भर्खरै :

पुरानो सम्बन्ध जोडेर दूरगामी असर पार्ने काम नगरौँ

नेपाल सरकारले कुनै देशसँग मित्रता गाँस्नु, मैत्री सम्बन्ध अगाध बढाउनु अन्यथा होइन । मित्रता बनाउनु देशको लागि खाँचो पनि छ । तर, मित्रताको सम्बन्ध बढाउनुको अर्थ कठपुतली हुनु होइन, देशघाती सन्धि सम्झौतामा हस्ताक्षर गर्नु होइन, ठूला देशका शासकहरूको अधीनमा बस्नु होइन । नेपालले आफ्नो परराष्ट्र नीति कायम गर्नुपर्छ । परराष्ट्र नीति तोडेर कुनै देशको समर्थन र विरोध गर्नु सही होइन । तर, देउवाको नेतृत्वमा बनेको सरकारले युक्रेनको पक्षमा मतदान ग¥यो । यो देशको परराष्ट्र नीतिको उल्लङ्घन हो । सत्तारुढ दलका नेताहरू यस कार्यमा फसे । यो देशको लागि दुर्भाग्य हो ।
नेपाल सरकार विस्तारवादी देश भारत र साम्राज्यवादी देश अमेरिकाको पछि दगुरिरहेको छ । भारत र अमेरिका ठूला, शक्तिशाली र अरू देशलाई तर्साउने मुलुक भएकाले ती शासकहरूले जे गरे पनि हुने ? जे गरे पनि सहेर बस्नुपर्ने ? ठूला देशहरूले गरेको भूमि अतिक्रमण, आक्रमण, हस्तक्षेप आदि सहेर बसेकै कारण स–साना स्वाधीन तथा सार्वभौम देशहरूलाई पेलिरहेका हुन् । नेपाल यसको दृष्टान्त बनेको छ । नेपाल भारत र अमेरिकाबाट प्रताडित छन् । यो अद्यापि कायम छ ।
भारत र अमेरिकासित सम्बन्ध बढाउन नेपाल सरकारका राष्ट्र प्रमुखहरू भ्रमण जानु स्वाभाविक हो । तर, भ्रमणको बेला नेपाल र नेपालीको हित छोडेर कुनै सन्धि सम्झौता गर्नु सही होइन । नेपाल र नेपालीलाई दूरगामी असर पार्ने काममा नेपाल सरकारले कहिल्यै समर्थन गर्नुहुँदैन । तर, भारत र अमेरिकाले मित्रताको नाउँमा नेपाल र नेपालीको हितविपरीत काम गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले शुक्रबार शिष्टाचार भेट गरे । उक्त भेटलगत्तै प्रम देउवाको अमेरिकी भ्रमणको अनुकूल समय खोजिरहेको खबर प्रकाशमा आएको छ । परराष्ट्र मन्त्रालय र वासिङ्गटन डीसीस्थित नेपाली दूतावासबिच देउवाको भ्रमणको लागि गृहकार्य गरिरहेको जानकारी पनि प्रकाशमा आएको छ ।
अमेरिकाले साम्राज्यवादविरोधी देशहरूलाई आक्रमण गरिरहेको छ, ध्वस्त बनाइरहेको छ । अन्ध अपाङ्ग बनाइरहेको छ । देश–देशबिच जुधाइरहेको छ । देशभित्र आन्तरिक द्वन्द्व मच्चाइरहेको छ । अरू देशमाथि आक्रमण गर्ने, ध्वस्त पार्ने देश त्यो देशको लागि कसरी मित्र हुन्छ ? विकासको निम्ति आर्थिक अनुदान दिन पनि सर्त राख्ने अमेरिका कस्तो देश ¤ आफ्नो प्रभाव फैलाउने, आफ्नो पुँजीमात्र खेलाउने र आफ्नो अनुमतिबिना अरू देशसँग सामान पनि खरिद गर्न नपाउने, खरिद गरे नाकाबन्दी गर्ने देश भारत कसरी प्रजातान्त्रिक देश हुन्छ ? छिमेकी र पुरानो सम्बन्ध भएको देश जोडेर देशै निल्ने र दूरगामी असर पार्ने काम गर्ने देश भारत र अमेरिकाको हरेक पाइलाबाट नेपाली जनता सचेत हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *