भर्खरै :

नवदुर्गा देवगण तथा मन्दिर व्यवस्थापनको साधारणसभा

भक्तपुर, १४ साउन । “नवदुर्गा नाचको प्राचीन इतिहास लिपिबद्ध गरी अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई त्यसको ऐतिहासिक र सांस्कृतिक महत्वबारे जानकारी दिई त्यसको निरन्तरता दिइनुपर्छ ।”
उक्त भनाइ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाको प्रथम अधिवेशनमा राख्नुभएको हो ।
उहाँले देवगणमा बस्नेहरूले जात्रासँगै शिक्षामा पनि जोड दिनुपर्ने बताउँदै शिक्षामा पछि परेमा समाज नै पछि पर्छ भन्नुभयो ।
“आफ्नो स्वास्थ्यको ख्याल राखी खानेपिउने गर्नुपर्छ । एक दुई जनाले जथाभावी गर्दा सिङ्गो समुदायकै इज्जतमा धक्का पुग्न सक्छ” उहाँले स्वास्थ्यप्रति सचेत हुन आग्रह गर्नुभयो ।
नवदुर्गा द्योछँे घर नगरपालिकाले नै उपभोक्ता समितिमार्फ बनाई सहयोग गरेको उल्लेख गर्दै उहाँले नवदुर्गा नाच स्थानीय जनताको मात्र नभई देशको संस्कृति र महत्वपूर्ण सम्पदा भएको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष ध्यान दिई अगाडि बढिरहेको भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै नगर प्रमुख प्रजापतिले नवदुर्गा देवगणमा कार्यरतहरूका लागि विशेष ध्यान दिने पनि सो अवसरमा बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नंं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नवदुर्गाको जात्रा सम्बन्धमा हरेक क्षेत्रमा वडा समितिले साथ र सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल माली समाजका सभापति अमरनारायण मालीले भक्तपुरको नवदुर्गा जात्रा, काठमाडौँको १२ वर्षे जात्रा र कीर्तिपुरको बाघ भैरव जात्रा मालीहरूले नै चलाउँदै आएको स्पष्ट पार्दै संस्कार र संस्कृति आफ्नो पहिचान भएको हुँदा त्यसलाई जोगाइराख्नुपर्छ भन्नुभयो ।
पूर्ववडाध्यक्ष विष्णुबहादुर मानन्धरले नवदुर्गा जात्राले निरन्तरता दिन आफ्नो निजी घर नै दान दिएको बताउँदै आत्मनिर्भर भएर चल्नुपर्छ भन्नुभयो ।
अर्का पूर्ववडाध्यक्ष कृष्णभक्त लवजू, इन्द्रबहादुर बनमालालगायतले नवदुर्गा नाचको ऐतिहासिक महत्वबारे स्पष्ट पार्नुभएको सो कार्यक्रम संस्थाकाअध्यक्ष ब्रिजेश बनमालाको सभापतित्वमा भएको थियो ।
संस्थाका सचिव रत्नमान बनमाला र कोषाध्यक्ष रिजय बनमालाले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनअनुसार संस्थाको नाउँमा विभिन्न बैङ्क तथा सहकारी संस्थामा रहेको रकम ६५,२१,२४९÷– (पैँसट्ठी लाख एक्काइस हजार दुई सय उनन्चास) रहेको छ । नवदुर्गाले वर्षभरि विभिन्न २० वटा विधाहरूमा गर्ने खर्च विवरण पनि कार्यक्रममा प्रस्तुत गरिएकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *