भर्खरै :

जयराम बासुकलाको १८ औँ स्मृति सभा

जयराम बासुकलाको १८ औँ स्मृति सभा

भक्तपुर, २४ साउन । नेपाल मजदुर किसान पार्टीका एक सिद्धान्तनिष्ठ कार्यकर्ता, तत्कालीन ताथली गाविसका निर्वाचित अध्यक्ष एवम् समाजसेवी जयराम बासुकलाको १८ औँ स्मृति सभा मङ्गलबार चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडोलमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य, भक्तपुर जिल्ला अध्यक्ष एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले व्यक्तिको मूल्याङ्कन जीउडाल र लवाइखवाइबाट नभई उसको सिद्धान्तनिष्ठता, देश र समाजको निम्ति गरेको योगदानबाट हुने बताउनुभयो ।
समाजसेवी बासुकला एक सिद्धान्तनिष्ठ कार्यकर्ता, इमानदार जनप्रतिनिधि, समाजसेवी र शिक्षासेवी रहनुभएको चर्चा गर्दै उहाँको कार्य र योगदानबाट नयाँ पुस्तालाई प्रेरित गरिरहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले देउवा नेतृत्वको वर्तमान सरकार साम्राज्यवादी संरा अमेरिका र पश्चिमा राष्ट्रहरूको स्वार्थअनुकूल ल्याइएको र टिकाइएको सरकार भएको घटनाक्रमले पुष्टि भइरहेको चर्चा गर्दै देउवा सरकार टिकाउन लागेका दलहरू जनतामाझ उदाङ्गो भएको बताउनुभयो ।
संरा अमेरिकासित भएको एमसीसीजस्तै एसपीपी सम्झौता देशघाती र नेपाललाई छिमेकी देशविरुद्ध प्रयोग गर्ने रणनीतिको भाग भएको प्रस्ट पार्दै उहाँले नेपालका शासक दलकहरूको बुद्धिहीनता र आत्मसमर्पणले देश साम्राज्यवादी चलखेलको भूमि बन्दै गइरहेको छ भन्नुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले जयराम बासुकला देश र समाजको हितलाई सधैँ पहिलो प्राथमिकतामा राखेर लाग्ने सक्रिय कम्युनिस्ट कार्यकर्ता रहनुभएको बताउनुभयो ।
एक विकासप्रेमी जनप्रतिनिधि हुनुका साथै कुशल सङ्गठनकर्तासमेत भएको स्मरण गर्दै उहाँले जयराम बासुकलाले कहिल्यै व्यक्तिगत र पारिवारिक स्वार्थको उच्चारणसमेत नगरेको बताउनुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका उपाध्यक्ष केशवप्रसाद तिमल्सिनाले जयराम बासुकलाकै सम्पर्कले नेमकिपा प्रवेश गरेको र राजनीतिक शिक्षाबाट दीक्षित भएको बताउँदै उहाँ विनम्र, लगनशील र सङ्र्षशील पार्टी कार्यकर्ता रहनुभएको बताउनुभयो ।
बासुकला निःस्वार्थी र निडर हुनुभएकोले प्रतिक्रियावादीहरू एकातिर उहाँको व्यक्तित्वबाट कायल र त्रसित रहेका र अर्कोतिर उहाँ र नेमकिपाविरुद्ध जालझेल र दुष्प्रचार पनि गरिरहेको स्मरण पनि उहाँले सुनाउनुभयो ।
चानपा वडा नं. ९ का वडाअध्यक्ष गणेश त्यातले चानपा –९ का जनप्रतिनिधिहरू जनताप्रति प्रतिबद्ध भएर लागिरहेको बताउँदै स्वार्थीहरूको बहुमत रहेको चानपामा फर्जी सिफारिस पत्र बनाउनेलगायत अनेक जालझेल भइरहेको बताउनुभयो ।
जयराम स्मृति अक्षय कोष समितिका अध्यक्ष रामचन्द्र बासीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभापति बासी, पूर्वजनप्रतिनिधि एवम् अक्षय कोष समितिका सदस्य केशरबहादुर खडका, देवी माविका प्राचार्य राजाराम छुकां, शिक्षकहरू चन्द्रबहादुर थुयाजु र घनश्याम खडकाले पनि जयराम बासुकलाको जीवन र योगदानका विविध पक्षमा चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *