भर्खरै :

राजनीतिक कार्यकर्ता जनताका प्रिय हुन्छन्

राजनीतिक कार्यकर्ता जनताका प्रिय हुन्छन्

हरेक राजनीतिक पार्टीमा राजनीतिक कार्यकर्ताको ठूलो महत्व हुन्छ । पार्टी कार्यकर्ताहरूको अथक मेहनत र प्रयासले नै पार्टीको सिद्धान्त र विचार जनताको गाउँबस्तीमा पुग्छ । जनतालाई सचेत र सङ्गठित गर्ने, देशभक्त बनाउने काममा पार्टी कार्यकर्ताको ठूलो हात हुन्छ । देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउन, विदेशी थिचोमिचोको विरोध गर्न र त्यसबारे जनतालाई आन्दोलित गर्ने काम पार्टी कार्यकर्ताहरूले नै गर्छन् । हरेक राजनीतिक दलका कार्यकर्ताहरू इमानदार भए, देशप्रेमी भए, देश र जनताको सेवा गर्छु भन्ने भावनाले लागे देशमा भ्रष्टाचार कम हुन्छ, जनताको स्तर माथि उठ्छ, देश छिट्टै विकास हुन्छ । तर, सबै दलका कार्यकर्ताहरूले आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गरेका छैनन् । सबै दलका कार्यकर्ताहरू देशमा परिवर्तन गरेर जनताको जीवनस्तर उठाउने ढङ्गले काम गरिरहेका छैनन् । कति राजनीतिक दलका कार्यकर्ताहरू देशमा आमूल परिवर्तनको निम्ति गाउँबस्ती पुगेर राजनीतिक चेतना दिँदै छन्, लागिरहेका छन् । उनीहरू घाम पानी, गर्मी जाडो, उकालो ओरालो, भिड पाखा, असिना पसिना नभनी जनतामाझ पुगिरहेका हुन्छन् । कुनै दिन कुनै गाउँ या ठाउँमा पुगेर राजनीतिक शिक्षा दिन पाएन भने आफ्नो जिम्मेवारी पूरा नभएको महसुस गर्छन् । सच्चा कार्यकर्ताहरू कुन दिन कहाँ सङ्गठनको काममा जाने भन्ने कार्यसूची बनाउँछन् र त्यहाँ पुगेर राजनीतिक शिक्षा दिन्छन् । तिनीहरूलाई अन्य ठाउँमा नगई, सङ्गठनको कुरा बताई चित्त बुझ्दैन, निद्रा लाग्दैन ।
राजनीतिक कार्यकर्ताहरूको जिम्मेवारी सिद्धान्त र विचार जनतामाझ पु¥याउनु नै हो, जनतालाई सुसूचित पार्नु नै हो । उनीहरू कुनै पनि नागरिक कसैको लोभलालचमा नभुल्न र लोभमा नफस्न सचेत गर्छन् । जनताको दुःख सुख बुझ्छन्, दुःख सुख बाँड्ने, आइपरेको समस्या हल गर्ने काममा जुट्छन् । कसैलाई आपत्विपत् पर्दा, सङ्कट पर्दा सघाउन र सघाउनुपर्छ भन्ने भावना जगाउन लाग्छन् । जानी नजानी कुलतमा लागेका, लाग्न खोजेका टोलका दाइ–भाइहरूलाई सम्झाउन, बुझाउन र राम्रो बाटोमा ल्याउने काममा पनि राजनीतिक कार्यकर्ताहरू लागेका हुन्छन् । यसरी जनताको माझमा जनताको कुरा गर्ने, समस्या समाधान खोज्ने काममा राजनीतिक कार्यकर्ताहरू तल्लीन हुने भएकाले उनीहरू जनताका प्रिय हुन्छन् । कार्यकर्ता जनताका आँखाका नानी हुन् ।
सत्तासीन दल र ठूला दलका कार्यकर्ताहरू जनताको सेवामा जुट्दैनन्, जनताको दुःख सुख बुझ्दैनन् । उनीहरू नितान्त आफ्नो व्यक्तिगत स्वार्थमा लाग्छन्, जसरी भए पनि कमाउने बाटो खोज्छन् । उनीहरू जनतालाई देशभक्त नागरिक बनाउन, जनताको सांस्कृतिक स्तर र नागरिक भावना जगाउन, कुलतबाट जोगाउन लाग्दैनन् । उनीहरू मोजमज्जा गर्ने, घुमफिर गर्ने र समाजबाट टाढा बस्न चाहन्छन् । विकासको नाउँमा पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउँछन् । उनीहरू जनता र पार्टीलाई कमाउने भाँडो बनाउँछन् । देशको विकास गर्न, जनताको सेवा गर्न, देश जोगाउन र आमूल परिवर्तनमा लाग्दैनन् । यसकारण, जनताले देश र जनताको सेवा गर्ने, सेवामा जुट्ने, जनतामाझ सिद्धान्त र विचार पु¥याउने र आमूल परिवर्तनको निम्ति लाग्ने दललाई हामीले साथ दिनुपर्छ, सहयोग गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *