रमका सभापति सुनिल प्रजापतिले संविधान प्रदत्त मौलिक हकको सदुपयोग गर्दै भक्तपुर नपाले रेडियो कार्यक्रम ‘ख्वप सः’ सुरु गरेको बताउनुभयो ।
भनपाका हरेक सूचना र गतिविधि सञ्चारमाध्यममार्फत प्रचारप्रसार भएकै कारण भक्तपुरवासीलगायत अन्यले समेत भनपाले गरिरहेको गतिविधिबारे जानकारी पाइरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी प्रेस वा सञ्चार स्वतन्त्रताको अर्थ सञ्चारगृहमाथि पुँजीपति वर्गको नियन्त्रण वा कब्जा हुने गर्छ । पुँजीपति वर्गको चाहनाअनुसार सञ्चारमाध्यमले प्रचारप्रसार गर्छ । ती सञ्चारमाध्यमहरू पुँजीपति वर्गको स्वार्थ सिद्ध गर्ने हतियार बन्छन् ।”
भनपाका उपप्रमुख रजनी जोशीले भनपाको सूचना जनतामाझ प्रवाह गर्न ‘ख्वप सः’ कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा नयाँ–नयाँ शिक्षामूलक कार्यक्रम प्रसारणमा निरन्तरता दिने विश्वास दिलाउनुभयो ।
बाग्मती प्रदेश सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले सूचना ज्ञानको स्रोत भएको बताउँँदै यसलाई शक्तिमा रुपान्तरण गर्नु सबैको कर्तव्य भएको औँल्याउनुभयो ।
भनपाको अभ्यास अन्य स्थानीय तहको लागि सिक्नलायक हुने विचार व्यक्त गर्दै उहाँले पत्रकार कलम बोक्ने सिपाहीँ भएको उल्लेख गर्नुभयो ।
प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदाहरूको अभिलेखीकरण गर्न सके पुनः संरक्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भक्तपुरको दरबार सङ्गीतमय दरबारको रूपमा रहेको अध्ययन–अनुसन्धानले पुष्टि गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पचपन्न झ्याले दरबारभित्रका भित्तेचित्रहरू विश्वश्रेणीका चित्रहरू हुन् ।”
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, ‘ख्वप सः’ कार्यक्रमका प्रस्तोता रवीन्द्रप्रसाद कुसी र सुरेश कवांले पनि बोल्नुभएको थियो ।
Leave a Reply