भर्खरै :

बाँधहरू तत्काल भत्काउनुपर्छ–रोहित

भक्तपुर, ३ भदौ । नेपाल मजदुर किसान पार्टीविरूद्ध पञ्चायती व्यवस्थाले २०४५ साल भदौ ९ गते रचेको षड्यन्त्र गरेको स्मरणमा पार्टी तथा जनवर्गीय संगठनहरूले विभिन्न कार्यक्रम थालेका छन् ।  नेपाल क्रान्तिकारी महिला सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा शनिबार भएको कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले तराई डुबान हुनुको दोष भारतले सिमानामा बनाएका बाँध र तटबन्ध भएकोले ती बाँधहरू तत्काल भत्काउनुपर्ने विचार राख्नुभयो ।
उहाँले भारत सरकारसँग डुबानको क्षतिपूर्ति लिनुपर्ने धारणा राख्नुभयो ।  पार्टी नियोजन गर्नकै लागि सरकारले थ्रेसहोल्डलगायतको प्रावधान ल्याएको हुँदा त्यसको विरोधमा नेमकिपा उभिएको छ । भक्तपुर काण्डको स्मरण गर्दै पञ्चायती चुनावमा नेमकिपाले जितेको रिसमा तत्कालीन पञ्चहरूको उक्साहटमा षड्यन्त्र गरिएको उल्लेख गर्नुभयो । उहाँले भक्तपुर काण्डमा देशका दर्जनौं वकिलहरू नेमकिपामाथिको अन्यायको विरोधमा उभिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो–नेमकिपालाई समुल नष्ट गर्न खोजिएको उक्त घटना भूकम्पको राहत वितरणसँग जोडिए तापनि सरकारले केही महिनादेखि नै आफ्नो योजना बनाइराखेको थियो । काठमाडौं र नगरकोटमा बैठक गरी पञ्चहरूले षड्यन्त्र गरेका थिए ।  जहाँ दमन हुन्छ त्यहाँका जनता राजनैतिकरूपले सचेत हुने भन्दै अध्यक्ष रोहितले जनतामाथिको दमनको फलस्वरूप जनआन्दोलनले सफलता पाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य सूर्यभक्त त्वातीले पार्टीले किसानहरूको पक्षमा २०१९ देखि नै काम गरेको र त्यो पञ्चायतलाई असह्य भएकोले भक्तपुर काण्डको षड्यन्त्र रचेको हो भन्नुभयो । आयोजक सूर्यविनायक नगर समितिका अध्यक्ष मनशोभा त्वातीको सभापतित्वमा भएको कार्यक्रममा नेक्रामसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष कमलमैया सुवालले भक्तपुर काण्डको घटनाले भक्तपुरका महिलालाई सचेत र संगठित बनाएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका सचिव महेन्द्र बखुन्छें, रामप्यारी न्हेम्हाफुकी, चामति खुमीमुलीलगायतले भक्तपुर काण्डजस्ता षड्यन्त्र दोहोरिन सक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *