भर्खरै :

नागरिकता विधेयक प्रतिनिधिसभाले जस्ताको तस्तै पुनःपारित गर्नु शासक दलहरूको अहङ्कार

भक्तपुर, ९ भदौ । राष्ट्रपतिले पुनर्विचारको निम्ति संसद्मा पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पास गर्नुबाट शासक दलहरूको अहङ्कार अभिव्यक्त भएको नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आज एक कार्यक्रमबीच बताउनुभयो । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा तत्कालीन नेपाल मजदुर किसान सङ्गठनलाई समूल नष्ट गर्ने नियतले पञ्चायत राज्यस्तरबाट रचित भक्तपुर काण्ड (कालो दिवस) को विरोध तथा भत्र्सना कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
विरोध कार्यक्रममा बोल्दै उहाँले राष्ट्रपतिको गरिमामय पदको अवहेलना भएको हुँदा राष्ट्रपतिसँग सैनिक शासन वा राजीनामामध्ये दुइटा विकल्प रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले सरकारले गलत गरिरहेको छ । सरकारले त्यसको परिणाम पनि भोग्नुपर्नेछ ।” भक्तपुर काण्डमा तत्कालीन नेमकिसंका नेता कार्यकर्ताहरू कारागारमा पुग्दाबित्तिकै ‘सरकारको दिन गयो’ भन्दै विभिन्न राजनीतिक बन्दीहरूले नारा लगाएको स्मरण गर्दै उहाँले नेमकिपाले फाइदा लिनभन्दा पनि देश र जनताप्रति समर्पित हुन राजनीति गरेको हुनाले त्यसो भनिएको प्रस्ट पार्नुभयो ।
कारागारमा छँदा सैद्धान्तिक सङ्घर्ष गरेको घटनाक्रमबारे चर्चा राख्दै अध्यक्ष बिजुक्छेँले सङ्घर्षको लागि देशविदेशका साथीहरूमार्फत् सङ्घर्ष अघि बढाएको बताउनुभयो । भक्तपुर काण्डको शिक्षा सारमा राख्दै उहाँले भन्नुभयो, “हामीले सैद्धान्तिक सङ्घर्ष ग¥यौँ । लुकाएर भन्नुपर्ने केही थिएन । तपाइँ राजनीतिक अडानमा बस्नुहोस्, झुक्नुपर्ने कुरा छैन ।”
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष तथा बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले पञ्चायतकालमा प्रतिक्रियावादी पञ्चहरूले मात्र नेमकिपाबारे भ्रमको खेती गरेको र अहिले नेमकिपाबारे जनतामा भ्रम छर्ने शासक दलको सङ्ख्या आठ–दस पुगेको बताउनुभयो । नयाँ पुस्ताले भक्तपुर काण्डबाट सिक्न अनुरोध गर्दै उहाँले भन्नुभयो, “आफू जोगिनभन्दा पनि आन्दोलन जोगाउनेबारे सोच्नुपर्छ ।”
त्यसैगरी पञ्चायती षड्यन्त्रको विरोधमा अग्रमोर्चामा रहनुभएकी नेपाल क्रान्तिकारी महिला सङ्घकी उपाध्यक्ष कमलमैँया सुवालले पञ्चायतले आफूले गरेको हत्याको दोष तत्कालीन नेमकिसंमाथि थोपरेको स्मरण गर्नुभयो । उहाँले २०४५ साल असोज १ गते पञ्चायत सरकारले गरेको एकतर्फी सर्जमिनको प्रतिरोधमा उठेको आन्दोलन अन्ततः जनसङ्घर्षमा फेरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पञ्चायतका २८ वर्षको विरोधमा उठेको त्यो आवाज आज बहुदलको ३२ वर्षविरुद्ध उठ्न आवश्यक छ ।”


भक्तपुर काण्डप्रति तत्कालीन सञ्चार जगतले लेखेका समाचार, बुद्धिजीवी तथा अन्य दलका नेताका अभिव्यक्ति, लेख आदिको २ ठेली सामग्री आफूले सङ्कलन गरेको जानकारी गराउँदै स्रष्टा समाज नेपालका अध्यक्ष लक्ष्मणराज जोशीले पार्टीसम्बद्ध धेरै साथीहरूले समाचार, पाठकपत्र, लेख, कविता, खण्डन आदि लेखेर सुसूचित गरेको बताउनुभयो । भक्तपुर काण्डको षड्यन्त्रमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका गरेर राज्यका तीनवटै निकायहरू संलग्न भएको चर्चा गर्दै उहाँले भक्तपुर काण्ड राज्यस्तरबाट रचिएको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै भनपा ३ का वडाध्यक्ष तथा शिक्षक योगेन्द्रमान बिजुक्छेँले भक्तपुर काण्डमा पार्टीले कानुनी सङ्घर्षका साथै ट्रयाक–२ कूटनीति अपनाएर दबाब दिएको चर्चा गर्नुभयो । उहाँले नक्कली सर्जमिनका विरुद्ध झन्डै ७ हजार महिलाको हस्ताक्षर सङ्कलन गरेर राजदरबार पु¥याएको र धेरैले वकिल नै नपाउने अनुमान गरिरहेको बेला देशका वरिष्ठ ५० जना वकिलहरूले बहस गर्नुभएको हुनाले नै पञ्चहरू कमजोर बन्न पुगेको तर्क गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका देविका दनेखु, गंगा वैद्य, प्रेमलक्ष्मी त्वायना, मिना प्रजापति, मिना मास्केलगायत वक्ताहरूले भक्तपुर काण्डसम्बन्धी विभिन्न पार्टी प्रकाशनबारे परिचर्चा गर्नुभएको थियो । कार्यक्रममा नेक्रामसङ्घ भक्तपुरको ५ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिकी संयोजक सृर्जना सैँजूको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सदस्य सरस्वती सिंख्वालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *