भर्खरै :

नेपाल–भारत खुल्ला सीमा रहेसम्म नागरिकता समस्या रहने

नेपाल–भारत खुल्ला सीमा रहेसम्म नागरिकता समस्या रहने

काठमाडौँ, २ भदौ । देशघाती नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीको आयोजनामा बिहीबार विरोध प्रदर्शन र सभा भयो । कोटेश्वरबाट सुरू भएको विरोध जुलुस संसद् भवन, बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो ।
विरोध सभामा नेमकिपाका सचिव तथा सङ्घीय सभा सदस्य प्रेम सुवालले भन्नुभयो, “नागरिकता देशको सार्वभौमिकतासँग सम्बन्धित हुन्छ । त्यसैले नागरिकता विधेयक बहुमतले पास गर्नु भनेको देशघात गर्नु हो ।”


संसदभित्र नागरिकता विधेयक (प्रथम संशोधन) को विषयमा विभिन्न सभासदहरूले विचार राखेको जानकारी गराउँदै उहाँले नागरिकता विधेयकविरोधी आन्दोलन सार्वभौमिकता रक्षाको निम्ति भएको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “सीमा खुल्ला रहेसम्म नागरिकता समस्या आइरहनेछ ।”
नागरिकता विधेयक नेपालका विभिन्न जातजातिविरोधी फासीवादी सोचबाट आएको उहाँले जिकिर गर्नुभयो ।


सरकारले गोरखापत्रमा नागरिकता विधेयकको पूर्ण पाठ प्रकाशित गरेर जनताबीच छलफल चलाउनुपर्ने धारणा उहाँको थियो ।
नेमकिपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले भारतीय विस्तारवादका दलालहरू मन्त्री र प्रधानमन्त्री बनेर देशलाई सिक्किम बनाउन उद्यत रहेको स्पष्ट पार्नुभयो ।

 


राष्ट्रपति विद्यादेवी भण्डारीले अध्ययन गरेर नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएको हुनाले संसद्ले पुनः सोही विधेयक प्रमाणीकरणका निम्ति पठाए, पुनः फिर्ता गरेर जनताको पक्षमा उभिनुपर्ने उहाँको सुझाव थियो ।


नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले नेमकिपाको सङ्घर्षले देशका सम्पूर्ण देशभक्त जनताको प्रतिनिधित्व गरिरहेको बताउनुभयो । संसद्का केही दलाल शासकहरूले पास गर्दैमा देशघाती नागरिकता विधेयक देशभक्त जनताले पास नगर्ने उहाँले बताउनुभयो ।


नेमकिपाका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नागरिकता विधेयक नेपाल कब्जा गर्ने भारतीय चाहनाअनुरूप आएको स्पष्ट पार्नुभयो । ४० लाख भारतीयहरूले नागरिकता लिइसकेको चर्चा गर्दै उहाँले सुरूदेखि नै नागरिकता विधेयकको विरोधमा उभिएर नेमकिपाले जनपक्षीय पार्टीको भूमिका निर्वाह गरेको जानकारी गराउनुभयो ।


नेमकिपा अर्का केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सिर्जना सैँजुले नागरिकता नीति खुकुलो बनाए देश सिक्किम र फिजी बन्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नागरिकता सहजै उपलब्ध हुने बनाउनुहुँदैन ।”


विरोध सभामा नेमकिपा केन्द्रीय सदस्य सनकमान महर्जन, नेक्राविसङ्घ केन्द्रीय अध्यक्ष प्रकाश गुरूङ, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवाल, नेमकिपा काठमाडौँ जिल्ला समितिका विशोक डंगोल, नेक्राविसङ्घका सुरेश परियार र हृदय दहाल, नेक्रायुसङ्घका मीनबहादुर बाटाले पनि बोल्नुभएको थियो । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *