भर्खरै :

जलवायु विपत्ति, महाविनाश, प्रजातन्त्र र समाजवाद

(नोम चोम्स्की अमेरिकी भाषाविद्, समाज वैज्ञानिक र राजनीतिक विश्लेषक हुनुहुन्छ । पर्यावरणीय सङ्कट समाधानको सवालमा उहाँ ‘न्यु ग्रीन डील पोलिसी’ (वातावरण सुहाउँदो लोक कल्याणकारी नीति) का पक्षधर हुनुहुन्छ । मिगुएल फुएन्तेस माक्र्सवादी–महाविनाशवादी विचारधाराका प्रस्तावक हुनुहुन्छ । एन्थ्रोपोसिन युग र छैटौँ सामूहिक विनाश वा विलोपन (मास एक्सटिङ्सन) ले थपेका चुनौतीहरूले गर्दा माक्र्सवादमा रणनीतिक परिमार्जन गर्नुपर्ने उहाँको प्रस्ताव छ । उहाँ चिलीका सामाजिक अध्येता हुनुहुन्छ । गाय म्याकफेर्सन प्राकृतिक सम्पदा, पर्यावरण र विकासवादी जीवविज्ञानका अमेरिकी प्रोफेसर हुनुहुन्छ । उहाँ मानव जाति लोप भएर जाने कुरामा विश्वास गर्नुहुन्छ र अराजकतावादमा आस्था राख्नुहुन्छ । गत जून महिनामा नोम चोम्स्की, मिगुएल फुएन्तेस र गाय म्याकफेर्सनबीच चर्किँदो वातावरणीय सङ्कट, मानव जातिको भविष्य वा महासंहार (कोल्याप्स), लोकतन्त्र र समाजवादमा केन्द्रित भएर बहस चलाइएको थियो । बहसको अन्त्यमा प्रसिद्ध माक्र्सवादी विद्वान तथा मन्थ्ली रिभ्यूका सम्पादक जोन बेलामी फोस्टरले टिप्पणी गर्नुभएको थियो । आफ्नो टिप्पणीमा उहाँ मानव जातिको तत्कालीन अभिभारामा केन्द्रित हुनुहुन्छ । यहाँ उक्त बहसको सारसंक्षेप प्रस्तुत गरिन्छ । भावानुवाद : सुरेश)
बहसको पहिलो प्रश्न : पछिल्लो एक बहसमा केही विद्वानहरूले पुँजीवाद आफै नष्ट भएर जाने सम्भावना नरहेको औँल्याउनुभयो । उहाँहरूले १.५ डिग्री सेल्सियस बराबरको ग्लोबल वार्मिङ वा विश्वव्यापी तापमान वृद्धि हुनुअघि नै जलवायु परिवर्तनलाई रोक्न नसकिने बताउनुभयो । के यहाँहरूलाई प्राचीन सभ्यताहरू जसरी नष्ट भएका थिए, त्यो भन्दा पनि ठूलो विश्व स्तरमा सामाजिक पतन हुने दिशामा हामी गइरहेको जस्तो लाग्छ ? के मानव जातिलाई नष्ट हुनबाट रोक्न नसकिने हो ? के जलवायु, ऊर्जा, अर्थ, समाज र राजनीतिको सङ्कटका साथै पुँजीवादको आत्मघाती बाटो हुँदै मानव जाति लोप नै हुने हो ?
चोम्स्की : सङ्केत अशुभ नै छ । तर आईपीपीसी (राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह) को लक्ष्य पूरा गर्न सकिन्छ । विश्वको कूल गार्हस्थ उत्पादनको २–३ प्रतिशत खर्च गरेमा यो लक्ष्य पूरा गर्न सकिने देखिएको छ । यो रकम दोस्रो विश्वयुद्धमा गरिएको खर्चको केही अंश मात्र हो । अहिले मानव जाति नै अचानोमा छ । मानव अभ्यास नै रहला वा नरहला भन्ने प्रश्न छ ।
अर्थशास्त्री रोबर्ट पोलिनले यसबारे व्यापक अनुसन्धान गरेका छन् । ढुङ्गे कोइलामा आधारित अर्थतन्त्र फेर्नुपर्ने उनको सुझाव धेरै ठाउँमा पालन हुँदै छ । राष्ट्रसङ्घको निकाय एरिनाले पनि यस्तै निष्कर्ष दिएको छ । यी सुझावहरू लागू गर्न धेरै समय बाँकी छैन । तर यसलाई लागू गर्दा सङ्घर्ष हुनेमा दुईमत छैन । शक्तिशाली स्वार्थ समूहहरूले महाविनाश भए पनि नाफा नै रोज्नेछन् । सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा नझारे प्रकृतिलाई फिर्ता ल्याउने सम्भावनाको ढोका बन्द हुनेछ । पृथ्वी ‘तापघर’ मा फेरिनेछ । तापक्रम औद्योगिक क्रान्तिअघिको तुलनामा ४–५ डिग्री सेल्सियस माथि हुनेछ । पृथ्वीमा मानव समाजको कुनै नामोनिसान नरहने हुनसक्छ ।
मिगुएल फुएन्तिस : चोम्स्कीले अन्य वैज्ञानिकहरूकै कुरा दोहो¥याउनुभएको हो । पछिल्लो एक रिपोर्ट अनुसार सन् २०५० देखि नै मानव सभ्यताको विनाश सुरू हुनेछ । हाम्रो ग्रहको धेरै हिस्सा बस्नलायक रहनेछैन । विश्व व्यवस्था र राज्यका सिमानाहरू भताभुङ्ग हुनेछन् । पछि फर्किने सम्भावना रहनेछैन । चोम्स्कीले ‘सफा ऊर्जा’, ‘वातावरणीय सुधार’ र ‘न्यु ग्रीन डील’ को कुरा गर्नुहुन्छ ।
यही शताब्दीमा विश्व मानव सभ्यता नष्ट हुने सम्भावनाको कुरा गर्ने, तर त्यसलाई केवल ‘हरित कर’ ले समाधान गर्न सकिन्छ पनि भन्ने ? यो समस्या ‘अन्तर्राष्ट्रिय वित्तीय चन्दा सङ्कलन’, ‘३ प्रतिशत जीडीपी’, ‘सफा ऊर्जा’, ‘पर्यावरणीय सुधार’, ‘हरित कर सङ्कलन’ ले समाधान हुने होइन । चोम्स्कीले भनेजस्तो पुँजीवादी आर्थिक मोडलभित्रै यो समस्या समाधान हुनसक्दैन । चोम्स्कीजस्तो विद्वानले वित्तीय पुँजीपतिहरूले जस्तो ‘कस्मेटिक’ पुनःसंरचनाको कुरा गर्न सुहाउँदैन । यो त पर्यावरणहितैषी समाजवादका पक्षधर र परम्परागत माक्र्सवादीहरूभन्दा पनि पछाडि जानु हो । कम्तीमा उनीहरूले औद्योगिक गतिविधि र उपभोगको तहमा कमी ल्याउनुपर्ने कुरा गर्छन् । आधुनिक र औद्योगिक सभ्यताको स्थानमा नयाँ सभ्यता निर्माण गर्नुपर्ने विचार राख्छन् ।
फेरि चोम्स्कीले भनेजस्तो जीवाष्म इन्धनबाट ‘सफा ऊर्जा’ मा जाने कुरा पनि मिल्दैन । कथित ‘सफा ऊर्जा’ वास्तवमै सफा छैन । सौर्य ऊर्जा वा वायु ऊर्जाका लागि ठूलो मात्रामा खानीहरू उत्खनन गर्नुपर्छ । ठूलो मात्रामा स्टील, कोइला, प्राकृतिक ग्यास र तेल पनि चाहिन्छ । हाइड्रोजन प्लान्टको लागि पनि धेरै ग्यास चाहिन्छ । फेरि यसप्रकारका नवीकरणीय ऊर्जा स्रोतबाट जति ऊर्जा निस्किने हो, त्यसले हालको माग पूर्ति गर्न सक्दैन । यी स्रोतहरूको मर्मतसम्भारमा पनि प्रदूषणकारी सामग्रीहरूको भारी प्रयोग हुन्छ ।
चोम्स्कीको तर्कको अर्को सीमा पनि छ । समस्या जलवायु परिवर्तनको मात्र होइन । कार्बनको मात्रा बढेर ४२० पीपीएम मात्र पुगेको होइन । समुद्रमा अम्लीकरण हुँदै छ । समुद्र पग्लिँदै छ, समुद्री सतह उकासिँदै छ । कार्बनकै कुरा गर्ने हो भने उद्योगहरूले प्रतिवर्ष ४० अर्ब टन कार्बन उत्सर्जन गर्छन् । अन्तरिक्षमा फोहरको थुप्रो लागेको छ । यिनलाई वर्तमान विज्ञानप्रविधिले रोक्न सकिन्न । यो केही दशकमा सफा हुने कुरा होइन ।
सीसाको भाँडो चकनाचुर भए पछि त्यसलाई फेरि उही रूप र आकारमा ल्याउन हम्मे हुन्छ । चाहे त्यसमा विश्वभरिको पैसा न किन नखन्याउनुहोस् । यस पृथ्वीमा पनि हामीले यही काम गरेका छौँ । हाम्रो औद्योगिकीकरणले पर्यावरणीय आत्महत्या गर्दै छ । ‘वित्तीय लगानी’ वा ‘प्राविधिक समाधान’ ले सम्भावित मृत्यु तर्काउन सक्दैन । मर्ने वा जोगाउन सकिने चिज जोगाउने ! स्थिति जतिसुकै भयावह भए पनि २१ औँ शताब्दीमा समाजवादी क्रान्ति गर्ने ! आवश्यक प¥यो भने शैतानको हातबाट भविष्य खोस्ने ¤ माक्र्सवादी–महाविनाशवादीको उद्देश्य यही हो !
गाय म्याकफेर्सन : यो तालले सामूहिक विलोपनबाट बच्न सकिन्न । मान्छेको घमण्डले सबैलाई डुबाउनेछ । केही वर्षपछि होमो स्यापियन्स (मानिसको वर्तमान प्रजाति) को लागि पृथ्वीमा बासस्थल हुनेछैन । औद्योगिक क्रान्तिअघिको (वा सन् १७५० को) तुलनामा अहिले २ डिग्री सेल्सियस तापक्रम बढेकै छ । ग्रीन हाउस ग्यासको मात्रा बढेको छ । जलवायु सङ्कटको मामिलामा हामी पछि फर्किन नसक्ने स्थान (नो रिटर्न) मा पुगिसकेका छौँ । सन् २०१९ को रिपोर्टमै आईपीसीसीले यो कुरा स्वीकारिसकेको छ । बढ्दो डढेलो, बाढी र खडेरीले यो कुरा पुष्टि गरेको छ ।
होमो जीनका दर्जनौँ स्पीसिज वा प्रजातिहरू लोप भइसकेका छन् । मेरूदण्डधारीहरू जति प्रकृतिमा ढल्न वा अनुकूलित हुनसक्छन्, त्यो भन्दा १० हजार गुना रफ्तारमा वातावरणीय हेरफेर हुँदै छ । स्तनपायीहरूको पनि उही हाल छ । ९९ प्रतिशत मेरूदण्डधारी स्तनपायीहरू लोप भएर गएका छन् । मान्छे पनि यसरी नै जाने हो । कहिले ? प्रश्न यत्ति हो । सन् २०१९ को एक युरोपेली प्रतिवेदनले पृथ्वीले बढीमा १.५ डिग्री सेल्सियस वृद्धि सहन सक्छ भनिएको छ । प्राणीको लागि बासस्थान महत्वपूर्ण छ । बासस्थान नै नभएपछि बासिन्दाहरू लोप हुने निश्चित छ । सबैभन्दा कडा मानिएका टार्डीग्रेडहरू पनि लोप भएर जानेछन् ।
विकिपिडिया र आइपीसीसीजस्ता अत्यन्त रूढीवादी संस्थाले समेत वातावरणीय परिवर्तनलाई तीव्रतम् भनेका छन् । यसबाट मरूभूमि फैलिने, तापलहरहरू र डढेलो बढ्ने तथा हिउँ पग्लिने, हिमनदी फुट्ने, आँधीबेहरी आउने लेखेका छन् । आईपीसीसीको सन् २०१९ को रिपोर्टले नै जलवायु परिवर्तन पछि फर्काउन नसकिने स्थितिमा पुगेको लेख्यो । खासमा आईपीसीसी आफैमा वातावरणीय अभियन्ताहरूको मुख थुन्न रोनाल्ड रेगनको पालामा स्थापना गरिएको संस्था हो ।
बहसको दोस्रो प्रश्न : के मानव जाति पृथ्वीको लागि प्लेग बनेको हो ? वर्तमान शताब्दीमा १२ अर्ब पुग्ने भनिएको जनसङ्ख्या सोचिल्याउँदा वर्तमान मूल्यमान्यताहरूले जीवनको अस्तित्वमा टेवा देलान् त ? किनभने एक अध्ययन अनुसार पृथ्वीमा पर्यावरण नबिथोली बाँच्न सक्ने जनसङ्ख्या १ अर्ब हुने रहेछ । व्यक्तिगत स्वतन्त्रता, पहिचान, लैङ्गिक वा सांस्कृतिक स्वतन्त्रतासहितको प्रजातान्त्रिक वा समाजवादी अवधारणा यो सङ्गीन घडीमा काम लाग्ला कि सामाजिक सङ्गठनको अर्कै स्वरूप खोज्नुपर्ने हो ? जस्तो आदिवासी वा रैथाने जातिहरूको हुने गर्छ ? आसन्न विश्वव्यापी विपत्तिको सन्दर्भमा पृथ्वीमा मानव अस्तित्वको अधिकार, मानव अधिकारहरू र निजी स्वतन्त्रताका आधुनिक अवधारणाहरू एकै ठाउँमा रहन सक्लान् ?
नोम चोम्स्की : जनसङ्ख्या वृद्धिबाट कुरा थालौँ । यसलाई रोकथाम गर्न महिला शिक्षा मानवीय र व्यावहारिक विधि हो । धनीगरिब दुवैमा यसले अहम् भूमिका खेल्न सक्छ । विकसित देशहरूमा यो प्रभावकारी देखिन्छ । त्यहाँ जनसङ्ख्यामा भारी कटौती भएको छ । यो कुरा अन्य भेगमा पनि लागू हुन सक्छ । ‘विश्वव्यापी पर्यावरणीय र सामाजिक विपत्ति’ लाई रोक्न सामाजिक र संस्थागत परिवर्तनहरू पनि गर्नुपर्छ । न्याय, स्वतन्त्रता, परस्पर सहयोग, सामूहिक जिम्मेवारी, सङ्घसंस्थामा प्रजातान्त्रिक नियन्त्रण, अन्य प्रजातिहरूप्रतिको चासो, प्रकृतिसँगको तादात्म्य आदिमा ध्यान दिनुपर्छ । आदिवासी समाजहरूमा यी मूल्यमान्यताहरू भेटिन्छन् । ‘विकासित समाजहरू’ मा हुने जनसङ्घर्षहरूमा पनि यो भावना छचल्किन्छ । तर यहाँ भौतिक र नैतिक विकासमा त्यति तादात्म्य भेटिन्न ।
मिगुएल फुएन्तिस : चोम्स्कीले महिला शिक्षा र ‘नैतिक मूल्य’ मा जोड दिनुभएको छ । यो विचार औद्योगिक प्रणाली, पुँजीवाद र वर्गीयजस्तो ठूलो दृश्यबाट चुँडेको छ । वर्तमान आत्मघाती आर्थिक प्रणालीको उन्मूलन गरेर सामाजिक आवश्यकतामा आधारित उत्पादन, विनिमय र वितरण हुने व्यवस्था ल्याउनुपर्ने कुराबाट चोम्स्कीको विचार धेरै टाढा छ । तर नयाँ पुराना माक्र्सवादीहरू पनि यस मानेमा पछि छन् ।
सबैभन्दा ठूलो चुनौती अनियन्त्रित जनसङ्ख्या वृद्धि हो । जीव जगतमा यसले महामारी वा प्लेगकै काम गरेको छ । २ अर्ब ४० करोड वर्षअघि पृथ्वीमा पहिलो सामूहिक विलोपन भएको थियो । साइनोब्याक्टेरियाले त्यो विलोपन सुरू गरेको थियो । अलि छुचो सुनिएला, तर मान्छेको व्यवहार, सम्पदा दोहन र बासस्थानको विनाश हेर्दा यो अस्वाभाविक होइन । पृथ्वीको एउटै प्रजाति अर्थात् मान्छेकै कारण प्रति वर्ष १० हजार प्रजातिहरू नष्ट हुन्छन् । आगलागीका कारण अष्ट्रेलिया वा अमेजनमा केही वर्षमा अरबौँ जीवजन्तु सखाप भएका होइनन् ?
जीव जगतमा मात्र होइन मान्छेले सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि प्लेगकै काम गरेको छ । खालि निश्चित उत्पादन पद्धतिमा पुग्दा यो समस्या प्रकट भए पनि उत्पादनमा हिस्सा लिने सबैलाई यसको दोष जान्छ । धनी–गरिब, मालिक–श्रमिक, महिला–पुरूष सबैले यसको जिम्मेवारी लिनुपर्छ । संसारको जुन कुनामा भए पनि बहुराष्ट्रिय कम्पनीका उत्पादनहरू सबैले उपभोग गर्छन् । जस्तो जैविक प्लेगमा पनि कुनै फट्याङ्ग्राले अर्को ठाउँको फट्याङ्ग्राको तुलनामा बढी हसुर्ने गर्छ । एउटाले थोरै हसु¥यो भन्दैमा उसलाई छुटकारा दिन सकिन्न । संसारका २० प्रतिशत मानिसले ८० प्रतिशतको स्रोतसाधन हसुरे भन्दै गर्दा ८० प्रतिशतले पनि त्यति नै हसुर्न पाउनुपर्छ भनेको त होइन ? यो ८० प्रतिशत भनेको २० औँ शताब्दीको थालनीको जनसङ्ख्या हो भनी भुल्नुहुन्न । उनीहरूले थोरै नै हसुरे पनि पृथ्वीमा त्यसको दबाब ठूलो हुन्छ ।
यसरी मान्छे नै पृथ्वीको काल बन्दै छ । यसको लागि उत्पादन पद्धति, वर्गीय संरचना र सामाजिक–राजनीतिक प्रणाली फेरेर मात्र पुग्दैन । बरू प्रकृति र मानवबीचको ध्वंसात्मक सम्बन्धमा हेरफेर ल्याउनुपर्छ । नवउदारवादी वा समाजवादी, जस्तोसुकै समाज होस् औद्योगिक समाज, महानगरीको जीवनशैली, हन्तकाली उपभोग र जीवनपद्धति मुख्य समस्या हुन् । अथवा ‘मानवकेन्द्रित भावना’ नै मूल समस्या हो ।
जनसङ्ख्या वृद्धि हाम्रो प्रजाति अस्तित्वका लागि हानिकारक छ । त्यसैले केही शताब्दीसम्म यसमा नियन्त्रण गर्नुपर्छ । जहाँसम्म मूल्यमान्यताको सवाल छ आधुनिकता विफल भएको छ । खानैबस्नै नपुगे पनि मूल्यमान्यता कहाँ फस्टाउँछ ! त्यसैले हामी को हौँ, कहाँ जाँदै छौँ र कहाँबाट आएका हौँ भन्ने मौलिक प्रश्नबाटै चिन्तन गर्नुपर्ने भएको छ । आधुनिकता, प्रजातन्त्र, समाजवाद मृत भइसके । सङ्कट नजिकिँदै गर्दा नम्र भई सिरानबाटै सोच्न जरूरी छ ।

आधुनिक सभ्यताले राम्रा चीजसँगै अत्यन्त निकृष्ट चीज पनि जन्माएको छ । हामी सम्पन्न परिवारको बिग्रेको सन्तान साबित भएका छौँ र सब चीज गुमाउँदै छौँ । औद्योगिक समाजले तीन शताब्दीमै आफ्नो अस्तित्व धरापमा पा¥यो । त्यसैले हामीले पाका दाजुहरूको कुरा सुन्नुपरेको छ । आदिवासी र परम्परागत समाजबाट पर्यावरणमा सन्तुलन कसरी ल्याउने, सिक्नुपरेको छ । पर्यावरण र समाजबीच कसरी सन्तुलन ल्याउने, पर्यावरण र अन्य प्रजातिहरूलाई कसरी सम्मान गर्ने थाहा पाउनु छ । विज्ञान र प्रविधिलाई के गर्ने त ? अलि लामो समय लगाएर अघि बढ्ने । कसलाई हतार छ र ? कछुवाबाट सिकौँ । सुस्त गतिले नै उसले २२ करोड वर्ष बाँच्न सकेको हो । जब कि होमो स्यापियन्सको उमेर नै २ लाख ५० हजार वर्ष न हो ¤ तर यही होमो स्यापियन्सले कछुवालाई लोपोन्मुख बनाउँदै छ !
गाय म्याकफेर्सन: जनसङ्ख्या र उपभोगको आकारले नै वातावरणमा असर गरेको पर्यावरणविद्हरूको भनाइ छ । पृथ्वीले भौतिक सुखसुविधामा लिप्त केही पुँजीपतिहरूको तुलनामा धेरैधेरै फिरन्ते जातिलाई बास दिन सक्छ । पर्यावरणविद् र वातावरणवादीहरूले मानव व्यवहारमा परिवर्तन गर्नुपर्ने सल्लाह दिँदै आएका छन् । तर फुटेको कानलाई सुनाएझैँ भइरहेको छ । अहिलेलाई सङ्कट टार्न सकियो नै भने पनि कतिञ्जेल त्यस्तो गर्न सकिएला, प्रश्नको विषय छ ।
‘एरोसेल मास्किङ’ अर्को समस्या छ । सन् १९२९ यता यसको विषय उठेको हो । ग्रीन हाउस ग्यासहरूले सौर्य किरणलाई पृथ्वीमा समातिराख्छन् । तर, उद्योगहरूबाट नै निस्किने एरोसेल कणहरूले सौर्य किरणलाई पृथ्वीमा पस्नै दिन्नन् । यसले गर्दा पृथ्वी चिसिन्छ । तर एरोसेल कणहरूले ग्रीन हाउस ग्यासहरूलाई पृथ्वीमा कैद पनि गर्छन् । त्यसैले पृथ्वीको तापमान बढाउन यिनले नाटकीय भूमिका खेल्छन् । एरोसेल कणहरू हावाबाट भुइँमा झर्न पाँच दिन लाग्छ । यसरी एरोसेल कणहरूमा ५५ प्रतिशत कमी आएमा पृथ्वीको तापमान बढ्ने एक अध्ययनले देखाएको छ । सन् २०२१ मा प्रकाशित एक अनुसन्धानपत्र अनुसार यसले पृथ्वीको सतहको तापमान १३३ प्रतिशतले बढ्नेछ । त्यो भनेको सन् १७५० को तापमानमा थप ३ डिग्री सेल्सियस बढ्ने हो !
खासमा सन् १९९२ देखि नै सामूहिक विलोपन सुरू भएको हावर्डका एक प्रोफेसरले लेखेका छन् । राष्ट्रसङ्घकै एक निकायले सन् २०१० मा जनाए अनुसार दैनिक १५० देखि २०० प्रजातिहरू लोप भइरहेका छन् । ‘नेचर जर्नल’ ले समेत सन् २०११ मा पृथ्वीमा हाल सामूहिक विलोपन चलिरहेको पुष्टि गरेको छ । सन् २०१५ को एक अध्ययनपत्रले यसलाई छैटौँ सामूहिक विलोपन भनेको छ । हाम्रो प्रजाति छिट्टै लोप भए पनि पृथ्वीमा जीवन पलाउन लाखौँ वर्ष लाग्न सक्ने अर्को एक अनुसन्धानले बताएको छ । लाखौँ वर्षअघि लोप भएका प्राणीहरू अझै पनि बौरिन नसक्नुबाट यो कुरा साबित हुन्छ । आदिवासी सोचबाट हालका घटनाहरू केलाउन सकिन्छ । बुद्धिमानी पु¥याए सही बाटो पहिल्याउन सकिन्छ ।
जोन बेलामी फोस्टर : नोम चोम्स्की, मिगुएल फुएन्तिस र गाय म्याकफेर्सनका कतिपय विचारसँग म सहमत छु । मेरो विचार विश्वभरिका वैज्ञानिकहरूको निष्कर्ष र ऐतिहासिक भौतिकवादी कोणबाट गरिएको पुँजीवादको आलोचनामा आधारित छ । वैज्ञानिकहरूको निष्कर्षको कुरा गर्दा राष्ट्रसङ्घको आइपीसीसीको प्रतिवेदन महत्वपूर्ण हुन आउँछ । त्यसो त पृथ्वीमा जीवनको अस्तित्वका निम्ति विभिन्न सीमाहरू छन् । तर यहाँ जलवायु परिवर्तनमा केन्द्रित हुनेछौँ ।
आईपीसीसीको छैटौँ प्रतिवेदन सन् २०२१–२२ मा प्रकाशित भयो । यस प्रतिवेदन अनुसार १.५ डिग्री सेल्सियस तापक्रम वृद्धि रोक्न अब एकदम मुस्किल छ । बरू सन् २०४० सम्ममा यो वृद्धि भइसक्नेछ । यो शताब्दीको मध्यसम्ममा थप ०.१ डिग्रीसम्म बढ्न सक्छ । र, शताब्दीको अन्त्यसम्ममा १.४ डिग्रीमा झर्छ । यति गर्नका लागि सन् २०३० सम्ममा कार्बन उत्सर्जन उत्कर्षमा पुग्नुपर्छ र सन् २०५० मा शून्यमा झार्नुपर्छ ।
प्रत्येक आईपीसीसी प्रतिवेदनका तीन भाग हुन्छन् । तिनलाई छुट्टाछुट्टै प्रकाशित गरिन्छ । तिनको पुछारमा ‘नीतिनिर्माताहरूका लागि सार–सङ्क्षेप’ दिइएको हुन्छ । अघिल्लो खण्डमा वैज्ञानिकहरू लेख्ने हुनाले बुझ्न जटिल हुन्छ । त्यसैले धेरैले यही ‘सार–संक्षेप’ पढ्छन् । पत्रकारहरूले रिपोर्टिङ गर्ने र सरकारहरूले नीति निर्माण गर्ने ‘सार–संक्षेप’ पढेर हो । त्यसैले सरकारहरूले आ–आफ्नो अनुकूलतामा आईपीसीसी प्रतिवेदनको अर्थ निकाल्छन् । यसरी वैज्ञानिकहरूले दिएका समाधानका उपायतिर सरकारी नीतिले बहिरा कान फर्काउँछन् ।
२०२१ अगस्टमा प्रकाशित राष्ट्रसङ्घको ‘मिटिगेसन रिपोर्ट’ को तेस्रो भाग देखेर पुँजीवादी विश्व छटपटियो । त्यसमा वैज्ञानिकहरूले उत्पादन, उपभोग र ऊर्जा खपतमा क्रान्तिकारी रूपान्तरण चाहिने लेखेका छन् । यति नगरे यो शताब्दीको अन्त्यसम्ममा १.५ डिग्री वा घटीमा २ डिग्री सम्मको वृद्धि हासिल गर्न सकिन्न र जलवायु परिवर्तनबाट पछि हट्नै सकिन्न । जलवायु परिवर्तन नियन्त्रणबाहिर जानेछ । यो साँध नाघे यो शताब्दीको अन्त्यमा पृथ्वीको औसत तापक्रममा ४.४ डिग्री सेल्सियस वृद्धि हुनेछ । ‘मिटिगेसन रिपोर्ट’ को पहिलो भागमा पुँजीवादकै दिगो विकासमाथि शङ्का गरिएको छ ।
ठूला देशका सरकारहरूले ‘सार–संक्षेप’ मा तलमाथि गर्छन् भनेर केही विद्रोही वैज्ञानिकहरूले ‘मिटिगेसन रिपोर्ट’ को तेस्रो भाग अगस्ट २०२१ मा चुहाइदिए । १.५ डिग्रीको लक्ष्य हासिल गर्न विद्यमान प्रविधि निरूपाय छ र व्यापक सामाजिक उथलपुथल नभई यस्तो लक्ष्य हासिल गर्न सकिन्न भन्ने कुरा उनीहरूले बुझेका थिए । उनीहरूले चुहाएको तेस्रो ‘सार–सङ्क्षेप’ मा दक्षिणी गोलाद्र्धका युवा, मजदुर, महिला र अन्य उत्पीडितहरूको जनलहरलाई ठूलो महत्व दिइएको छ । किनभने, जलवायु परिवर्तनमा उनीहरूको दोष न्यून हुन्छ, तर त्यसको मार सबैभन्दा बढी खेप्नुपर्छ । वैज्ञानिकहरूको प्रयासपछि पनि ठूला देशका सरकारहरूले त्यो प्रतिवेदनमा संशोधन गरे । कतिसम्म भने वैज्ञानिकहरूले एक दशकभित्रै कोइलाले चल्ने प्लान्टहरू बन्द गनुपर्ने निष्कर्ष दिएका थिए, तर नयाँ ‘सार–सङ्क्षेप’ मा कोइला खपत बढाउन सकिने लेखियो । वैज्ञानिकहरूले ‘निहीत स्वार्थ’ को कुरा लेखेका थिए, नयाँ ‘सार–संक्षेप’ मा त्यो शब्दावली नै हटाइयो । वैज्ञानिकहरूले ऊर्जा खपत घटाउनुपर्ने र सामाजिक रूपान्तरण हुनुपर्ने लेखेका थिए । त्यो सबै मेटाइयो ।
हाम्रो सङ्घर्ष कहाँनिर हुनुपर्ने हो, यसबाट स्पष्ट हुन्छ । मानव जातिसामु अघि बढ्ने बाटो छ । तर बहुराष्ट्रिय कम्पनीका मालिकहरू र धनकुवेरहरूका चाकर बनेका आजका सरकारहरू र पुँजीवादी विश्व व्यवस्था त्यसमा तगारो बनेर उभिएका छन् । उनीहरूलाई पर्यावरणीय र सामाजिक परिवर्तनमा चासो छैन । पर्यावरणविद् राचेल कार्सनले यी धनकुवेरहरूलाई ‘उत्पादन र नाफाका देवताहरू’ भनेकी थिइन् । यी ‘देवताहरू’ को निम्ति पृथ्वीलाई नै बलिको बोका बनाइएको छ । समाजको तल्लो तहबाट नै एउटा सामाजिक ज्वालामुखी फुट्नुपर्छ । एउटा नयाँ वातावरणीय सर्वहारा उठेमा मात्र विगतमा जस्तै समस्या समाधान हुनसक्छ । इतिहासकै सङ्गीन मोडमा हामी उभिएका छौँ । विश्वव्यापी पर्यावरणीय विद्रोह उठ्दै छ । करोडौँ मानिसहरू आन्दोलनमा जोडिएका छन् । पृथ्वी जोगाउन यतिले पुग्ला ? अहिल्यै भन्न गा¥हो छ । तर, सङ्घर्ष सुरू भइसकेको छ । यो सङ्घर्षमा हातेमालो गरेमा मानव जातिले जित्न सम्भव छ ।
‘मिटिगेसन रिपोर्ट’ मा विश्वका वैज्ञानिकहरूले बताए अनुसार नै पनि ‘पर्यावरणमैत्री’ पुँजीवादी आधुनिकीकरण, ‘कार्बन कर’ वा ‘प्रकृतिको वित्तीयकरण’ आदिले समस्या समाधान हुनेछैन । ढिलो भइसकेको छ । त्यसैले यी उपायहरू अपुग हुनेछन् । पुँजीको जोडबलले पृथ्वी नष्ट मात्रै भएको छ । जलवायु संरक्षणको नाममा फेरि पनि पुँजी सञ्चयको नमेटिने भोक मेटाउन खोजिने छ । नोम चोम्स्कीले ‘न्यू ग्रीन डील’ को कुरा गर्नुभयो । प्राविधिक हेरफेर गरेर आर्थिक वृद्धिबाट ग्रीन हाउस ग्यासको उत्सर्जनलाई अलग्याउने कुरा गर्नुभयो । यो आफैमा पुँजीवादी पर्यावरणीय रणनीति हो । अहिले आएर यी उपायहरू असरदार हुँदैनन् । हामीसँग अलि बढी समय हुन्थ्यो भने कुरा अर्कै हुन्थ्यो । रोचक कुरा के छ भने वर्तमान पुँजीवादी व्यवस्था चोम्स्कीजस्ता विद्वानहरूले सुझाउनुभएको उपाय अपनाउन पनि तयार छैन । यी हलुका उपायहरूलाई पनि उसले खतराको रूपमा हेर्दै छ । जीवाष्म इन्धनबाट आउने पुँजीसँग सत्तासीन पुँजीपति वर्गको नाइटो जोडिएको छ । त्यसैले ऊ कुनै पनि सुधारमा राजी छैन । आफूवरपर ठूलाठूला किल्ला ठडाएर पृथ्वीलाई लुट्दै ऊ कछुवा गतिमा घस्रिँदै छ । ‘जगतको यो मालिक’ का आँखामा यो आत्मघाती रणनीति होइन । उसले यस्तो किन सोच्छ ? किनभने, ऊ मानव जातिबाट, पृथ्वीबाट र भविष्यबाट अलग्गिएको छ । उसको चेतना अलगावग्रस्त छ ।
चोम्स्की, फुएन्तिस र म्याकफेर्सन तीनैजनाको कुरामा केही सत्यता भए पनि एक हदसम्म आत्मसमर्पणको भाव छ । तर, मानव जातिले आत्मसमर्पणको हात उठाउनेछैन । कार्ल माक्र्सको समयमा बेलायती उपनिवेशवादी शासनले आयरल्यान्डका जनता र वातावरणमा ठूलो विध्वंस मच्चाएको थियो । त्यसबारे उहाँले भन्नुभएको थियो – ‘विनाश वा क्रान्ति’ । अबका केही दशकमा हामीमाथि असङ्ख्य पर्यावरणीय बज्रपात हुनेछ भन्ने हामीलाई थाहा छ । यसको अर्थ अस्तित्वका निम्ति अब मानव जाति भुइँ तहदेखि नै स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एकजुट हुनुपर्छ । मान्छेको भावी पुस्ता नै सङ्कटमा परेको बेला मानव जातिलाई बचाउने जिम्मेवारी सीमान्तकृत, असहाय, शोषित र उत्पीडित वर्गको काँधमा आएको छ । हाम्रो अडान यहीँनिर हुनुपर्छ । जस्तो आइरिस क्रान्तिकारी जेम्स कोन्नोलीले लेखेको गीत बोल्छ :
‘लचिलो बन, हामीलाई चाहिएको यो धर्ती मात्र हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *