भर्खरै :

पोखरा टीभीमा अन्तर्वार्ता

पोखरा टीभीमा अन्तर्वार्ता

पोखरा, २२ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले तत्कालीन ओली सरकारले संसद् विघटन गरेलगत्तै निर्वाचन आयोगले चुनावको मिति घोषणा गर्नुपर्ने थियो भन्नुभएको छ । पोखराको पोखरा टेलिभिजनका माधव पनेरुसँगको कुराकानीको शिलशिलामा उहाँले चुनाव चिह्नको आधारमा मतदान गर्ने परिस्थिति हुन नहुने बताउनुभयो । “चुनाव चिह्नको आधारमा होइन, दलको घोषणापत्र र विचारधाराको आधारमा मतदान गर्नुपर्छ”, उहाँले बताउनुभयो ।
तोकिएको मितिमा निर्वाचनमा हुने नहुने विषयमा सोधिएको प्रश्नमा उहाँले नेपालको राजनीति वर्षायामको हावापानीजस्तै अनिश्चित भएको भन्दै निर्वाचनको तयारीबारे नेमकिपामा छलफल थाल्ने बताउनुभयो ।
बिजुक्छेँले भन्नुभयो, “बुद्धिजीवीहरूले सही विचारको मुखले समर्थन गर्ने तर व्यवहारमा विरोध गर्ने अवस्थाले देशमा आमूल परिवर्तन कठिन भएको छ ।”
उहाँले युवाहरूले नेतृत्व गर्दैमा देशमा सही परिवर्तन नहुने बताउँदै व्यक्तिले भन्दा व्यक्तिको परिवर्तनकारी विचारले देशमा परिवर्तन सम्भव हुने बताउनुभयो ।
कूटनीतिक गल्तीको कारण देशले ठूलो क्षति भोग्ने सन्दर्भमा चर्चा गर्दै कूटनीतिक गल्तीको कारण युक्रेन लडाइँको चपेटामा परेको बताउनुभयो ।
उहाँले युक्रेन लडाइँमा नेपालले युक्रेनको पक्ष लिनु गलत भएको भन्दै युक्रेनको समर्थन गरेर नेपालले संरा अमेरिकाको कूटनीतिक खुुसामद गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *