भर्खरै :

नेमकिपा साम्राज्यवाद र अन्यायपूर्ण युद्धको विरोध गर्दछ

चीनको अभिन्न अङ्ग थाइवानमा भ्रमण गरेकी अमेरिकी प्रतिनिधिसभा सभामुख नान्सीको उत्तेजनात्मक अभिव्यक्तिबारे नेमकिपाले साउन १८ गते एक प्रेस वक्तव्य प्रकाशित गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को नाउँमा प्रकाशित विज्ञप्ति यसप्रकार छ
चीनको अभिन्न अङ्ग थाइवानमा भ्रमण नगर्न चीनले बारम्बार गरेको आग्रह र भ्रमण गरेको खण्डमा परिणाम खतरनाक हुने चेतावनीबीच २ अगस्ट, मङ्गलबार संयुक्त राज्य अमेरिकाको प्रतिनिधिसभाका सभामुख नान्सी पेलोसी थाइवान पुगेर उत्तेजनात्मक अभिव्यक्ति दिएको खबर सार्वजनिक भयो । चीनले त्यस कार्यलाई चीनको सम्प्रभुतामाथि ठाडो हस्तक्षेप, भूअखण्डतामाथि खलल पु¥याउने तथा थाइवान जलडमरुमा शान्ति र स्थिरतामाथि गम्भीर क्षति पु¥याएको बतायो । चीनले ‘आगोसँग खेल्नेले भस्म हुन तयार हुनुपर्ने’ कडा प्रतिक्रियासमेत दियो । संरा अमेरिका स्वयम्ले विगतमा ‘एक चीन नीति’ लाई स्वीकार गरेको यथार्थ जगजाहेर हुँदाहुँदै ‘चिनियाँ मुख्य भूमिबाट थाइवानलाई अलग्ग’ बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी आक्रामक नीति हो र यो निन्दनीय छ । त्यो कार्य सन् १९७१ मा गरिएको संयुक्त राष्ट्रसङ्घको २५७८ घोषणाविपरीत छ र विभिन्न कालखण्डमा चीन–संरा अमेरिकाबीच भएका विभिन्न सम्झौताको मर्मविपरीत पनि छ ।
संरा अमेरिकाले युद्ध उत्तेजनात्मक गतिविधि केही समयदेखि तीव्र पारेको जगजाहेर छ । ‘चीन घेर्ने नीति’ अन्तर्गत हिन्द–प्रशान्त रणनीति, एमसीसी, क्वाड, अउकस आदि नीति तथा सङ्गठन निर्माण गर्न क्षेत्रीय शान्ति तथा विश्व शान्ति खल्बल्याउने कार्य हो । चिनियाँ भूमिमा अस्थिरता फैलाउने, थाइवानमा क्रियाशील विखण्डनकारी सङ्गठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तेजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध ‘शीत युद्ध’ को अभ्यास गर्ने कार्य संरा अमेरिकाले गर्दै आएको सर्वविदित छ । त्यसैको सिलसिलाअन्तर्गत पेलोसीको थाइवान भ्रमण भएको प्रस्ट छ । निश्चय पनि, यसको परिणाम बाइडेन प्रशासनले भोग्नुपर्नेछ भन्ने चिनियाँ घोषणा देशभक्तिपूर्ण छ ।
नेपाल मजदुर किसान पार्टीले संरा अमेरिकी साम्राज्यवादको एसियामा नयाँ युद्ध थोप्ने चालबाजीको विरोध गर्दै आएको छ । नेमकिपा एसिया महादेश र विश्वमा अशान्ति फैलाउने कार्य बन्द गर्न माग गर्दछ । चीनको सम्प्रभुताको कदर गर्नु र ‘एक चीन नीति’ कुनै पनि अडिग भएर प्रस्तुत हुनु स्वयम् संरा अमेरिकाको निम्ति हितकारी हुनेतर्फ नेमकिपा बाइडेन प्रशासनको ध्यानाकर्षण गर्दछ ।
थाइवान चीनको अभिन्न अङ्ग हो भन्ने कुरामा शान्तिप्रिय नेपाली तथा कामदार जनता दृढ छन् । एसियाली तथा संसारका अन्य मानिसहरूझैँ नेपाली जनता पनि युद्ध चाहँदैनन्, शीतयुद्ध अगाडि बढेको मन पराउँदैनन् । तसर्थ, नेमकिपा, कामदार, शान्तिकामी जनता संरा अमेरिकी सरकारको संसारका विभिन्न भाग र देशहरूमा झगडाको ‘आगो झोस्दै’ हिँड्ने कार्यको विरोध एवम् निन्दा गर्दछ । विश्वभरि शान्ति, विकास र मानव जातिको ‘साझा भविष्य’ का निम्ति प्रयत्नरत चीन, चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व तथा चिनियाँ जनताको उद्देश्यप्रति नेमकिपा ऐक्यबद्धता प्रकट गर्दछ, साम्राज्यवाद र अन्यायपूर्ण युद्धको विरोध गर्दछ र संरा अमेरिकालाई आफ्नो युद्धपिपासु नीति तुरुन्त त्याग्नसमेत आग्रह गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *