भर्खरै :

योग्य व्यक्तिलाई म्याद थप गर्नुपर्छ

दैलेख, १५ साउन । नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनी वडा नं. ७ वडा समितिको आयोजनामा शुक्रबार मष्टामाण्डुमा पार्टी कार्यकर्ताबीच छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा चामुण्डा बिन्द्रासैनी नगर समितिका उपाध्यक्ष कृष्ण ढकालले लोकसेवा आयोगबाट स्थायी कर्मचारी नआउँदासम्म करार कर्मचारीहरूको म्याद थप गर्नुपर्छ भन्नुभयो ।
पुँजीवादी पार्टीहरू काङ्ग्रेस, एमाले र माओवादी ‘गाँसेगुसेँ एकैनासे’ भएको उल्लेख गर्दै उहाँले नेपाल मजदुर किसान पार्टी वर्गसङ्घर्षलाई अगाडि बढाउन चाहन्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ चामुण्डा बिन्द्रासैनीका अध्यक्ष तथा जिल्ला सदस्य दीपक शाहीले सम्पूर्ण पीडित कर्मचारीहरू अन्यायविरुद्ध सङ्घर्ष गर्न आवश्यक छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनीका सदस्य जीवबहादुर शाहीले नगरपालिकाले करार कर्मचारीमाथि नाङ्गो हस्तक्षेप गरेको उल्लेख गर्दै योग्य व्यक्तिलाई म्याद थप गर्नुपर्छ भन्नुभयो ।
नगर समितिका अर्का सदस्य डिल्ली शर्माले नगरपालिकाले कर्मचारीमाथि राजनीति गरेको उल्लेख गर्दै हाम्रो नभई राम्रो कर्मचारी नियुक्ति गर्नुपर्छ भन्नुभयो ।
नगर समितिका अध्यक्ष शिवराज चौलागाइँको अध्यक्षतामा भएको उक्त छलफलमा नेपाल क्रान्तिकारी किसान सङ्घका जीवबहादुर शाही, प्रेम ढकाल, नेक्राविसङ्घका केशव शाहीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *