“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडौँ, १४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिले शनिबार टोखामा एक समारोहबीच सङ्घको ५३ औँ स्थापना दिवस मनायो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेपालको खेती जग्गा बाँझो राखेर चामल, दाल, तरकारी भारतलगायत विदेशबाट आयात गरेर नेपाली जनता आत्मनिर्भर हुननसक्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “भारतीय एकाधिकार पुँजीले नेपालविरुद्ध कुनै पनि बेला नाकाबन्दी लगाउने खतरा छ । भारतीय एकाधिकार पुँजी नेपालको जलविद्युत् परियोजना कब्जा गर्न पाएमात्र खुसी हुनेछ ।”
उहाँले भन्नुभयो, “जोत्नेलाई जमिन वितरण गर्नुपर्दछ । पेरिस कम्युन र अक्टोबर समाजवादी क्रान्तिको शिक्षा यही हो । नेपालमा पुर्खौँदेखि जमिन जोत्दै आएका कमैया, कम्लरी, हरूवा–चरुवा, हली–कुल्ली, गोठालोलाई मोहियानी हकसमेत नदिने आजसम्मका सरकारहरू जनताको हुनसक्दैन । २०५७ सालको कमैया मुक्ति धोका हो ।”
मानव बस्ती वरिपरि खेती जग्गा कायम गरी नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले शिक्षा, रोजगारी, उपचारको लागि नेपालीहरू आ–आफ्नो थातथलो छोडेर सहर र राजधानी आउनुपर्ने वर्तमान स्थिति अन्त्य हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजधानी काठमाडौँमा सडक र घर–भवनमात्र फलाएर देशको सन्तुलित विकास हुनेछैन । गैरआवासीय नेपाली नागरिकलाई आर्थिक अधिकारसहित नेपाली नागरिकता दिने विधेयक शासक दलहरूले संसद्बाट पारित गरेको सर्वसाधारण जनताको हितमा छैन ।”
सांसद सुवालले राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने मूलनीति भएको तर, शासक दलहरूले राजनीतिलाई राज्यकोष लुटपाट गर्ने नीतिको रूपमा लिएको चर्चा गर्नुभयो ।
राज्यको स्वामित्वमा उत्पादन र वितरणमा जोड नदिई शासक दलहरूले आफ्ना कार्यकर्तालाई पुँजीवादको विकास गर्ने सिकाउँदा नेपालमा पनि भ्रष्टाचार बढेको धारणा उहाँले व्यक्त गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “बजेट निर्माणको क्रममा जेठ १४ गते अर्थ मन्त्रालयमा अनाधिकार व्यक्ति प्रवेश गरी करको दर परिवर्तन गरेको विषयमा छानबिन गर्न समिति गठन र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा भयो । तर, शासक दलहरूको बहुमत रहेको छानबिन समितिले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकाल्यो । प्रमुख प्रतिपक्षी एमालेबाट सदस्य भएका चारजना सांसदले अनाधिकृत व्यक्तिको प्रवेश भएको आशङ्का कायम राखी फरक मत राखे ।”
उहाँले भन्नुभयो, “चुनावमा पैसा र सामान बाँडेर, भोज खुवाएर सरकारमा पालैपालो गएका शासक दलहरूले नेपाल मजदुर किसान पार्टीलाई तीन प्रतिशत मत नआएको भनी संसद्को कार्यव्यवस्था समितिमा नबोलाउने, ढ्यापढ्याप समयमा बोल्न नदिनेलगायत पक्षपातपूर्ण व्यवहार गर्दै छन् । निर्वाचनमा पैसा खर्च नगरे शासकदलहरूको अहिलेको घमण्ड चकनाचुर हुनेछ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले किसान सङ्घको ५५ वर्षको इतिहास सङ्घर्षमय रहेको स्मरण गर्दै किसान सङ्घ अन्याय–अत्याचार, भ्रष्टाचारविरुद्ध क्रियाशील रहेको र पार्टीका अग्रजहरूको योगदान अविस्मरणीय हुनुका साथै कार्यकर्ताको लागि पथप्रदर्शक रहने बताउनुभयो ।
“नेमकिपाले जनताको समस्यालाई समाधान गर्न जनतालाई सचेत र सङ्गठित गर्ने कार्य गर्दै आएको छ । अन्य राजनीतिक पार्टीहरू सत्तामोहमा फसेको छ ।
भारतीय विस्तारवाद र एकाधिकारको पुँजी तथा अमेरिकी साम्राज्यवादको दलाली गर्न शासक पार्टीहरूमा प्रतिस्पर्धा रहेको छ”, उहाँले भन्नुभयो ।
कामदार जनताको भविष्य उज्ज्वल पार्ने काममा नेमकिपा निरन्तर इमानदारीपूर्वक लागिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य नारायण महर्जनले किसान सङ्घका अग्रज कार्यकर्ताहरूको योगदानलाई सम्झँदै देशमा किसान आन्दोलन थप सशक्त बनाउनुपर्नेआवश्यकता औँल्याउनुभयो ।
उहाँले कृषिप्रधान देशमा रासायनिक मल कारखाना नखोल्ने कृषि मन्त्रालय आवश्यक नरहेको बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घका केन्द्रीय सचिव हरिराम सुवाल, राजवीर डंगोल, वीरबहादुर डंगोललगायतले किसान सङ्घको इतिहासबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले पनि बोल्नुभएको थियो ।
Leave a Reply