भर्खरै :

एसिया शताब्दी हुन नदिन !

एसिया शताब्दी हुन नदिन !

वास्तवमा यो आजको शताब्दी एसिया शताब्दी हो । चीन यसै शताब्दीमा संरा अमेरिकालाई उछिनेर विश्वको प्रथम शक्तिराष्ट्र बन्ने शताब्दी हो । तर आजको प्रथम शक्तिराष्ट्र यो यथार्थलाई पचाउन नसकेर एसियालाई युद्धमा धकेल्न अनेकाँै दाउ गर्दै छ । सरा अमेरिकी सभामुख न्यान्सी पेलोसीको हालैको ताइवानको यात्रा यही सिलसिलाको एउटा दृष्टान्त हो । चीनलाई रिस उठाएर युद्धमा तान्ने षड्यन्त्रको पूर्वाङ्ग हो भन्छ मेरो अध्ययनले । अन्यथा यो उनाचो गर्नुहुने थिएन । सभामुख पेलोसीको ताइवान यात्रापछि एउटा राँको लागेको छ एसियाको शान्तिमा । सबै राष्ट्र आ–आफ्नो किसिमले अघि बढिरहेको यो दुनियाँमा न्यान्सीलाई किन ताइवान जानुपरेको ? यो एउटा निहुँ खोजेको मात्र हो । अब हामीजस्ता साना विकासशील देशहरूले पनि युद्धविरोधी भूमिका निर्वाह गर्नुपरेको छ । युद्ध हुनुहुँदैन संसारभरि नै । युद्ध भनेको ध्वंश हो विनाश हो । युद्धले कहिल्यै हाँसो छर्दैन भय छर्छ, त्रास छर्छ । युद्ध सरदार एवं युद्धका लागि आवश्यक पर्ने हातहतियार अरू कसन तमनका सामग्री उत्पादन गर्नेहरूबाहेक कोही हुँदैन । युद्ध भनेको युद्ध नै हो । अमेरिकाले पहिलो र दोस्रो विश्वयुद्धमा पनि कमायो धेरै कमायो ।
युद्धविरोधी होऔँ
पोखरामा अघिल्लो साता आयोजित पत्रकार समाज नेपालको एउटा भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को युद्धविरोधी मन्तव्यप्रति नेपाली पत्रकार समाज सन्न भएको थियो । आज नेपालका प्रशासक तथा शासक दलहरूका नेताहरू अन्तर्राष्ट्रिय परिस्थितिप्रति गम्भीर र जिम्मेवार नहुँदा नेपाली जनताबीच युद्धविरोधी मत प्रचारप्रति नेमकिपाले आफ्नो गम्भीर दायित्व पूरा गरिरहेको टिप्पणी गर्नुभयो । संरा अमेरिकाले आफ्नो हुँदो देख्यो भने के के भन्छ के के ? चिनियाँ उपनिवेशवादसम्म भन्न पनि अघि सर्छ । अफ्रिकी तथा ल्याटिन देशहरूलाई चीनविरूद्ध भड्काउन नसकेपछि अहिले अमेरिका चीनलाई युद्धमा फसाउन अनेक विधि गर्दै छ । युद्ध भए संसारको विकास नै रोकिने कुरा भुल्नु हुँदैन । तर, हामीलाई थाहा छ अमेरिकाको धम्की र आक्रामकतासामु चीन कदापि डराउँदैन र घुँडा टेक्दैन । नेपाल यस्तोमा कसको पक्ष लिने पुँजीवादी देशको कि कम्युनिस्ट देशको भन्नुमा अलमलमा पर्छ । यस्तो अलमलमा पर्नुभन्दा देश र दक्षिण एसियाको सुरक्षामा उभिनु उत्तम हुने युद्ध हुन नदिनु नै सर्वोत्तम हुनेछ । वास्तवमा युद्धले क्षतिबाहेक कसैको भलो गर्दैन । यो स्पष्ट भइसकेको छ । प्रथम र द्वितीय विश्वयुद्धले कुन पो कामदार मान्छेको हित गरेको छ र ? आखिर युद्धमा मर्ने त कामदार जनता नै न हो ।
घेराबन्दीकै सिलसिला
एसियाली शताब्दीको व्याख्या एसियामा तेस्रो विश्व युद्ध ? भन्नेतिर गएको छ अन्तर्दृष्टि ध्यान । यो विपरीत हेराइ हो । एसिया कहिल्यै युद्ध चाहँदैन, युद्धको खाँचो पनि छैन । पहिला भएका युद्धका समग्र विनाशबारे सुन्दासमेत आङ जिरिङ गर्छ भने युद्ध नै भोग्दा कस्तो होला ? यसो सोचौँ त । अहिले युक्रेनमा लडाइँ छ काठमाडौँले वा नेपाल र अन्य टाढाका देश र जनताले समेत भार खेप्नु परिरहेको छ । युक्रेन लडाइँमा नेपालले झैँ चीनले पश्चिमा मोर्चालाई साथ नदिएकोमा अमेरिका रिसाएको छ । चीनसँग नत बदला नै लिन खोजेको जस्तो देखिन्छ । अमेरिका अहिले चीनलाई ताइवानमा अल्झाएर आफ्नो सम्पूर्ण शक्ति युक्रेनमा खन्याउने दाउमा छ । ताइवान वास्तवमा चीनको अभिन्न अङ्ग हो । सन् १९४९ मा च्याङकाइ सेकको नेतृत्वको प्रतिक्रियावादी वर्ग ताइवानमा भागेको ऐतिहासिक सन्दर्भ भुल्यो भने यो समस्याको गुदी फेला पर्दैन । ताइवान चीनकै अभिन्न अङ्ग हो भन्ने कुरा सन् १९७१ मा साङ्घाइ विज्ञप्तिमा अमेरिकाले ‘एक चीन नीति’ को पक्षमा हस्ताक्षर गरेबाट पनि स्पष्ट हुनजान्छ । कि त्यो हस्ताक्षर गरेको घटना बिर्सियो आजको अमेरिकाले ? यद्यपि, अमेरिकाले चीनविरूद्ध अनेक गतिविधि गरिरहेको छ । चीनविरूद्ध घेराबन्दी गर्ने बहुपक्षीय गठबन्धनकै सिलसिला हो न्यान्सीको ताइवान भ्रमण ।
यही ड्याङको मूला ?
संरा अमेरिका यस्ता धेरै उनाचा कामहरू गरिरहन्छ । तर, उसका यस्ता काँचा कामबाट सफलता भने भेट्दैन । अन्यथा, विश्वको प्रथम शक्तिराष्ट्रबाट दोस्रो शक्तिमा ओर्लनुपर्ने थिएन । यो वास्तविकता किन बुझ्दैनन् अमेरिकीहरू । नेपालका शासक दलहरू पनि आफ्नो मुलुक आफैले बनाउने हो भन्ने बुझ्दैनन् र देशका जनताको सेवा गर्नु र जनता रिझाउनुको साटो दक्षिणतिर केन्द्रित गराउँछन् । दक्षिण यति निठूर र कठोर छ छ्यास्स यसो केही लाग्यो भने के युद्धको टालो जति पनि गन्दैन । केही अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण जाँदा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहानको चिया नास्तासँगै भेट्ने भनेका रहेछन् । अन्तमा, त्यो समय पनि दिएनन् । दिवा भोज, रात्रि भोज, अपराह्न चिया खाजासँगै खाने कुरा त कता कता ? तैपनि नेता प्रचण्ड संयमित भए छुच्चो कुरा केही गरेनन् । यो आत्मसमर्पणवादी नीति लिनुमा के लुकेको छ । त्यो सार्वजनिक नभए पनि सबैलाई थाहा छ । यदि मोदी महाराज प्रसन्न भएनन् भने नेपालको सत्ता कुर्सीमा विराजमान हुन कठिन छ । त्यसैले, प्रचण्ड नकारात्मक भएनन् । अपहलेनाको फलामको च्यूरा पचाए उनले । यस्ता अपमान कति नेपालीले भोगेका छन् कति । यस्ता उपेक्षा पचाए सार्वभौम, स्वायत्त, स्वतन्त्र देश नेपालका निर्णायकहरूले । अमेरिका पनि यही ड्याङको मूला हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *