भर्खरै :

राष्ट्रपति कानलसँग भलाकुसारी

राष्ट्रपति कानलसँग भलाकुसारी

“भेटघाटका लागि, समयका लागि र पुल बनाउने प्रयासका लागि धन्यवाद,” क्युवाली कम्युनिस्ट पार्टीका महासचिव र क्युवाका राष्ट्रपति मिगुएल डायज–कानल बर्मुडेजले भन्नुभयो । न्युयोर्क विश्वविद्यालयको ‘द न्यु स्कुल’ बाट आएका विद्यार्थीहरूको समूहसँग जुलाई १२ दिउँसो एक बैठकमा उहाँले त्यसो भन्नुभएको हो । ती विद्यार्थीहरू ‘कासा डी लास अमेरिकाज’ ले प्रायोजन गरेको गृष्मकालीन कोर्समा सहभागी हुन आएका थिए ।
उक्त भेटघाट क्रान्तिको दरबार पोर्टोकारेरो सभाहलमा भएको थियो । त्यहाँ राष्ट्रपतिले प्रत्येक सहभागीहरूलाई स्वागत गर्नुभएको थियो र उनीहरूका प्रश्नहरूको सालिन उत्तर दिनुभयो । उहाँले क्युवा र संरा अमेरिकाबीच ‘धेरै पुलहरू’ बनाउन सकिने बताउनुभयो किनभने दुवै देश ‘त्यति टाढा छैनन्’ र दुवै देशका जनताले ‘एकअर्कालाई झन्झन् चिन्दै छन् र अझ बढी रुचाउँदै छन् ।’
उहाँले भविष्यमा मानव जातिले सुन्दर शिक्षा लिएको देख्न सकिने पनि बताउनुभयो । दुई देशका जनताको सम्बन्ध अझ प्रगाढ बनेको, घृणाबाट मुक्त भएको र आपसमा कुराकानी साटासाट गरेको, एकअर्काको प्रशंसाबारे पनि उहाँले बोल्नुभयो । क्युवाली प्रतिकारको विशेषता नै आशा रहेको हुँदा उहाँले अमेरिकी नाकाबन्दीले तेस्र्याएका घातक तगाराहरूमा जोड दिनुभयो र मित्रहरूको मद्दतले एक दिन त्यो नाकाबन्दी हट्ने आशा व्यक्त गर्नुभयो ।
भेटघाट अति आत्मीय भयो, दिन रोचक भयो । भेटघाटमा डायज–कानलसँगै संस्कृति मन्त्री आलपिदियो अलफान्सो र ‘कासा डी लास अमेरिकाज’ का प्रमुख अबेल प्रिएतो जिमेनेज पनि उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमका संयोजक प्रोफेसर गाब्रियल भिग्नोली तेजाले बयान गरेझैँ क्युवामा केन्द्रित भएर विश्वका चुनौतीहरूको उत्तर खोजिरहेका विद्यार्थीहरूले डायज–कानललाई धेरै प्रश्नहरू सोधे ।
“अलिकति समाजवादबारे कुरा गरौँ,” कार्यक्रम सञ्चालकले यो दूरगामी विषय उत्थान गरे । विस्तृत चर्चा गर्दै उनले भने, “हाम्रो बुझाइमा उच्चतम् सामाजिक न्याय हासिल गर्नु नै समाजवाद हो ।” यो पुँजीवाद, साम्राज्यवाद र प्रभुत्ववादभन्दा एकदम भिन्न छ । ती व्यवस्थामा मान्छे नै मान्छेमान्छेबीचको ब्वाँसो हो, आफ्नो साम्राज्यले भनेबमोजिम नगर्ने मानिसहरूको पहिचान र संस्कृति भत्काउनु नै उसको लक्ष्य बन्छ ।
“हामीले जहिल्यै अमेरिकी सरकार र अमेरिकी जनताबीच भेद गर्दै आएका छौँ । अमेरिकी जनतालाई हामी सम्मान, मित्रता र भातृत्वको आँखाले हेर्छौँ । हामीलाई संस्कृति, इतिहास र रगतले जोडेको छ । हाम्रो सङ्घर्ष अमेरिकी सरकारसँग हो, उसले हामीप्रति जस्तो व्यवहार ग¥यो, त्यससँग हो ।” डायज–कानलले भन्नुभयो । यसरी उहाँले अरूहरूप्रतिको दमनमा आधारित ‘संस्कृति फेर्ने प्रक्रिया’ उदाङ्गो पारिदिनुभयो ।
संरा अमेरिकाले लाद्न चाहिरहेको नवउदारवादी र नवउपनिवेशवादी दमनको विश्लेषण गर्दै राष्ट्रपति कानलले हस्तक्षेपको वैचारिक कोणबारे बोल्नुभयो, “क्युवाली क्रान्तिको बदनाम गर्न उनीहरू मिडिया रणनीतिमा अचाक्ली बल गर्दै छन् । खासगरी सामाजिक सञ्जालमा प्रत्येक दिन हमला भइरहन्छ ।” उहाँले निन्दा गर्नुभयो । यस्ता घटना अन्य भेगमा सामान्य हुनसक्लान् । तर, क्युवामा ती माध्यम मान्छेको मन भाँड्न असाध्यै नकारात्मक बनेको उहाँले स्मरण गर्नुभयो ।
“युद्धमा समस्याका वास्तविक कारणहरू बेवास्ता गर्छन् । त्यसपछि ‘तिनीहरूले सरकार, राज्य र नेताहरूमा समस्याका कारणहरू थोपरेर समस्यालाई व्यक्तिगत बनाउन खोज्छन् । यसरी तिनले जनता र सरकारबीच फाटो ल्याउन र भ्रम छर्न खोज्छन् ।” उहाँले जोड दिनुभयो । मिडियाले झिलिमिली मनोरञ्जन उद्योगसँग मिलेर झूटा र भड्किला सामग्रीहरूको पर्दा बनाएको छ ।
‘आर्थिक वृद्धियुक्त विकास र सामाजिक समानतायुक्त न्यायिक समाज निर्माण गर्ने आदर्श’ मा फर्किँदै राष्ट्रपति कानलले नाकाबन्दीबारे पनि बोल्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो अर्थतन्त्र युद्ध अर्थतन्त्र हो, नाकाबन्दीग्रस्त अर्थतन्त्र हो ।” तैपनि, सबैलाई सामाजिक सुरक्षा प्रदान गर्ने र सकेसम्म मानवीय आवश्यकताहरू परिपूर्ति गर्ने दायित्वबाट हाम्रो अर्थतन्त्र पर भाग्दैन ।
क्रान्ति लक्षित भविष्यका निम्ति सङ्घर्षरत छ – उहाँले जोड दिनुभयो । “भएको के हो भने समाजवादी निर्माणको बाटोमा क्रान्ति कहिल्यै सोझो वा सजिलो बाटोमा हिँडेन, किनभने क्रान्तिको उदयदेखि नै, आफूलाई समाजवादी भनेर घोषणा गरेको दिनदेखि नै हाम्रो क्रान्ति निरन्तर नाकाबन्दीको मारमा परिरह्यो । यो देशमाथि नाकाबन्दी नलगाएको भए के हुँदो हो ?” घोत्लिँदै उहाँले अमेरिकी तन्नेरीहरूलाई सोध्नुभयो ।
“हामीले संरा अमेरिकामाथि कुनै किसिमको आक्रमण गरेका छैनौँ । यो बेमेलपूर्ण अवस्था हो । हामी कहिल्यै अमेरिकी जनताविरुद्ध जाने छैनौँ । भावना र आकाङ्क्षाले पनि हामी अमेरिकी सुरक्षाका निम्ति खतरा होइनौँ । जनताको निम्ति खतरा हुने त कुरै भएन ।” उहाँले भन्नुभयो ।
“हामी घृणा गर्दैनौँ । हामी त प्रेममात्र गर्छौँ । हामीले कसैलाई घृणा गर्छौँ भने केवल घृणालाई गर्छौँ ।” डायज–कानलले क्युवालीहरूको प्रतिभा र जिजीविषाबारे बोल्नुभयो । घेराबन्दी नहुँदो हो त यी क्युवाली गुणहरूले क्युवालाई धेरै अगाडि बढाइसक्ने थियो । राष्ट्रपति कानलले सो घेराबन्दीलाई अनैतिक कारबाही भन्नुभयो । उहाँले भन्नुभयो, क्युवाली समाजवादले मानिसको स्वाभिमानको प्रतिरक्षा गर्छ, मानिसलाई अपमानित, कलङ्कित र शोषण गर्नुहुन्न, मानिसलाई विभेद गर्नुहुन्न । समाजवादको हाम्रो अवधारणा यही हो । यसलाई हामीले त्याग्नेछैनौँ । क्रान्तिको मर्म नै त्यागे क्युवाको भविष्य के होला ? के त्यो विकसित पुँजीवाद होला ?” उहाँले सोध्नुभयो ।
कुनै पनि प्रश्न निरुत्तर रहेन । राष्ट्रपतिले सङ्गीतबारे कुरा गर्नुभयो । आफ्ना रुचिहरूबारे बताउनुभयो । सिल्भियो रोड्रिगेज, नुएभा त्रोभाजस्ता कलाकार मनपर्ने बताउनुभयो । अमेरिकी संस्कृतिका प्रतीकहरू, जस्तो ज्याज मनपर्ने बताउनुभयो । उहाँले हवाना र यसको वास्तुकला, यहाँका युवाहरू, खेलकुदमा प्रगतिबारे चर्चा गर्नुभयो । सन् १९५९ मा क्युवाली क्रान्तिको विजयपछि महिलाहरू कसरी अगाडि बढे भनेर वर्णन गर्नुभयो । आवासको समस्या वा तल्लो तहबाटै देशलाई कसरी शासन गर्ने भन्ने जटिल चुनौतीहरूबारे पनि कुराकानी भयो ।
“मैले सबै प्रश्नको उत्तर दिएँ” राष्ट्रपति कानलले विद्यार्थीहरूलाई सोध्नुभयो । त्यसपछि उहाँले सोध्नुभयो, “तपाईँलाई के लाग्छ ? एउटी नानीले आफ्नो कृतज्ञता जाहेर गर्नुभयो । आफूलाई जान्न चाहने र माया गर्न चाहने मानिसहरूलाई कसरी हात फैलाएर स्वागत गर्ने भन्ने कुरा जानेका जनता भनेर क्युवालीहरूप्रति सद्भाव व्यक्त गर्नुभयो ।”
छलफल सकिनै थालेको थियो । तर, एक युवतीले क्युवाजस्तो देशको जिम्मेवारी आफ्नो काँधमा बोक्नुपर्दाको अनुभवबारे सोधिन् ।
“म प्रत्येक दिन दुई महामानवका पाइलाका डोबहरू पछ्याउने प्रयास गर्छु । आफू फुच्चे हुँ भन्ने मलाई हेक्का छ ।” उहाँले उत्तर दिनुभयो । त्यसपछि उहाँले क्रान्तिलाई दिगो बनाउन र नवजीवन दिन के–के कुरामा सुधार गर्न बाँकी छ भनेर बोल्नुभयो । उहाँले भन्नुभयो, क्रान्तिलाई “संसारभरिका धेरै महानुभावहरूले आस्था र आशाका साथ हेरिरहनुभएको हामीलाई थाहा छ । हामी यो यथार्थप्रति अत्यन्त प्रतिबद्ध छौँ ।”
उहाँले देशको नेतृत्व गरिरहनुभएका सबै कामरेडहरूको तर्फबाट “आफू सँगसँगै जन्मेको क्रान्तिप्रति प्रतिबद्धता” व्यक्त गर्नुभयो । उहाँले “६० वर्षदेखि नाकाबन्दीको सामना गर्दै आएका र कहिल्यै हिम्मत नहार्ने क्युवाका वीर जनताप्रति प्रतिबद्धता” व्यक्त गर्नुभयो ।
कहिलेकाहीँ तीतो सत्य पनि बोल्नुपर्छ । गम्भीर हुँदै उहाँले भन्नुभयो, “ठूलो इमान र पारदर्शिताका साथ हामीले काम गर्नुपर्छ ।” फिडेल र राउल क्यास्त्रोको प्रसङ्ग कोट्याउँदै उहाँले भन्नुभयो, “यी महामानवहरूको पदचिह्न पछ्याउन हामी झन्झन् सामूहिक नेतृत्वतिर जानुपर्छ । त्यसैले हामी आजभोलि जनसहभागिताको निम्ति ठूलोभन्दा ठूलो दबु बनाउन प्रयासरत छौँ । यसले गर्दा अझ धेरै जनता निर्णय प्रक्रियामा सहभागी हुनेछन् र स्वविवेकले योगदान गर्नसक्नेछन् ।”
उहाँले तर्क गर्नुभयो, “जनताको पछिपछि लागेको खण्डमा अघि बढ्न सकिन्छ । कहाँनिर गल्ती भयो जनताको मद्दतले पहिल्याउन सकिन्छ । नाकाबन्दीले कहाँनिर बिझाएको छ, खासगरी महामारीका यी वर्षहरूमा कहाँनिर गा¥हो भएको छ, जनताको विवेक सुनेर थाहा पाउन सकिन्छ ।”
योग्य भएपछि सम्मान मिल्छ, चुनौतीहरूमा नै जीवनको सौन्दर्य छ, गल्तीहरूमाथि कसरी विजयी हुने भन्ने सिक्नुपर्छ, उहाँले भन्नुभयो । जहाँसम्म क्युवाको नेतृत्व गर्ने अभिभाराको कुरा छ, डायज–कानलले भन्नुभयो, “हुर्किँदै जाँदा सिक्दै पनि गइन्छ, विषयवस्तुको गहिराइमा पुगेपछि त्यसमा पकड बढ्छ । खासगरी सुधार्ने सम्भावना छँदा, आफूले सहयोग गरेका जनताको स्थिति सुध्रिएको देख्दा, देश अघि बढिरहेको देख्दा गर्व महसुस हुन्छ । यसले उत्साह बढाउँछ ।”
उहाँले ‘देशको जीवन’ कसरी जोगाउने भनी थाहा भएका र कोभिड–१९ को भ्याक्सिन बनाएका क्युवाली वैज्ञानिकहरूप्रति आफ्नो मनमा ठूलो प्रशंसाभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा जनता सुन्दर छन् । यो कुरा हामी आफैले महसुस गरेका छौँ । हाम्रा जनतामा सद्भाव छ । कुनै कुरामा मन लगाएपछि त्यसलाई साकार नबनाउञ्जेल उनीहरूले हात उठाउँदैनन् । क्युवालीहरूमा परोपकारी भावना छ ।”
त्यसपछि उहाँले विशेष मूल्यबारे बोल्नुभयो, “क्युवाली जनता दास बन्न चाहँदैनन् । हामी अब कहिल्यै दास बन्नेछैनौँ । त्यसैले, हामीले क्रान्तिको रक्षा गर्नेछौँ । क्रान्तिले कुनै गल्ती नगरोस् भनी हामीले सुनिश्चित गर्नुपर्छ ।” उहाँले विद्यार्थीहरूसामु जोड दिनुभयो ।
यथार्थ र चुनौतीहरू सामना गरिरहेका समग्र क्युवालीहरूले यस भेटघाटमा चासो दिएका थिए । अन्त्यमा, राष्ट्रपति कानलले विद्यार्थीहरूलाई फेरिफेरि पनि क्युवा आउन अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *