भर्खरै :

पोखराका युवा साहित्यकार र लेखकहरूद्वारा अध्यक्ष बिजुक्छेँसित अन्तरसंवाद

पोखरा, २१ साउन । पोखरा पुग्नुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग शनिबार पोखरेली युवा साहित्यकारहरूले अन्तरसंवाद गरे । पोखरेली पुस्तकप्रेमी र लेखकहरूको भेटघाटको थलो ‘हिमालयन रिडर्स कर्नर’ मा पोखराका विभिन्न साहित्यिक सङ्घ–संस्थाको आयोजनामा भएको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष बिजुक्छेँले आफ्नो राजनीतिक र साहित्यिक यात्राबारे चर्चा गर्नुभयो ।
नेपाली साहित्यमा कलम चलाउँदै आएका उहाँले साहित्य र राजनीति आफूलाई कहिल्यै अलग विषय नलागेको बताउनुभयो ।
कामदार जनतालाई राजनीतिकरूपमा सचेत बनाउने हतियारको रूपमा साहित्य लेख्न थालेको भन्दै अध्यक्ष बिजुक्छेँले जनताको बीचबाट कामदार वर्गका व्यक्तिलाई नै नायक नायिका बनाएर साहित्य लेख्न आवश्यक भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “मेरो साहित्यका सबै पात्रहरू जीवित पात्र हुन् । जनताकै बीचबाट पात्र छनोट गरेर साहित्यमा नायक बनाउने गरेको छु ।”
आदर्शविनाको राजनीति हुन नसक्ने र हुन नहुने चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले देश र व्यापक नेपाली जनताको हितमा सिद्धान्तनिष्ठ राजनीति गर्न आवश्यक भएको बताउनुभयो ।
साहित्य र कलाका विविध विधा प्रयोग गरी जनतालाई सचेत बनाउने जिम्मेवारीप्रति लेखक कलाकार सधैँ सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
रुसी अक्टोबर क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति र अमेरिकी स्वतन्त्रता आन्दोलनको चर्चा गर्दै उहाँले संसारमा राजनीतिक आन्दोलन र क्रान्ति अघि बढ्दा साहित्यले पनि फड्को मार्ने प्रस्ट पार्नुभयो ।
नेपाल लेखक सङ्घका अध्यक्ष एवम् कवि तीर्थ श्रेष्ठले देशमा सङ्कट आइपर्दा नेपाली जनताले विश्वासका साथ नारायणमान बिजुक्छेँको धारणा सुन्न खोजिरहने बताउनुभयो ।
उहाँले आफ्नो थलोको विषयमा इतिहासदेखि भविष्यसम्म गहिरो ज्ञान भएको नेताको रूपमा बिजुक्छेँको व्यक्तित्वबारे प्रकाश पार्नुभयो ।
युवा लेखक सुरज उपाध्यायको सभापतित्वमा भएको अन्तरसंवाद कार्यक्रममा सञ्जीव पौडेल र प्राञ्जललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *