भर्खरै :

पञ्चायतको अन्त्य भए पनि पञ्चायती मानसिकता यथावत

भक्तपुर, १० भदौ । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा भक्तपुर काण्डको विरोध एवम् भत्सर्ना र वर्तमान राजनैतिक समसामयिक विषयमा शुक्रबार प्रवचन कार्यक्रम तथा कर्मचारी भेला भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राज्यस्तरबाट षड्यन्त्र पहिलेदेखि नै हुने गरेको बताउँदै नेमकिपाले शासक वर्गले गरेको विभेद र शोषणको भण्डाफोर गर्दै देश विकास र जनताको निरन्तर सेवामा लागिरहेको बताउनुभयो ।
देश र जनताको हितमा लागेका नेता, कार्यकर्ता र दललाई समूल नष्ट गर्न विश्वमै अनेक षड्यन्त्र हुने गरेको इतिहास केलाउँदै प्रमुख प्रजापतिले जर्मनी कम्युनिस्टहरूको लोकप्रियता र प्रभावलाई दबाउन हिटलरको फासीवादी सरकारले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूलाई सिध्याउन जर्मनी संसद् भवन राइखस्टागमा आगो लगाएको बताउनुभयो ।
नेपालमा पञ्चायती व्यवस्था अन्त्य भए पनि शासक दलहरूमा अझै पञ्चायती मानसिकता यथावत रहेको उल्लेख गर्दै उहाँले शासन सत्तामा बसेर राजनीति गर्ने नेताहरूकै कारण नेपाली जनताले दुःख पाइरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर काण्डमा महिलाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको र उक्त सङ्घर्षको नेतृत्व गर्ने नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको अर्धाङ्गिनी शोभा बिजुक्छेँको योगदान अतुलनीय रहेको स्मरण गर्नुभयो ।
उपप्रमुख जोशीले भक्तपुर नपाले गर्दै आएको उदाहरणीय कामहरूमा विभिन्न सरकारी निकायहरूबाट विभिन्न बहानामा असहयोग गरिरहेको चर्चा गर्दै नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नर्सिङका नयाँ विद्यार्थी भर्ना गर्न सीटीईभीटीले अनावश्यक दुःख दिइरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा कर्मचारी एशोसियनका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर काण्डजस्तै अहिले पनि विभिन्न स्वरुपमा नेमकिपालाई नष्ट गर्न षड्यन्त्र हुनसक्नेप्रति सचेत रहनुपर्ने र कुनै पनि षड्यन्त्रलाई पराजित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाल, कर्मचारीहरू गणेशलाल फोँजु र रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *