भर्खरै :

सरकारको गलत नीतिले नेपालका उद्योगहरू बन्द

सरकारको गलत नीतिले नेपालका उद्योगहरू बन्द

नेपाल काङ्ग्रेस सरकारी उद्योग, कलकारखाना तथा संस्थानहरू निजीकरण गर्ने र बेच्ने दल हो । भएका कल कारखानाहरू घाटा भएको बहानामा बन्द गर्ने नेकाको सरकारले अर्को कारखाना खोलेर जनताका आधारभूत आवश्यकताहरू पूर्ति गर्ला भन्ने विश्वास कसरी गर्ने ? नेपाली काङ्ग्रेसका सरकारहरूकै कारण देशमा दर्जनौँ महत्वपूर्ण सरकारी कारखाना तथा संस्थानहरू बन्द भएको थियो । बुटवल धागो उद्योग र हेटौँडा कपडा कारखाना बन्द भए । स्वदेशी कपास, स्वदेशी धागो र स्वदेशी सुतीको कपडा उत्पादन गरेर आत्मनिर्भर हुने सरकारी योजना असफल भयो । बन्द भएका ती उद्योग र कलकारखानाहरूको अझै जग्गा, भवन र मेसिनहरू बाँकी छन् । केही सुधार तथा मर्मत सम्भार गरेर ती उद्योगहरू सञ्चालन गर्न नसकिने होइन । आफ्नै जग्गा, आफ्नै भवन भएको उद्योग चलाउन सरकारलाई के समस्या ?
चिनी, कागज, कपडा, चिया, सिमेन्ट, छालाको जुत्ता आदिमा नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ । यी सबै उद्योग पहिले राम्ररी नै चलेका थिए । उद्योग सञ्चालक या प्रबन्धकहरूले इमानदारीपूर्वक उद्योग सञ्चालन गरेका भए उद्योग डुब्ने स्थितिमा आउने थिएन । पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउने, उद्योगमा अनावश्यक कर्मचारी राख्ने, अनियमितता र चुहावट बढी गरेका कारण उद्योग घाटामा गएको थियो । जिम्मेवार व्यक्तिहरू जसरी भए पनि कमाउने ध्येयले लाग्दा उद्योग घाटामा गएको थियो । घाटामा गएको हो भने सरकारले घाटाको कारण थाहा पाउनुपथ्र्याे, छानबिन गर्नुपथ्र्यो र कहीँ कतै कैफियत भए समाधान गर्न सकिन्थ्यो र फेरि उद्योग सञ्चालन गर्न सकिन्थ्यो ।
नेकाको नीति नै निजीकरण हो । देशका उद्योगहरू भारतीय उद्योगपतिलाई छोड्ने या बन्दै गरेर भारतबाट सामान आयात गर्ने उनीहरूको स्वार्थ हो । नेकाका युवा नेता गगन थापाले भनेका थिए, उद्योग घाटामा गएकोले बेचेकै हो । देशका उद्योगहरू बन्द गरेर सबै सामान भारतबाट ल्याउँदा के नेपाल र नेपालीलाई फाइदा हुन्छ ? नेपाली सम्पत्ति विदेशिनु के फाइदा हो ? के विदेशबाट सामान आयात गर्दा नेपाललाई फाइदा हुन्छ ? उद्योग सञ्चालन गर्दा केही लाख, करोड घाटा नै भए पनि ती उद्योग बन्द गरेर आवश्यक सामान विदेशबाट ल्याइँदा अरबौँ–खर्बाैँ देशको रकम घाटा हुन्छ । उद्योगभित्र देखिएको कमजोर व्यवस्थापनमा ध्यान दिइएको भए, आवश्यकमात्र कर्मचारी राखेको भए, चुहावट र अनियमितता रोकेको भए उद्योग बन्द हुने थिएन । आफ्नै देशमा उद्योग चल्दा राजस्व बढ्छ, नेपाली जनताले काम पाउँछन्, सामान सस्तो र सुलभ हुन्छ । कारखाना बन्द गर्ने, मजदुरलाई बेरोजगार बनाउने र करोडौँ, अरबौँ मूल्य बराबरको जग्गा, भवन, मेसिन तथा अन्य साधनहरू थन्काएर या खेर पठाएर विदेशी सामान भित्याउने, निजीकरणको नाउँमा भारतीय उद्योगपतिहरूलाई उद्योग दिने नेकाको दृष्टिकोण गलत राष्ट्रघाती छ । यसले देश, जनता र सरकारलाई झन् घाटा हुन्छ । सरकारको यस्तै गलत र अदूरदर्शी कार्यले नेपालमा उद्योगहरू बन्द भएको हो, युवाहरू बेरोजगार भएका हुन् र कामको खोजीमा प्रत्येक वर्ष लाखौँलाख युवा विदेशिन बाध्य भएका छन् । सरकारको नेतृत्व गर्ने दलहरूमा देशभक्ति छ भने उद्योग या कारखाना चलाउने आँट र जाँगर चलाउनुपर्छ, देशलाई आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *