भर्खरै :

नागरिकता दिने नीति खुकुलो भए देशको सार्वभौमिकता कमजोर हुने

पोखरा, २२ साउन । स्रष्टा समाज नेपालको आयोजनामा आइतबार पोखरामा समसामयिक राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबारे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग अन्तरसंवाद कार्यक्रम भयो ।
पोखराका विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरूको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देशको राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय राजनीतिबारे सहभागीहरूसँग अन्तरक्रिया गर्नुभयो । उहाँले देशको नागरिकता कुनै व्यक्तिको मानवअधिकारको विषयमात्र नभएको बताउनुभयो । नागरिकता दिने नीति खुकुलो भए देशको सार्वभौमिकता कमजोर हुनेमात्र होइन, देशको अस्तित्व नै गुम्न सक्ने उहाँले बताउनुभयो ।
उहाँले अस्टे«लिया र संरा अमेरिकालाई सस्तो ज्यामीको आवश्यकता परेकोले त्यहाँ नागरिकता नीति खुकुलो बनाए पनि नेपालले आफ्नो संवेदनशील परिस्थितिको कारण त्यस्तो नीति बनाउन नहुने बताउनुभयो ।
“भौगोलिक रूपमा ठूला दुई छिमेकी देश, खुला सिमाना, आर्थिकरूपमा परनिर्भरताजस्ता नेपालका आफ्नै परिस्थितिको कारण नेपालले नागरिकता वितरणलाई खुकुलो बनाउनुहुन्न”, अध्यक्ष रोहितले भन्नुभयो ।
नागरिकता वितरण खुकुलो बनाउँदैमा देशको विकास नहुने चर्चा गर्दै उहाँले नागरिकता नीति खुुकुलो बनाउँदैमा विकास हुने भए भारतले नागरिकतामा किन कडाइ गर्छ भनी प्रश्न गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले जलस्रोतमा विदेशी लगानी गर्ने बाटो खोल्नु नेपालको जलस्रोतको लगाम अन्तर्राष्ट्रिय बजारको हातमा सुम्पिनु हुने भन्दै नेपालमा उत्पादन हुने जलस्रोत सिङ्गापुरसम्म लाने अन्तर्राष्ट्रिय शक्तिको योजनाले अन्ततः नेपालको जलस्रोतको लाभबाट नेपाली जनता नै वञ्चित हुने प्रस्ट पार्नुभयो ।
उहाँले नेपालमा लगानी गर्न आउने विदेशी लगानीकर्ताहरूले पहिला भारतसँग सम्झौता गर्ने र भारतको स्वार्थअनुसार नै नेपालको स्रोत साधनमाथि कब्जा जमाउने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “आर्थिकरूपमा आत्मनिर्भर नहुँदासम्म कुनै पनि देश वास्तविक अर्थमा स्वतन्त्र हुनसक्दैन ।”
नेपालमा विदेशी प्रभाव विस्तार हुनुमा नेपालका बुद्धिजीवीहरू दोषी भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेपालमा विदेशी पुँजी भित्याउने पक्षका शासक दललाई नै निर्वाचनमा मत दिने बुद्धिजीवीहरू देशको बिग्रँदो परिस्थितिको निम्ति दोषी छन् ।”
नेपालस्थित भारतीय दूतावासले नेपाली जनताका पारिवारिक मुद्दा मामिलामा समेत हस्तक्षेप गर्ने गरेको र भारतीय दूतावासका यस्ता हस्तक्षेपप्रति नेपालका सरकारी निकाय मौन बसेको उहाँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “तिब्बतीलाई नेपाली भन्दै संरा अमेरिका पठाए पनि नेपाल सरकार बोलिरहेको छैन ।”
एमसीसी सम्झौताको सक्कल प्रति नै अध्ययन नगरी नेपालका तत्कालीन मन्त्रीले हस्ताक्षर गरेको प्रसङ्गबारे बोल्दै उहाँले नेपालका शासक दल र मन्त्रीहरू विषयवस्तुप्रति गम्भीर नभएको प्रस्ट पार्नुभयो । उहाँले प्रश्न गर्नुभयो, “सदनको महत्वपूर्ण बैठकमा किन कहिल्यै कोरम पुग्दैन ?”
अध्यक्ष बिजुक्छेँले गठबन्धन सरकार सिद्धान्ततः गलत भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताले चुनावमा राजनीतिक दलको घोषणापत्रलाई मत दिएका हुन्छन् । चुनावमा जितेका राजनीतिक दल आफ्नो घोषणापत्रबाट बाहिर जानु जनताप्रतिको धोका हो । फरक फरक सिद्धान्त र घोषणापत्र भएका राजनीतिक दलले सत्ता गठबन्धन बनाउनु अनैतिकता हो ।”
नेमकिपाले जातीय, भाषिक र क्षेत्रीय आधारमा राजनीतिक दल खोल्न दिन नहुने विषयमा लामो समयदेखि आवाज उठाउँदै आएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले नेपाली जनताको चेतनास्तर उकास्न जात, भाषा र क्षेत्रको आधारमा बुद्धिजीवीहरूले मतदान गर्न नहुने बताउनुभयो ।
समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिबारे बोल्दै अन्तरसंवाद कार्यक्रममा अध्यक्ष बिजुक्छेँले युक्रेनको लडाइँ रुस र युक्रेन दुई देशबीचको मात्र नभई चीन र पश्चिमा मोर्चाबीचको लडाइँ भएको बताउनुभयो ।
उहाँले संरा अमेरिकाले संसारकोे जुनसुकै देशमा लडाई लडे पनि आफू एक्लैमात्र नहारी अरू देशलाई पनि पराजित गर्ने गरेको प्रस्ट पार्नुभयो ।
नेपाललाई आर्थिक सङ्कटबाट जोगाउन चीनसँग आर्थिक सम्बन्ध विस्तार गर्नुपर्ने उहाँको विचार थियो ।
अध्यक्ष बिजुक्छेँले नेमकिपा संसद्बाट समाजवाद आउने पक्षमा नभएको बरू संसद्लाई व्यापक जनताको हितमा उपयोग गर्ने नीतिअनुरूप संसदीय निर्वाचनमा भाग लिने गरेको बताउनुभयो ।
उहाँले नेमकिपा अन्तर्राष्ट्रवादी पार्टी भएको चर्चा गर्दै राष्ट्रवादी हुनु र देशभक्त हुनु फरक भएको बताउनुभयो ।
स्रष्टा समाजका सचिव तथा बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले सभापतित्वको आसनबाट देश र विश्वको परिवर्तित परिस्थितिबीच नेपालका बुद्धिजीवीहरूसँगको अन्तरक्रियाको लागि स्रष्टा समाजले जिल्ला–जिल्लामा अन्तरक्रिया कार्यक्रम गरिरहेको बताउनुभयो ।
उहाँले चीनको अभिन्न अङ्ग थाइवानमाथिको संरा अमेरिकी हस्तक्षेपले पश्चिमा देशहरू चीन र एसियामा युद्ध थोपर्न चाहेको बताउनुभयो ।
स्रष्टा समाजका सदस्य तथा बाग्मती प्रदेशसभाका सांसद सिर्जना सैंजूले संरा अमेरिका र चीनबीचको व्यापार युद्धले संसारमा पश्चिमा मोर्चाको शक्ति क्षीण बन्दै गएको प्रस्ट पार्नुभयो ।
अन्तरसंवाद कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्य, पीएन क्याम्पसका पूर्व क्याम्पस प्रमुख दिलबहादुर क्षेत्री, प्राध्यापक ज्ञानबहादुर कार्की, रामबहादुर पौडेल, इन्जिनियर वसन्त गौतम, शिक्षिका गायत्री पराजुली, पत्रकार उदयबहादुर अमात्य, राधाकृष्ण लामिछाने, श्यामलाल श्रेष्ठलगायतका व्यक्तित्वहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी र कवि तीर्थ श्रेष्ठले आतिथ्य गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *