भर्खरै :

जिम्मेवारी कसको ?

  • श्रावण १७, २०७९
  • –एक स्थानीयवासी र साथीहरू
  • पाठक विचार

कुरो सूर्यविनायक चोक भक्तपुरको हो । वर्षाको याम छ । बाढी पहिरो जानु नेपालजस्तो पहाडी मुलुकमा सामान्य भएको छ । तर, बाढी पहिरो जानै नपर्ने सूर्यविनायक चोक क्षेत्रसमेत वर्षाद्वारा प्रभावित हुनु विडम्बनाको विषय बनेको छ । आकाशको पानी सूर्यविनायक गणेश मन्दिरको परिसरबाटै उत्तरतिर तँक्वपलीको ओरालो हुँदै पीच बाटोमा बग्न थाल्छ । ८ मिटर चौडा बाटो ढल निकासै नहाली पीच गरिएको छ । स्थानीयवासीले ढलनिकासको बन्दोबस्त गरेरमात्रै पीचको कार्य गर्न सूर्यविनायक नगरपालिकाको कार्यालय र दुवै वडा कार्यालय (वडा नं ६ र ८) हरूमा ताकेता नगरेका होइनन् । बाटोको दुवै साइडका घरवालाहरूले ढल निर्माणको लागि पाइप बिछ्याउन आवश्यक लागत मूल्यको ४० प्रतिशत व्यहोर्नुपर्ने कुरा सूर्यविनायक नगरपालिकाले उठाएपछि बाटो पीच गर्ने कार्य केही ढिलो हुन गएको यथार्थ हो ।
सूर्यविनायक मन्दिर जाने उक्त सडक कुनै १०÷२० वटा घर पुग्ने बाटो थिएन । काठमाडौँ उपत्यकावासीलगायत वरपर जिल्लाका श्रद्धालुहरूको घुइँचो लाग्ने बाटो पनि हो । यो गुण्डु, कटुञ्जे, सिपाडोल हुँदै अन्यत्र जाने वैकल्पिक बाटो हो । सूर्यविनायक गणेश मन्दिर, डोलेश्वर, आशापुरी, पाथिभरा, सुवर्णेश्वर, लिखानारायण, अनन्तलिङ्गेश्वर, पाइलट बाबा, रानीकोट, बाघ भैरव, घ्याम्पे डाँडाजस्ता धार्मिक स्थल र पिकनिक स्पोट पुग्ने बाटो पनि हो । त्यस्तै राष्ट्रिय प्राणी उद्यानको कार्यालय, सूर्यविनायक व्यारेक र प्रस्तावित अन्तर्राष्ट्रिय चिडियाखाना पुग्ने बाटो पनि यही हो । राष्ट्रिय महत्व बोकेको यो बाटोको निर्माण योजनाबद्ध ढङ्गले आउनुपथ्र्याे । उक्त बाटोको ढल निकासको लागि पाइपलाइन बिछ्याउन प्रतिघर १२ देखि २५ हजारसम्म उठाउने र लागतको ४० प्रतिशत असुल्ने, नगरपालिकाले ६० प्रतिशतमात्र व्यहोर्ने कुरो आएपछि सूर्यविनायक नगरपालिका र बाटो बनाउन ठेक्का पाएका ठेकेदारहरूप्रति स्थानीयवासीहरू रुष्ट भए । केही स्थानीय टोल सुधार समितिहरूमार्फत उक्त रकम उठाउन प्रयास पनि नभएको होइन ।
एकातिर वडावासीसँग विभिन्न करहरू उठाई सोचेको भन्दा डोब्बर राजस्व सङ्कलन गर्न सूनपा सफल भएकोमा गर्व गर्ने अर्काेतर्फ राज्यले बहन गर्नुपर्ने ढल निकासको रकम उही जनतालाई व्यहोर्न लगाउने दोहोरो मार स्थानीयले खप्न सक्ने कुरै थिएन । पाइप बिछ्याउन बजेट नभएको भनी ढल निकासविनाको पीच रोड बन्यो । वर्षाको पानी भेल बनेर त्यही पीच माथिबाट बग्छ । सूर्यविनायक चोक र लुथांबुँ जाने भुलाँचा चोकसम्म बग्ने यस्तो पानीले बटुवाहरू हिँड्नै नसकिने तुल्याएको छ ।
४ बजे स्कूल छुट्टी हुँदा त विद्यार्थी र केटाकेटीहरूको ताँती लाग्ने । बाटो काट्न पानीको भेल र खाल्डाखुल्डीले मुश्किल पार्ने । वरपर गाडी गुडिरहेको हुन्छ, पार्किङमा जस्तै ठड्याइराखेको हुन्छ । हिँड्ने ठाउँ नहुनेमात्रै होइन दुर्घटना हुनसक्ने सम्भावना पनि त्यतिकै रहेको छ । यस्तो सास्ती बटुवाहरूले कटिञ्जेल खेप्नुपर्ने हो ? स्मार्ट सिटी र अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने गफ हाँक्न नथाक्ने त्यस क्षेत्रका सभासद् र मेयरले जनतालाई भुलभुलैयामा पार्ने काम त धेरै गरे । भूमाफियाहरूसँगको मिलेमतोमा किसानहरूको जग्गा प्लटिङ गरी आफ्नो भागको बन्दोबस्त मज्जाले जोहो गरे । मुनाफा खानसम्म खाए ।
जनता हिँड्ने बाटोमा भेल बग्दा फोहोर कसिङ्गर बगाएर बाटोभरि छरपस्त हुँदा सम्बन्धित जनप्रतिनिधि र त्यस क्षेत्रका सांसदले जिम्मेवारी लिएको देखिँदैन । त्यस्तो व्यस्त हुने बाटोको पीच गर्ने कार्य गर्नुभन्दा अगावै ढल निकासको बन्दोबस्तसहित योजना गर्नुपथ्र्याे । निकासको निम्ति पटक–पटक खन्ने र बनाउने ठेक्का पाइहाल्छ । कमिसनको चलखेल भइहाल्छ । त्यस्तै प्रवृत्तिमा रमाउनेहरूले जनताले झेल्नुपर्ने दुःख कष्टको मतलब राख्ने कुरो पनि थिएन । जनता बुझ्न चाहन्छन्, यसको जिम्मेवारी कसको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *