“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
भक्तपुर, १५ भदौ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा नयाँ भर्ना हुन आएका भूकम्प इन्जिनियरिङ तथा सहरी योजना र संरक्षण विषयका विद्यार्थीहरूलाई स्वागत एवम् अभिमुखीकरण कार्यक्रम बुधबार कलेजको सभाहलमा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले विश्वविद्यालयहरूले नेपालको शिक्षा र प्रविधिलाई विदेशमा बेच्ने मालसामानको रूपमा गलत ढङ्गले प्रयोग गरिरहेको उल्लेख गर्दै उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रमाणपत्र सँगसँगै विभिन्न अनुसन्धानमार्फत देशलाई योगदान दिनेतर्फ सोच्नुपर्ने बताउनुभयो ।
विश्वका मुलुकहरूमा इन्जिनियर, डाक्टरलगायत अन्य विषयका विद्यार्थीहरू राजनीतिक क्षेत्रमा सक्रिय रहेको बताउँदै उहाँले ख्वपका विद्यार्थीहरूले आफ्नो विज्ञतासँगै समाज र देशको पक्षमा काम गर्न देशको राजनीतिमा चासो राख्नुपर्ने बताउनुभयो ।
बन्द, हडतालले देशको शैक्षिक स्तर उठाउन बाधा पु¥याउनेतर्फ सचेत पार्दै उहाँले अङ्ग्रेजीलगायतका विदेशी भाषाको तालिम सञ्चालनतर्फ जोड दिनुपर्ने बताउनुभयो । अध्ययन र सिकाइ भनेको निरन्तर प्रक्रिया भएको चर्चा गर्दै विश्वसँग प्रतिस्पर्धा गर्नको निम्ति अङ्ग्रेजी भाषामा पोख्त हुनु आवश्यक भएको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा शिक्षा क्षेत्रमा नेपालमै सबभन्दा अगाडि बढेको नगरपालिका भएको बताउनुभयो ।
विद्यार्थीहरूले आफ्नो अध्ययन सँगसँगै गलत राजनीतिको आलोचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भक्तपुर नपा सम्पदा पुनःनिर्माणमा नमुना सहरको रूपमा उभिन सफल भएको बताउनुभयो ।
सरकारको असहयोगका कारण हालसम्म ख्वप विश्वविद्यालयले सम्बन्धन पाउन ढिलाइ भइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्य लिएर अगाडि बढिरहेको भक्तपुर नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले विभिन्न विषयहरूमा गरिरहेको राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनले विभिन्न देशका विश्वविद्यालयहरूसँगको सम्पर्क बढ्दै जाने र ज्ञानको क्षेत्र फराकिलो हुँदै जाने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको Earthquake Engineering / Urban Design and Conservation विषयमा ९ वटा विभिन्न जिल्लाका ३७ जना विद्यार्थीहरू अध्ययनको लागि आएको बताउँदै भक्तपुर नपाले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले ख्वप सर्कलका शिक्षण संस्थाहरू स्थापना गरेको हो भन्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले विद्यार्थीहरू किताबी ज्ञानमा मात्रै केन्द्रित हुन नहुने बताउँदै कलेजले Earthquake Engineering / Urban Design and Conservation विषय छनोट गर्नुको उद्देश्यमाथि प्रकाश पार्नुभयो ।
PG Dept of EZ का विभागीय प्रमुख डा. मन्जिप शाक्यले नेपाल भूकम्पीय जोखिमयुक्त देश भएकोले भक्तपुर नपाले पठनपाठन गर्दै आएको विषय निकै महत्वको भएको बताउँदै विद्यार्थीहरूले पढाइसँगसँगै आफ्नो शोधपत्र पनि समयमै सकाउन मेहेनत गर्नुपर्छ भन्नुभयो ।
कलेजको अनुसन्धान र विकास विभागका संयोजक डा. सुवेगमान बिजुक्छेँले विद्यार्थीहरूलाई परीक्षामा उत्तीर्ण हुनुमात्र ठूलो विषय नभएको बताउँदै विश्वविद्यालय तथा कलेजहरूले अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राखी अगाडि बढ्न सके विद्यार्थीहरूको सैद्धान्तिक र प्रयोगात्मक शिक्षामा थप टेवा पुग्ने बताउनुभयो ।
PG Dept of UDC का विभागीय प्रमुख आ. लिबास फैजुले अर्बान डिजाइन एन्ड कन्जरर्भेसन विषयको महत्वमाथि प्रकाश पार्नुभयो ।
कार्यक्रममा कलेजका उपप्राचार्य रवीन्द्र फोँजु र रविना शिल्पकारले पनि बोल्नुभएको थियो ।
Leave a Reply