भर्खरै :

आमसञ्चार र पत्रकारिता किन पढ्ने ?

आमसञ्चार र पत्रकारिता किन पढ्ने ?

अहिलेको युग धनको होइन, सूचनाको युग मानिन्छ । जोसँग महत्वपूर्ण तथा धेरै सूचना छ, ऊ नै शक्तिशाली मानिन्छ ।
पैसाले पैसा तान्छ भन्ने सोच पुरातन सोच भइसकेको छ । प्राज्ञिक ज्ञान र शिक्षाले मानिस बुद्धिजीवी हुन्छ भन्ने सोच पुरानो हो । अहिलेको समाजमा जोसँग पैसा छ उसले थप पैसा कमाउन सक्छ भन्ने पनि छैन अनि धेरै पढेलेख्दैमा बुद्धिजीवी हुन्छ र समाजमा सम्मानका साथ जिउन सकिन्छ भन्ने पनि हुँदैन ।
अहिले समाजमा पैसा भएका तर बुद्धि नभएका अनि धेरै पढेलेखेका तर पैसा र काम नभएका धेरै मानिस छन् । जसले गर्दा दुवैथरीका मानिस हिनताबोधमा बाँचिरहेका छन् र सरकारलाई गाली गर्दै बसेका छन् । यो सरकारले केही गरेन र राज्यले चिन्न सकेन भन्दै आत्मसन्तुष्टि लिएर बसेका छन् ।
पैसा र ज्ञानको तालमेल मिलाउनका लागि आफूसँग सही सूचना हुनुपर्छ । सूचना लिन जान्नुपर्छ । सूचना खोतल्न जान्नुपर्छ । सूचना भयो भने विश्लेषण गरेर आफू अनुकूल उपयोग गर्न सकिने हुन्छ ।
ज्ञान र बुद्धि हुँदैमा अनि धेरै पढेलेख्दैमा सफल भइँदैन । त्यो ज्ञान र बुद्धिलाई अरूलाई हस्तान्तरण गर्न जानेन र अभिव्यक्त गर्न जानेन भने त्यसको केही अर्थ रहँदैन । आफूसँग भएको ज्ञान, बुद्धि, सीप र शिक्षालाई अभिव्यक्त गर्न जानेको खण्डमा मात्र आफूले आर्जन गरेको ज्ञानको अर्थ रहन्छ ।
एउटा कथन नै छ, धेरै पढेर बहुलाएको भन्ने । आफूले जानेको ज्ञान अरूलाई बाँड्न नजान्दा र बुझाउन नसक्दा पढेलेखेका मानिसलाई यसरी नै गिल्ला गरेको पाइन्छ ।
संसारका धनी मानिस होस् वा नामी मानिस, उनीहरू सफल हुनुको एउटा कारण सूचना प्राप्त गरी त्यो सूचनालाई सही ठाउँमा प्रयोग गर्न जानेकैले हो र धेरै पढेलेखेर त्यसको अभिव्यक्त गर्न जानेकैले हो ।
सूचनाको खोजी गरी सूचनाको सही विश्लेषण गर्न जानेको खण्डमा र आफूले पढेको जानेको कुरा अभिव्यक्त गर्न जानेको खण्डमा मानिस सफल भइन्छ ।

सूचना प्राप्ति र विश्लेषण गर्न तथा अभिव्यक्त गर्न कहाँ र कसरी सिक्ने त ?
यसको एउटैमात्र सही जवाफ हुनसक्छ, आमसञ्चार र पत्रकारिताको औपचारिक अध्ययन गर्ने ।
आमसञ्चार तथा पत्रकारिता पढेको खण्डमा सूचना खोज्न र सूचनाको विश्लेषण गर्न जान्ने हुन्छ । अनि आफूसँग भएको ज्ञान र सीपलाई अभिव्यक्त गर्नसक्ने हुन्छ । यो दुवै सीपलाई आर्थिक उपार्जनमा प्रयोग गर्ने कि प्राज्ञिक क्षेत्रमा प्रयोग गर्ने भन्ने आफ्नो इच्छा र चाहनामा भरपर्ने हुन्छ ।
धेरैलाई एउटा भ्रम के छ भने आमसञ्चार र पत्रकारिता भनेको पत्रकार बन्नका लागि मात्रै पढ्ने हो । यसमा आंशिक सत्यतामात्र छ । आमसञ्चार तथा पत्रकारिता अध्ययनले पत्रकार बनाउने मात्र नभई अरू क्षेत्रमा प्रवेश गर्ने माध्यम पनि बनाउँछ । आमसञ्चार तथा पत्रकारिता पढेको मान्छेले सूचना प्राप्त गर्न जान्ने भएकोले त्यसलाई उपयोग गर्न जान्ने हुन्छ ।
आमसञ्चार र पत्रकारिता अध्ययनले भविष्यमा कुुनै पनि क्षेत्रमा स्वावलम्बी स्वरोजगार बनाउन सक्ने त भई नै हाल्यो, यसका साथमा अरू क्षेत्रमा पनि प्रवेश गर्नसक्ने हुन्छ । उद्यमी वा स्वरोजगार बन्न मन छैन अनि जागीर नै खाएर जीवन व्यतित गर्ने हो भने पनि सबै क्षेत्रमा सम्भावनाको ढोका आमसञ्चार तथा पत्रकारिता अध्ययनले खोलिदिन्छ ।
आमसञ्चार तथा पत्रकारिता पढेपछि प्रत्यक्षरूपमा सञ्चारमाध्यममा नै काम गर्नुपर्छ भन्ने छैन । आमसञ्चार र पत्रकारिता पढेर पनि बैङ्क, अस्पताल, होटल, पर्यटन, सरकारी तथा गैरसरकारी क्षेत्र अनि अन्तर्राष्ट्रिय सङ्घसंस्थामा काम गर्न सकिने हुन्छ । आमसञ्चार र पत्रकारिता पढेका विद्यार्थीलाई त्यो क्षेत्रमा जागीर खाँदा पनि मिडिया तथा प्रचारप्रसारसँग नजिक भएर काम गर्नुपर्ने हुन्छ ।
अहिलेको जमानामा हरेक सङ्घसंस्थाले प्रचार खोजेकै हुन्छ । प्रचार नखोज्ने संस्थाले पनि दुष्प्रचार हुनबाट जोगिन खोजेकै हुन्छ । अनि प्रचार गर्नका लागि र दुष्प्रचार हुनबाट जोगिनको लागि पत्रकारिता र आमसञ्चार पढेको जनशक्ति आवश्यक हुन जान्छ ।
अहिले हरेकजसो बैङ्क तथा वित्तीय संस्थामा होस् वा तारे होटलमा र ठूलठूला अस्पतालहरूमा जनसम्पर्क अधिकारी, सूचना अधिकारी, सञ्चार अधिकृतलगायतका नामका पदहरू सृजना गरिएको हुन्छ । पब्लिक रिलेसन अफिसर, इन्फर्मेसन अफिसर या कम्युनिकेसन अफिसरहरूको काम मिडियासँग नजिक भएर काम गर्नु हो । मिडियासँग नजिक भएर काम त्यसले मात्र गर्नसक्छ जसले मिडिया अर्थात् आमसञ्चार र पत्रकारिता पढेको हुन्छ । त्यो पदमा अरू नै विषय पढेको मान्छे पूर्ति गरिएको छ भने त्यो सफल हुँदैन र उसले अक्कल नपुग्ने गरी नक्कलमात्र गर्न जानेको हुन्छ ।
हरेकजसो सङ्घसंस्था अहिले सामाजिक सञ्जालमा हुन्छ । अनि ती सङ्घसंस्थाले स्मारिका वा बुलेटिनको नाममा पत्रपत्रिका निकालेकै हुन्छ । यति नगरे पनि ब्रोसर त पक्कै बनाएको हुन्छ, वेबसाइट बनाएको हुन्छ । यी सबैका लागि कन्टेन्ट लेख्न जान्ने व्यक्ति भनेको पत्रकारिता र आमसञ्चार पढेको व्यक्ति नै हुन्छ । यसकारणले पत्रकारिता पढेको मान्छे सबैतिर आवश्यक हुन्छ ।
पत्रकारिता तथा आमसञ्चार पढेपछि फोटोपत्रकारिता, डकुमेन्ट्री निर्माण, उद्घोषण, विज्ञापनको क्षेत्र, अनुसन्धानजस्ता छुट्टाछुट्टै विधामा जान सकिने पनि हुन्छ । यसरी पत्रकारिता र आमसञ्चार अध्ययनले काम रोजगारीका धेरै ढोकाहरू खुल्छन् ।
विभिन्न उद्योग, व्यावसायिक फर्म, बैङ्क तथा वित्तीय संस्था, चलचित्र निर्माण कम्पनी, सङ्घसंस्था आदिमा जनसम्पर्क अधिकृत, सञ्चार अधिकृतजस्ता पदमा पत्रकारिता पढेकै मानिसलाई पहिलो प्राथमिकता दिन थालिएको छ ।
तर, पछिल्लो समयमा पत्रकारिता अध्यापन गराउने शिक्षण संस्थाको सङ्ख्यात्मक वृद्धि भए पनि गुणात्मक विकास भने हुन सकेको छैन । पत्रकारिता पढाउन चाहिने भौतिक पूर्वाधार शिक्षण संस्थाले तयार गर्न सकेको छैन । पत्रकारिता र आमसञ्चार पढाउने तर एउटा पत्रिका पनि ननिकाल्ने र एफएममा एउटा कार्यक्रम पनि सञ्चालन नगर्ने प्रवृत्ति छ । आवश्यक पूर्वाधारविनाको शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नसक्दैन ।
पत्रकारिता र आमसञ्चार पढ्न चाहने विद्यार्थीले त्यो शैक्षिक संस्थामा कम्प्युटरसहितको मिडिया ल्याब छ कि छैन, कुनै पत्रपत्रिका निकाल्ने गरेको छ कि छैन र शिक्षक योग्य हो कि होइन भनेर सुरुमै खोजीनीति गर्नुपर्छ ।
कतिपय कलेजले पाठ्यपुस्तकका आधारमा मात्र पत्रकारिता पढाइरहेका छन्† पछिल्लो समयमा विकसित प्रविधिको प्रयोग गरेर अध्यापन गराइएको छैन । शिक्षण संस्थाले धेरै विद्यार्थी जम्मा गर्ने उद्देश्यले मात्र नभई विषयको महत्व बुझेर व्यावहारिकरूपमा पत्रकारिता पढाउनुपर्दछ ।
पत्रकारिता र आसञ्चार अध्ययन गर्न चाहनेले शिक्षक योग्य हो कि होइन भनेर पनि चेकजाँच गर्नुपर्दछ । पत्रकार हुँदैमा यो विषय पढाउन सकिने कुरा पनि होइन र कसैले डिग्री हासिल गर्दैमा पढाउन सक्ने पनि होइन । त्यसर्थ, पढाउने शिक्षक आमसञ्चार तथा पत्रकारितामा डिग्री हासिल गरेको र पत्रकारिता क्षेत्रमा अनुभव प्राप्त गरेको हुनुपर्दछ । अहिले विभिन्न कलेजहरूले नातावाद, कृपावाद र सिफारिसका आधारमा शिक्षक नियुक्ति गर्ने गरेका कारण पढ्ने विद्यार्थी र अभिभावकले यो कुरामा हेक्का राख्नुपर्दछ । स्नातकोत्तर नसकेकालाई पढाउन लगाउने, पत्रकार भएकै आधारमा पढाउन दिने प्रवृत्ति हावी छ । त्यस्तै २ वर्षमात्र स्नातकोत्तर तहमा अध्ययन गरेकाले पनि पढाइरहेको पाउन सकिन्छ । २ वर्षमात्र पढेकाले पढाउन नसक्ने भन्ने त हुन्न तर पढेको कोर्स र पढाउने कोर्षमा धेरै नै अन्तर भएकोले समस्या उत्पन्न हुने हुन्छ ।
पछिल्लो समय पत्रकारिताका विषय विशिष्टीकृतरूपमा पढाइ हुन थालेका छन् । रेडियो, टेलिभिजन, फोटोग्राफीजस्ता विषय विशेष महत्वका साथ पढाउन थालिएको छ ।
पत्रकारिता तथा आमसञ्चार पढेको खण्डमा र काम सिकिहालेको खण्डमा तत्काल साइड जब गरेर पनि पढ्न सकिन्छ जुन अरू विषय पढ्दा गा¥हो हुन्छ । पत्रकारिता पढेको विद्यार्थीले पढ्दापढ्दै दिनको १ घण्टा रेडियो कार्यक्रम चलाएर आफ्नो खर्च निकाल्न सकिने हुन्छ । यसैगरी, युट्युव, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट पनि मनिटाइज गरेर अध्ययन खर्चमात्र नभई जीविकोपार्जन गर्न सकिने हुन्छ । यति मात्र नभई विभिन्न सङ्घसंस्थाहरूको कन्टेन्ट राइटिङ्ग पनि गर्न सकिन्छ ।
यसरी पत्रकारिता र आमसञ्चार अध्ययनले स्वरोजगार, वैकल्पिक रोजगार र उद्यमी बनाउने तथा नोकरीको सम्भावनाका साथै जाने बुझेको र अभिव्यक्त गर्न जान्ने व्यक्ति बनाउने भएकाले यसको अध्ययन र अध्यापन आवश्यक छ ।
यसको अध्ययनले तथ्य जाँच गर्न जानिने भएकोले फेसबुक, ट्वीटर, युट्युवलगायतका सामाजिक सञ्जालमा आउने मिथ्या सूचनाबाट पीडित भइँदैन । कसैले सामाजिक सञ्जाल वा सोसियल मिडिया र आमसञ्चारका माध्यममार्फत गलत कपोल्कल्पित तथा तथ्यहीन समाचार प्रेषण गरेर दिग्भ्रमित पार्न खोजेमा चरित्रहत्या गर्न खोजेमा दुष्प्रचार गरेमा त्यसको उपचार कसरी गर्ने भन्ने ज्ञान पनि आमसञ्चार र पत्रकारिता अध्ययनले सिकाउने हुन्छ ।

Leave a Reply

Your email address will not be published.