भर्खरै :

भ्रमपूर्ण र गलत समाचार पोस्ट र साझा नगर्न आग्रह

  • श्रावण १४, २०७९
  • भक्तपुर नगरपालिका, प्रशासन शाखा
  • पाठक विचार

उपरोक्त सम्बन्धमा मिति २०७९।४।११ गते बुधबार साँझ Bhaktapurian Facebook Page मा ‘भक्तपुर नगरपालिकामा वृद्धहरूको लागि गाडीमा छुट लिनको लागि कार्ड बनाउँदा रु. १०००।— लियो र त्यसको कुनै रसिद दिइएन । त्यो कार्ड बनाउँदा १०००।– शुल्क लिन्छ र ? लिन्छ भने रसिद किन दिइएन होला ?’ लेखी वीरेन्द्र मानन्धर नामका व्यक्तिले पोस्ट गरेको र यसबारे ५०, ६० जनाले भिन्न, भिन्न कमेन्ट गरी नगरपालिकामा भ्रष्टाचार भएको भन्ने सन्देश जानेगरी भ्रम फैलाएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त समाचार प्रकाशन भएको भोलिपल्ट २०७९।४।१२ गते कार्यालय समय सुरु हुनासाथ बिहान १०ः०० बजे नै सोधपुछ गरी उक्त भ्रमपूर्ण समाचार पोस्ट गर्ने वीरेन्द्र मानन्धरको मोबाइल नं. पत्ता लगाई सम्पर्क गर्दा निज मानन्धरले सो विषयमा सत्यतथ्य पत्ता लगाउन मद्दत गर्ने र सम्बन्धित ज्येष्ठ नागरिकका साथ नगरपालिकामा आउने वचन दिएका थिए । तर, दिउँसो निर्धारित समयसम्म पनि नगरपालिका कार्यालयमा नआएपछि पुनः मोबाइल सम्पर्क गर्दा उक्त ज्येष्ठ महिलालाई बिहानै सम्बन्धित मान्छेले बोलाएर पैसा फिर्ता दिएको भनी तर्किए । निज मानन्धरलाई गलत नियतले पैसा लिएर फिर्ता दिने कर्मचारी पहिचान गर्न सहयोग गरिदिनु हुन अनुरोध गरेका थियौँ र निज मानन्धरले दिउँसो नगरपालिकामा आई सहयोग गर्ने वचन दिए पनि नपामा भने आएनन् ।
तर, दिउँसो ३ः४५ बजेसम्म निज मानन्धर नपामा नआएपछि पुनः फोन गरी बोलाउँदा सम्बन्धित ज्येष्ठ महिला दिउँसो आएर ज्येष्ठ नागरिक परिचय पत्र बनाएर लगिसकेको र पैसा लिने व्यक्तिले पैसा फिर्ता गरिसकेको र उक्त पैसा लिने व्यक्ति नपाको कर्मचारी नभएकोले समस्या समाधान भइसकेको हुँदा नपामा आइराख्न आवश्यक नभएको बताए । त्यसो भए Facebook Page बाट भएको भ्रमपूर्ण, भ्रष्टाचार र नगरपालिकाको बदनाम गर्ने उद्देश्यले प्रकाशित समाचारको खण्डन गर्नभन्दा संशोधन गर्ने वचन दिए पनि खण्डन नगरी उक्त पोस्ट नै फेसबुक पेजबाट हटाएको थियो । निज मानन्धरले जानकारी दिएअनुसार मिति २०७९।४।१२ गते दिउँसो २ः४५ बजे लक्ष्मीदेवी मानन्धर नामका भ.न.पा वडा नं. ९ का ज्येष्ठ नागरिकले परिचयपत्र बनाएर लगेको छ । सोहीअनुसार निजको निवेदनमा उल्लेख भएको निजको मोबाइलमा सम्पर्क गर्दा निज लक्ष्मीदेवी मानन्धरले नै मोबाइल उठाएको र कुराकानीको क्रममा निज ज्येष्ठ महिलाले लेखापढी गर्ने निरन्जन थापालाई ज्येष्ठ नागरिक परिचयपत्र बनाउन रु. १०००।– दिएर निवेदन लेख्न लगाएको बताउनुभएको थियो । निज थापा भनपा प्रशासन शाखामा आई उक्त लक्ष्मीदेवी मानन्धरको ज्येष्ठ नागरिक परिचयपत्र बनाउन बुझ्न आउँदा सम्बन्धित कर्मचारीले सम्बन्धित ज्येष्ठ नागरिक वा एकाघरको परिवारजनबाट मात्र निवेदन दिई परिचयपत्र बनाउन सकिने र ज्येष्ठ नागरिक परिचयपत्र बनाउने विषयमा नै यस नगरपालिकामा रु. १०००।– भ्रष्टाचार भएको भनी सामाजिक सञ्जालमा समाचार आइरहेको विषयसमेत सचेत गराइएको थियो । त्यसपछि निज थापाले आफूले उक्त ज्येष्ठ महिलासँग लिएको रु. १०००।– सम्बन्धित महिलालाई बोलाई रकम फिर्ता गरेका थिए । त्यसलगत्तै उक्त ज्येष्ठ महिलालाई नपामा आफूसँगै लिएर आई नगरपालिकाबाट निःशुल्क उपलब्ध गराइएको निवेदन भरी ज्येष्ठ नागरिक परिचयपत्र बनाएर लगिएको थियो । यस विषयमा समाचार सम्प्रेषण गर्ने वीरेन्द्र मानन्धर, ज्येष्ठ महिला लक्ष्मीदेवी मानन्धर र लेखापढी व्यवसायी थापासँग उक्त समाचारसम्बन्धी बुझ्दा निम्न व्यहोराहरू भएको प्रस्ट भएको छ ।
क) मिति २०७९।४।११ गते ज्येष्ठ नागरिक लक्ष्मीदेवी मानन्धरले लेखनदास निरन्जन थापालाई भेटी गाडीमा छुट लिनको लागि परिचयपत्र बनाउन निवेदन लेख्न लगाई निजलाई रु. १०००।— दिई उक्त निवेदन लिई भनपा ९ नं. वडा कार्यालय गएको ।
ख) वडा कार्यालयबाट नभई नगरपालिकाबाट नै ज्येष्ठ नागरिक परिचयपत्र जारी हुने बताएपछि निवेदन सच्याई मिति २०७९।४।१२ गते भ.न.पा कार्यालय आएको र सम्बन्धित कर्मचारीले सम्बन्धित व्यक्ति वा एकाघरको परिवारलाई मात्र परिचय पत्र बुझाउन सकिने र यही सम्बन्धमा रु. १०००।— अनियमितता भएको भनी सामाजिक सञ्जालमा समाचार आएको विषयमा समेत निज थापालाई सचेत पारेको र त्यसपछि निज लेखनदास थापाले उक्त ज्येष्ठ महिलालाई रकम फिर्ता गरी ज्येष्ठ नागरिक परिचयपत्र बनाउन नपाको कार्यालयमा आएको र ज्येष्ठ नागरिक परिचयपत्र निज थापा हस्ते बुझी लगेको ।
ग) सो सम्बन्धमा सामाजिक सञ्जालमा समाचार पोस्ट गर्ने वीरेन्द्र मानन्धरसँग फोन गरी बुझ्दा बिहान ११ः०० बजेतिर निज ज्येष्ठ महिलाले उक्त रकम फिर्ता पाएको र दिउँसो ३ः४५ बजेसम्ममा उक्त महिलाले ज्येष्ठ नागरिक परिचय पत्र प्राप्त गरिसकेको र उक्त रु. १०००।– न.पा.को कर्मचारीले नलिएको र निज थापाले फिर्ता गरिसकेको र समस्या समाधान भइसकेको भनी जानकारी गराइएको ।
घ) निज वीरेन्द्र मानन्धरलाई सो सम्बन्धमा सामाजिक सञ्जालमा पोस्ट गरेको झूटो समाचार सच्याइ खण्डन गरी सही कुरा पोस्ट गर्नभन्दा निजले मौखिकरूपमा सहमति जनाए पनि पछि उक्त पोस्ट नै सामाजिक सञ्जालबाट हटाइएको ।
ङ) यसरी सो घटनासम्बन्धी अनुसन्धानको क्रममा ज्येष्ठ नागरिक परिचय पत्र बनाउने ज्येष्ठ नागरिक भ.न.पा वडा नं. ९ का लक्ष्मीदेवी मानन्धर रहेको र निजसँग रु. १०००।— लिने र पछि फिर्ता गर्ने निरन्जन थापा रहेको तथा वीरेन्द्र मानन्धर भन्ने व्यक्तिले Bhaktapurian Facebook Page मार्फत सामाजिक सञ्जालमा विनाआधार र प्रमाण भक्तपुर नगरपालिकाको बदनाम गर्ने र सम्बन्धित कर्मचारीहरूको चरित्र हत्या गर्ने उद्देश्यका साथ भ्रष्टाचारजस्ता अत्यन्त गम्भीर आरोप लाग्ने किसिमका समाचार पोस्ट र कमेन्ट गरी झूटलाई सत्य प्रमाणित गर्ने प्रयास गरेको ।
च) माथि उल्लेखित सबै बुँदाहरूबाट मिति २०७९।४।११ गते वीरेन्द्र मानन्धरले Bhaktapurian Facebook Page मा प्रकाशित गरेको ‘भक्तपुर नगरपालिकामा वृद्धहरूको लागि गाडीमा छुट लिनको लागि कार्ड बनाउँदा रु. १०००।— लियो र त्यसको कुनै रसिद दिइएन । त्यो कार्ड बनाउँदा १००० शुल्क लिन्छ र ? लिन्छ भने रसिद किन दिइएन होला ?’ भन्ने समाचार कपोलकल्पित, भ्रामक, आधारहीन र तथ्यहीन भएको र सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गर्दै सबै सरोकारवालाहरूलाई सञ्चारमाध्यमको दुरूपयोग गरी कुनै व्यक्ति वा संस्थाको बदनाम नगर्नसमेत सचेत पार्न चाहन्छौँ ।
छ) अतः सम्पूर्ण नगरवासी र सम्बन्धित पक्षहरूलाई भक्तपुर नगरपालिकासम्बन्धी कुनै पनि किसिमका गम्भीर र दीर्घकालीन असर पर्ने किसिमका समाचारहरू विनाआधार र प्रमाण प्रचारप्रसार नगरिदिनुहुन र कसैले त्यस्ता कुनै समाचार सम्प्रेषण गरेमा भक्तपुर नगरपालिका कार्यालय, सम्बन्धित शाखा, उपशाखा र सम्बन्धित कर्मचारीहरूसँग प्रत्यक्षरूपमा बुझ्नुहुन अनुरोध गर्दछु र यस्ता भ्रमपूर्ण र निराधार समाचारबाट कोही पनि प्रभावित नहुनसमेत अनुरोध गर्दछु ।
ज) पुनश्चः यस नपाबाट ज्येष्ठ नागरिक परिचयपत्र आवेदन फाराम र परिचय पत्र निःशुल्क विरतण भइरहेको व्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *